शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोटाङमा बढ्यो चुनावी सरगर्मी: मुख्य दलका उम्मेदवार गाउँ छिरे

मङ्गलबार, २० माघ २०८२, १४ : १३
मङ्गलबार, २० माघ २०८२

सारांश

  • खोटाङमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सरगर्मी बढेको छ।
  • कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू घरदैलो अभियानमा जुटेका छन्, जसमा १५ जना चुनावी मैदानमा छन्।
  • १ लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ, जसमा २१ वटा मतदानस्थल अति संवेदनशील सूचीमा छन्।

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। मुख्य राजनीतिक दलका उम्मेदवारहरू तामझामसहित गाउँ पसेर घरदैलो अभियान सुरु गरेसँगै जिल्लाभर चुनावी रौनक छाएको हो। एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा यसपटक दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट आफ्नो घरदैलो अभियान थालनी गरेका छन्। काठमाडौँमा चुनावी भेला सकेर जिल्ला फर्किएका उनलाई कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई र हलेसी तुवाचुङका पूर्वप्रमुख इवन राई लगायतका नेताहरूले साथ दिएका छन्। उता, नेकपा (एमाले) का उम्मेदवार एवं जिल्ला अध्यक्ष देवविक्रम राईले पनि खोटेहाङको खोटाङबजारबाट अभियानको सुरुवात गरेका छन्। उनको टोलीमा एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईसहित पूर्वजिल्ला अध्यक्षहरू सक्रिय रूपमा खटिएका छन्।

यस्तै, नेकपाका उम्मेदवार एवं बाम विश्लेषक डा. हरि रोका भने माघ ७ गतेदेखि नै दिक्तेल बजारबाट मतदाताको घरदैलोमा पुगिसकेका छन्। उनको चुनावी कमान्ड सम्हाल्न ६ जना पूर्वसांसद र प्रदेशका पूर्वमन्त्रीहरू गाउँगाउँ पुगिरहेका छन्। जिल्लामा कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि रास्वपा, जसपा, राप्रपा र श्रम संस्कृति पार्टी जस्ता नयाँ शक्तिहरूले पनि मतदाताको मन जित्न कसरत गरिरहेका छन्।

१ लाख ४७ हजार १२० मतदाता रहेको खोटाङमा यसपटक १३६ मतदानस्थल र १९५ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रशासनले २१ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारेको छ। पुराना दलहरू आफ्नो विरासत जोगाउने दाउमा छन् भने नयाँ दलहरू मत काटेर नतिजा उल्ट्याउने रणनीतिमा देखिन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप