शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सबै काम पूरा गर्न सकिन होला तर बिगारेको केही छैन : महामन्त्री पौडेल

शनिबार, १७ माघ २०८२, ११ : ४६
शनिबार, १७ माघ २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी कांग्रेसले आत्मसात गरेको दाबी गरेका छन् । शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरु समक्षको भेटघाट कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै भएको दाबी आफूहरुले नगरेको भन्दै युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गरे । महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली कांग्रेसले आत्मसात गरेको उनको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताए ।  सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको बताए।

उनले भने, ‘भदौ २३ र २४ को जेनजी आन्दोलनमा राजनीतिक विषय थिएन भनेर हामीले भनेका छैनौँ । एउटा पुस्ताको नाममा आन्दोलन भयो तर त्यो पुस्ताले सम्पूर्ण नेपालीको विषय उठाएको थियो । सुशासन सबै नेपाली जनताले चाहेको कुरा हो । अति राजनीतिकरणको अन्त्य सबैले भनेको विषय हो । जेनजी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली कांग्रेसले आत्मसात गरेको छ ।  त्यसैले युवा पुस्ताको आवाज सुन्ने सवालमा पनि नेपाली कांग्रेसले तम्तयार पारेर अघि लगेको छ । मैले सबै काम गरेँ म भन्दिनँ । कतिपय जति प्रभावकारिता प्रस्तुत  गर्न सक्नुपर्दथ्यो, त्यो सकिँदो रहेनछ ।  सुधार कहाँ कहाँ गर्नुपर्ने हो, समाधान के हो भन्नेमा म स्पष्ट छु । मैले पहिला सबै गरेँ भन्दिनँ तर मैले केही बिगारेको छैन ।’

महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताए । आफूप्रतिको विश्वास आगमी निर्वाचनमा पनि गरिदिन आग्रह गरे । उनले नयाँपन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताए ।  -न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप