आफैँले आदर्श मानेका नेताविरुद्ध बागलुङको चुनाव अभियानमा प्रकाश सपुत
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीमा दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा कलाकार प्रकाश सपुतको नाम समावेश छ । गत पुस १५ गते एकाएक सपुतको नाम समानुपातिक सूचीमा देख्दा धेरैलाई अचम्म लागेको थियो, जसले बागलुङमा पनि एक किसिमको तरङ्ग ल्याएको थियो ।
लामो सङ्घर्ष गरेर कलाकारितामा स्थापित सपुत एक्कासि राजनीतिमा लाग्दा उनका शुभचिन्तकलाई पत्यारै लागेको थिएन । रास्वपाबाट समानुपातिक सूचीमा नाम आउँदा बागलुङमा ‘यो त एमाले थियो, कसरी रास्वपामा पुग्यो ?’ भन्दै धेरैले खासखुस गरे ।
यसभन्दा अगाडि प्रकाश खुलेआम राजनीतिमा नदेखिए उनी सञ्चारकर्मी हुँदादेखि नै नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारीमा आवद्ध थिए । गाउँदेखि बागलुङ बजार झर्दा नै उनको पृष्ठभूमि एमाले रहेको प्रेस चौतारीका एक नेताले बताए ।

ती नेताले भने, ‘प्रकाश दाइको पृष्ठभूमि नै एमाले हो । बागलुङमा आएर सँगै पत्रकारिता गर्दा पनि प्रेस चौतारीमा आवद्ध भएर काम गर्नु भएको हो । उहाँको झुकाव एमालेमै थियो । कसरी रास्वपामा पुग्नु भयो ! त्यो बुझ्न सकिएन ।’
प्रकाशका कतिपय अभिव्यक्तिमा पनि एमालेसँग निकट भएको झल्को आउँथ्यो । अघिल्लो वर्ष फागुन १९ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लेखिएको पुस्तक ‘केपी ओली ः सपना, सङ्घर्ष र सङ्कल्प’ विमोचन कार्यक्रम उनले ओलीका बारेमा बयान गरेका थिए । त्यसले उनलाई विवादमा तानेको थियो । त्यस विवादका कारण सपुतका गीत तथा बसन्त फिल्मले राम्रो व्यवसाय गर्न नसकेको धेरैको तर्क छ ।
- आदर्श मान्ने नेतासँग प्रतिस्पर्धा गर्दै सपुत
प्रकाश बागलुङको काठेखोला गाउँपालिका–३, धम्जाका स्थानीय हुन् । उनले नेताका रूपमा गाउँका हिराबहादुर केसी र कुलबहादुर विकलाई आदर्श मान्थे । अघिल्लो वर्ष एक टेलिभिजन शोमै ‘नेता भन्नासाथ झ्वाट्ट दिमागमा को आउँछ ?’ भन्ने प्रश्नमा सपुतले ‘नेता भन्नेबित्तिकै आफ्नै वडाका अध्यक्ष कुलबहादुर र एमाले नेता हिराबहादुर केसीलाई आफूले सम्झिने’ बताएका थिए ।

उनले नेता मान्ने विक हाल काठेखोला गाउँपालिका–३, धम्जाका वडा अध्यक्ष हुन् । उनी ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित अध्यक्ष हुन् ।
उनले नेता मान्ने अर्का व्यक्ति केसी भने एमाले बागलुङका अध्यक्ष हुन्, जो आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङ–१ बाट उम्मेदवार छन् । केसी सपुतका छिमेकी पनि हुन् । केसी माघ ६ गते मनोनयन दर्ता गरेपछि मतदातासँग मत माग्दै घरदैलो गरिरहेका छन् । सपुत पनि शनिबार बागलुङ बजारमा आएर मतदाता भेटघाट तथा भेलामा सहभागी भए ।
सपुतले नेता मान्ने कुलबहादुर विकले यसपालीको निर्वाचनमा एउटै वडाबाट नजिकका दुई आफन्त फरक–फरक पार्टीबाट प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बन्दा खुसी लागेको सुनाए । दुई जना नै निर्वाचित भएर सदनमा पुगे गाउँका अधुरा योजना पूरा गर्न सहज हुने उनको भनाइ थियो ।
विकले भने, ‘हिराजी मेरै पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ, प्रकाशको पनि रास्वपाबाट समानुपातिकमा नाम छ । हाम्रो गाउँले यसपाली दुई जना उम्मेदवार पाएको छ । दुई जना नै सांसद भएर यो क्षेत्रमा विकासको काममा लाग्नु हुनेछ । म पनि अहिले वडा अध्यक्ष छु, सहकार्य गरेर काम गर्ने छौँ ।’
- घर दैलो र भेलाहरूमा हिँड्न थाले सपुत
रास्वपाको समानुपातिक उम्मेदवार बनेपछि सपुत शनिबार गृह जिल्ला बागलुङ आए । बागलुङ आएर सबैभन्दा पहिला सर्वसिद्धिधाम पञ्चकोट र पाँच हजार ५५५ किलोको महाघण्टको दर्शन गरे । रास्वपा वरिष्ठ नेता बालेन ‘स्टाइल’मा कालो पोशाक लगाएर पञ्चकोट पुगेका प्रकाशले शनिबार नै बागलुङ नगरपालिका–१, रामरेखामा घरदैलो गरेका थिए ।
उनले बागलुङ–१ मा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार सुशील खड्काको पक्षमा मतदातासँग भोट मागे । आइतबार भने उनले बागलुङको सबैभन्दा विकट तमानखोला गाउँपालिकामा वडा भेला तथा घरदैलो गरे ।
‘यो साङ्केतिक तस्बिर हो । मेरो चुनावी यात्रा औपचारिक रूपमा गृह जिल्लाबाटै सुरु भयो । त्यही पनि पञ्चकोटको आशिर्वाद लिएर । अब देशव्यापी अभियानमा पुग्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाश सपुत बागलुङमा आएपछि मतदाता भेट्न र मत माग्न सहज भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङका अध्यक्ष महेन्द्र खड्काले बताए । सपुत नेता कार्यकर्तासहित आइतबार बागलुङ क्षेत्र नम्बर २ मा मत माग्दै घरदैलो र वडा भेलामा सहभागी भएको उनको भनाइ छ । प्रकाशप्रति धेरैको ‘क्रेज’ रहेको हुँदा चुनावमा भोट बढी आउने अपेक्षा गरेको अध्यक्ष खड्काले सुनाए ।
‘प्रकाशजी आफ्नै गाउँ–ठाउँमा आउँदा धेरै उत्साह जागेको छ । उहाँ आफू पनि समानुपातिक उम्मेदवार हुनुहुन्छ । उहाँ जिल्लामा आउँदा मत माग्न पनि सजिलो भएको छ । मतदाता पनि देखभेट गर्न आतुर थिए,’ अध्यक्ष खड्काले भने, ‘उहाँलाई अरु जिल्लाको पनि जिम्मेवारी छ । बागलुङमा धेरै समय राख्छौँ । अरु ठाउँमा पनि भ्याउनु पर्ने छ ।’
दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ मा ११ जना उम्मेदवार छन् । नेकपा एमालेले हिराबहादुर र रास्वपाका सुशील खड्काका अतिरिक्त नेपाली कांग्रेसका भिमबहादुर श्रीस राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा लगायत उम्मेदवार छन् ।
यस्तै क्षेत्र नम्बर २ मा एमालेबाट मन्जु शर्मा, नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपाबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवर लगायत उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण