पहाडी जीवनलाई चिनाउन ‘झिल्टुङ क्रसकन्ट्री’ दौड
नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार झिल्टुङ पहाडी जीवनका लागि उत्कृष्ट स्थल रहेको सन्देश दिने लक्ष्यसहित आयोजित ‘झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिताको दशौँ संस्करण शनिबार सम्पन्न भएको छ ।
‘जे गरौँः गज्जबले गरौँ’ भन्ने नारासहित बेलकोटगढी नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत पालिकास्तरीय पर्वका रूपमा तीन दिनसम्म सञ्चालन गरिएको दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका चार सय नेपाली धावकको सहभागितामा झिल्टुङ दौड सम्पन्न भएको हो ।
बेलकोटगढी नगरपालिकामा पर्ने साविकको दुई पिपल, जिलिङ र रातमाटे गाविसको भूमिको पहिचानका रूपमा रहेको झिल्टुङ पहाडी जीवनका लागि उत्कृष्ट थलो मानिन्छ ।
दौड प्रतियोगितामार्फत खेल क्षेत्रको विकाससहित यहाँ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आइएको नगरप्रमुख जगतबहादुर गुरुङले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीसहित, भेट्रान, खुला छात्रछात्रा, स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह) सहितको विभिन्न दश विधामा देशभरका ३८ जिल्लाका चार सयभन्दा बढी खेलाडी (धावक)ले सहभागिता जनाएका छन् ।
“नुवाकोटको भूमिबाट तारुकाको गोरु जुँधाइले ‘स्पेनको बुल फाइट’को झल्को बिर्साउँदै आएजस्तै बेलकोटगढीको झिल्टुङ दौड प्रतियोगिताले गाउँघरका महिलादेखि दौडबाटै अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका व्यक्तिलाईसमेत आकर्षित गराउने महत्त्वपूर्ण अवसर जुराएको छ”, नगरप्रमुख गुरुङले भने । योसँगै खेल–पर्यटनको प्रवर्द्धन, पहाडी पदमार्गको निर्माण, दौडेर नाम राख्न सकिने रहेछ भन्ने सन्देशदेखि सुरक्षा निकायमा सेवा प्रवेशका लागि क्षमतावान जनशक्ति उत्पादनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रतिस्पर्धामा सहभागी खेलाडीले अघिल्ला वर्षका कीर्तिमानी तोड्दै झिल्टुङ दौडबाट नयाँ सन्देश दिएको खेलको प्राविधिक जिम्मेवारी लिएको नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले बताए । “दौडका विभिन्न दश विधामध्ये ‘आमा’ समूह र ‘बा’समूहबाट हुने सहभागिता देशभरका लागि रोचक र प्रेरणादायी पक्ष मानिन्छ”, उनले भने, “प्रतियोगिताले खेल क्षेत्रसहित समग्र पक्षलाई रोचक बनाउँदै आएको छ ।”
ग्रामीण क्षेत्रका रूपमा रहेको यो ठाउँका महिला घरको चुलोचौका र घाँसदाउरामा सीमित हुने हुँदा यो अवसर आमाहरूका लागि घरबाट बाहिर निस्कने मात्रै नभई परुषसरह प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने प्रतियोगिता संस्थापक एवं स्थानीय मोहन नेपालले बताए ।
झिल्टुङको प्रचारप्रसारका लागि महादेव माध्यमिक विद्यालयले सुरु गरेको दौड प्रतियोगिता स्थानीय सरकार स्थापना भएसँगै बेलकोटगढी नगरपालिका–५ को कार्यालय हुँदै अहिले नगरपालिकाले पालिकास्तरीय पर्वका रूपमा मनाउन थालेको छ । विगतका वर्षमा एक दिनमा सम्पन्न हुने प्रतियोगिता यो वर्ष बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण