नेपालको समूहमा रहेको स्कटल्याण्डको टोली घोषणा : पाकिस्तानी मूलका बलरको भिसामा ‘लफडा’
सारांश
- स्कटल्याण्डले टी-२० विश्वकपको लागि १५ सदस्यीय टोली घोषणा गर्यो, जसमा सफ्यान शरीफको भिसा समस्या रहेको छ।
- आईसीसीले भिसा प्रक्रिया छिटो गराउन पहल गरिरहेको छ, किनकि पाकिस्तानी मूलका नागरिकलाई भिसा पाउन समय लाग्ने गर्छ।
- टोलीमा तीन परिवर्तन गरिएको छ, जसमा टम ब्रुस र जैनुल्लाह इहसान नयाँ खेलाडी हुन्, र स्कटल्याण्डले वार्म-अप खेल खेल्नेछ।
नयाँ दिल्ली । टी–२० विश्वकपमा बंगलादेशको स्थानमा समावेश भएको स्कटल्याण्डले प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरेको छ। टोली यही हप्ता भारत प्रस्थान गर्ने तयारीमा छ, तर पाकिस्तानी मूलका तीव्र गतिका बलर सफ्यान शरीफसहित केही खेलाडीको भिसालाई लिएर अन्योल सिर्जना भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट स्कटल्याण्डलाई भारतीय भिसा छिटो उपलब्ध गराउन पहल गरिरहेको आश्वासन दिएको छ। भारत र पाकिस्तानबिचको कूटनीतिक तनावका कारण प्रायः पाकिस्तानी मूलका नागरिकलाई भारतीय भिसा पाउन समय लाग्ने गरेको छ। स्कटल्याण्डले आफ्नो पहिलो खेल ७ फेब्रुअरीमा कोलकातामा वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका छ।
क्रिकेट स्कटल्याण्डकी मुख्य कार्यकारी ट्रुडी लिन्डब्लेडले भिसा प्रक्रिया सधैँ अलिकति अनिश्चित हुने बताउँदै खेलाडीहरू समयमै भारत पुग्न सकुन् भनेर पछिल्लो ४८ घण्टादेखि आफूहरूको ध्यान यसैमा केन्द्रित रहेको बताएकी छन्। उनले आईसीसीले यस विषयमा बीसीसीआई र स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको र खेलअघि सबैले अनुमति पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरिन्।
टोलीका महत्त्वपूर्ण बलर सफ्यान शरीफको जन्म इङ्गल्याण्डको हडर्सफिल्डमा भएको हो। उनका बुबा पाकिस्तानी र आमा ब्रिटिस–पाकिस्तानी हुन्।
उनी ७ वर्षको उमेरमा स्कटल्याण्ड सरेका थिए। यही ‘पाकिस्तानी कनेक्सन’ का कारण उनको भिसामा ढिलाइ भएको आशंका गरिएको छ। स्कटल्याण्डले सावधानीस्वरूप २ ट्राभलिङ र ३ नन–ट्राभलिङ रिजर्भ खेलाडी पनि राखेको छ, ताकि भिसामा ढिलाइ भएमा टोलीलाई मैदान उत्रन समस्या नपरोस्।
यसपटक स्कटल्याण्डको टोलीमा २०२४ को विश्वकपको तुलनामा तीन ठुला परिवर्तन गरिएको छ। १४५ किमि प्रतिघन्टाको रफ्तारमा बलिङ गर्ने क्रिस सोल यसपटक टोलीमा छैनन्।
उनी हाल रिक्रुटमेन्ट क्षेत्रमा आफ्नो करियर बनाउन व्यस्त रहेकाले टोली बाहिर रहेका हुन्। उनको स्थानमा न्युजिल्यान्डका लागि १७ टी–२० खेलिसकेका टम ब्रुस अब स्कटल्याण्डको जर्सीमा देखिनेछन्। त्यस्तै, अफगानिस्तानमा जन्मेका १९ वर्षीय तीव्र गतिका बलर जैनुल्लाह इहसानले पनि पहिलो पटक मौका पाएका छन्।
भारत पुगेपछि स्कटल्याण्डले २ र ४ फेब्रुअरीमा बेंगलुरुमा अफगानिस्तान र नामिबियाविरुद्ध वार्म–अप म्याच खेल्नेछ। त्यसपछि टोली कोलकाता जानेछ।
विश्वकपको समूह ‘बी’ मा स्कटल्याण्डसहित वेस्ट इन्डिज, इटाली, इङ्गल्याण्ड र नेपाल रहेका छन्। समूहका शीर्ष दुई टोलीले सुपर–८ का लागि यात्रा तय गर्नेछन्।
स्कटल्याण्डले घोषणा गरेको १५ सदस्यीय टोलीमा रिची बेरिंगटन (कप्तान), टम ब्रुस, म्याथ्यू क्रस, ब्राड करी, ओली डेभिडसन, क्रिस ग्रीभ्स, जैनुल्लाह इहसान, माइकल जोन्स, माइकल लिस्क, फिनले म्याकक्रथ, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्से, सफ्यान शरीफ, मार्क वाट र ब्राड ह्विल रहेका छन्।
त्यस्तै रिजर्भ खेलाडीका रूपमा ज्यास्पर डेभिडसन र ज्याक जार्भिसलाई राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण