शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन

२०१५ देखि २०७९ सम्मका निर्वाचन : राजनीतिक दल र हारजितको अंकगणित

मङ्गलबार, २० माघ २०८२, २० : ००
मङ्गलबार, २० माघ २०८२

काठमाडौँ । नेपालमा प्रतिनिधिसभामा अहिलेसम्म ८ निर्वाचन सम्पन्न भएका छन् । पहिलो पटक २०१५ सालमा भएको निर्वाचनदेखि २०७९ मा सम्पन्न प्रतिनिधिसभासम्म ८ निर्वाचन भएका हुन् ।

२०१५, २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा गरेर ८ निर्वाचन सम्पन्न भएका हुन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको नवौँ निर्वाचनको चहलपहल बढिरहेका बेलामा यसअघिका निर्वाचनको अवस्था के थियो भन्नेबारे अंकगणितीय जानकारी खोज्ने प्रयास गरेका छौँ । 

  • २०१५ को निर्वाचन

नेपालमा पहिलो पटक २०१५ सालमा पहिलो निर्वाचन भयो । यो निर्वाचन २०१५ साल फागुन ७ गतेदेखि चैत २१ गतेसम्म ४५ दिन लगाएर गरिएको थियो, जहाँ ९ दलले भाग लिएका थिए ।   

नेपाली कांग्रेस, नेपाल कम्युनस्टि पार्टी, नेपाल राष्ट्रवादी गोरखा परिषद्, संयुक्त प्रजातन्त्र पार्टी, नेपाल प्रजा परिषद् (कोदालो), नेपाल प्रजापरिषद (हलो)तराई कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक महासभा गरी ९ दल निर्वाचनमा होमिएका थिए । निर्वाचन १०९ सिटका लागि भएको थियो । निर्वाचनमा १०८ सिटमा उम्मेदवार उठाएको कांग्रेसले ७४ सिट जित्दै दुईतिहाइ बहुमत पाएको थियो । निर्वाचनमा नेपाल कम्युुनिस्ट पार्टीले ४, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल प्रजा परिषद् (कोदालो) ले २, नेपाल प्रजापरिषद (हलो) ले १ र स्वतन्त्र उम्मेदवारले चार सिट जितेका निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । 

निर्वाचनमा सहभागी भएका तीन दल (नेपाल प्रजातान्त्रिक महासभा, तराईं कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस)ले एक सिट पनि जितेनन् । महासभाले ६८, तराई कांग्रेसले २१ र नेपाली राष्ट्रिय कांग्रेसले २० सिटमा उम्मेदवारी दिएका थिए ।  

  • आम निर्वाचन २०४८

२०४६ को जनआन्दोलन सफल भएपछि २०४८ सालमा दोस्रो प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । २०५ सिटका लागि भएको निर्वाचन २०४८ वैशाख २९ गते भएको थियो । १८ पार्टीले भाग लिएको निर्वाचनमा ८ पार्टीले मात्रै जितेका थिए । 

निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्‍यो । २०४ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस ११० सिटमा विजयी भएको थियो । १७७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एमाले ६९ सिटमा विजयी हुँदै दोस्रो बन्यो । निर्वाचनमा सहभागी दलहरू संयुक्त जनमोर्चाले ९, नेपाल सद्भावना पार्टीले ६, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (चन्द) का ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का २, नेकपा (प्रजातन्त्रवादी) का २, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (थापा) १ उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवार विजयी भएका निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । 

त्यो निर्वाचनमा नेपाल राष्ट्रिय मोर्चा, नेकपा (वर्मा), जनता दल (स.प्र), नेपाल राष्ट्रिय जनपार्टी, नेकपा (अमात्य), राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल कन्जरभेटिभ पार्टी, बहुजन जनता दल, जनवादी मोर्चा नेपाल, एकता पार्टी, दलित मजदुर किसान पार्टीले भाग लिए पनि जित निकाल्न सकेनन् । 

निर्वाचनको नतिजा

मध्यावधि निर्वाचन २०५१ 

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ साल असार २६ गते पदबाट राजीनामा दिँदै निर्वाचनबिना अर्को स्थिर सरकार गठन हुने सम्भावना नदेखेको भन्दै मध्यावधि निर्वाचनको मिति तोक्न पनि सिफारिस गरे । कोइरालाको सिफारिसबमोजिम राजा वीरेन्द्र शाहले असार २७ गते २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचनको घोषणा गरे । 

त्यो निर्वाचनमा भाग लिन ६५ राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराए, जसमध्ये २४ दलले निर्वाचनमा भाग लिए । ५ राजनीतिक दलका उम्मेदवारले मात्रै जित निकाल्न सके । निर्वाचन आयोगको तथ्यांकमा त्यो निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेपाल सद्भावना पार्टीका उम्मेदवार मात्रै निर्वाचित हुन सके । कुनै पनि पार्टीले यो निर्वाचनमा बहुमत ल्याउन सकेनन् । नेकपा एमाले ठुलो दल बन्न सक्यो । 

२०५ सिटका लागि भएको निर्वाचनमा एमालेले १९६ स्थानमा उम्मेदवार उठायो । तीमध्ये एमालेका ८८ उम्मेदवारले जिते । कांग्रेसले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०, नेपाल सदभावना पार्टीले ३, नेपाल मजदुर किसान पार्टीले ४ र स्वतन्त्र उम्मेदवारले ७ स्थानमा विजय हात पारे । 

निर्वाचनमा भाग लिएका संयुक्त जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा संयुक्त, नेकपा माक्र्सवादी, राष्ट्रिय जनता परिषद्, नेपाल जनवादी मोर्चा, जनवादी मोर्चा नेपाल, प्रजातान्त्रिक लोकदल, नेपाली कांग्रेस विश्वेश्वर, नेपाल प्रजा परिषद्, राष्ट्रिय जनता पार्टी, युनाइटेड पिपुल्स पार्टी, नेपाली कांग्रेस सुवर्ण, नेपाल जनहित पार्टी, नेपाली कांग्रेस बीपी, जनता दल (सप्र), लिवरल डेमोक्रेटिक पार्टी, संयुक्त प्रजातान्त्रिक पार्टी र रेडिकल नेपाली कांग्रेसका उम्मेदवारले कुनै पनि स्थानमा जित्न सकेनन् । 

आम निर्वाचन २०५६

प्रतिनिधिसभाको चौँथो निर्वाचन २०५६ साल वैशाख २० गते र जेठ ३ गते दुई चरणमा सम्पन्न भयो । यो निर्वाचनमा ३९ वटा राजनीतिक दलले भाग लिएकामा ७ दलले मात्रै जित्न सके । ०५१ को मध्यावधि निर्वाचनमा दोस्रो पार्टीमा झरेको नेपाली कांग्रेसले यो निर्वाचनमा फेरि बहुमत प्राप्त गर्‍यो । 

२०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले सबै स्थानमा उम्मेदवार उठाएको थियो । तीमध्ये कांग्रेसका १११ उम्मेदवारले जितेका निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । त्योबाहेक एमालेका ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ११, नेपाल सदभावना पार्टीका ५, राष्ट्रिय जनमोर्चाका ५, संयुक्त जनमोर्चा नेपालका ८ र नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवारले निर्वाचन जिते । 

निर्वाचनमा भाग लिएका नेकपा माले, राप्रपा (चन्द), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल, जनमुक्ति पार्टी, नेपाल, नेकपा (माक्र्सवादी), नेपाल दलित श्रमिक मोर्चा, नेपाल हरियाली पार्टी, नेकपा (संयुक्त), नेपाली जनता पार्टी राष्ट्रिय समृद्धिवाद, राष्ट्रिय जनता परिषद्, जन कांग्रेस, शिवसेना नेपाल, नेपाल सोसलिस्ट पार्टीले एउटा सिटमा पनि जित्न सकेनन् । त्यसैगरी बहुजन समाज पार्टी, नेपाल, नेपाल प्रजा परिषद्, संयुक्त प्रजातन्त्र पार्टी, नेपाल साम्यवादी पार्टी (मालेमा), राष्ट्र बचाउ अभियान (सेदनेमो), प्रगतिशील उपयोग तत्व नेपाल, नेपाल जनभावना पार्टी, राष्ट्रवादी जनता पार्टी, सोसियल डेमोक्रेटिक पार्टी, समाजवादी गरिब पार्टी, नेपाल जनहित पार्टी, नेपाल सुरक्षा पार्टी, मेची–महाकाली जन समन्वय दल, प्रजातान्त्रिक नेपाल जनता पार्टी, प्रजातन्त्र सगरमाथा दल, लिबरल डेमोक्रेटिक पार्टी र नेपाली राष्ट्रिय एकता पार्टीले पनि कुनै पनि सिटमा विजय प्राप्त गर्न सकेनन् । 

पहिलो संविधानसभा निर्वाचन २०६४

तत्कालिन माओवादीको सशस्त्र द्वन्द्व र त्यसैको बलमा भएको २०६२/०६३ को जनआन्दोलनपछि नेपालमा राजतन्त्र फालियो । राजतन्त्र फालेपछिको यो पहिलो निर्वाचन हो । जनताको संविधान जनप्रतिनिधिबाट लेख्न ०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन गरिएको थियो ।

त्यो संविधानसभा ६०१ सदस्यीय बनाउने अन्तरिम संविधान २०६३ मा व्यवस्था गरियो । निर्वाचन प्रणाली पनि समानुपातिक र प्रत्यक्षको व्यवस्था गरियो । प्रत्यक्षमा २४० र समानुपातिकमा ३३५ सिट तथा २६ जना मनोनित सांसदको व्यवस्था गरियो ।  

पहिलो संविधानसभा निर्वाचनका लागि ७५ दल दर्ता भए । तीमध्ये समानुपातिक प्रणालीतर्फ ५६ दलले बन्दसूची पेस गरे । जसमध्ये २५ दलले समनुपातिकमा सिट प्राप्त गरे । ३१ दलले सिट प्राप्त गर्न सकेनन् । 

प्रत्यक्षर्फ ९ दलमात्रै निर्वाचन जित्न सके । पहिलो प्रतिनिधिसमा निर्वाचनमा प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट गरी २२० सिटका साथ तत्कालिन नेकपा माओवादी पहिलो पार्टी बन्यो । माओवादीले मनोनितबाट पनि ९ सिट पायो । त्यो जोड्दा माओवादीको २२९ सिट भयो । दोस्रो पार्टी भएको कांग्रेसले प्रत्यक्षतर्फ ३७ र समानुपातिकतर्फ ७३ सिट गरी ११० सिट पायो ।  

निर्वाचनमा समानुपातिकमा मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेकपा माले ८, नेकपा संयुक्त ५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ४, राष्ट्रिय जनशक्ति पार्टी ३, राष्ट्रिय जनमुक्ति पार्टी २, नेकपा एकीकृत २, नेपाल सदभावना पार्टी आनन्दीदेवी २, नेपाली जनता दल २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल १, दलित जनजाती पार्टी १, नेपाल परिवार दल १, नेपाः राष्ट्रिय पार्टी १, नेपाल लोकतान्त्रिक समाजवादी दल १ र चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल १ सिट जितेका थिए ।

निर्वाचनमा दलहरूले ल्याएको सिटसंख्याका आधारमा २६ सांसद मनोनित भएका थिए । जसमा नेकपा माओवादीले ९, नेपाली कांग्रेस र नेकपा एमालेले ५/५, मधेसी जनअधिकार फोरम नेपालले २, तराई मधेस लोकतान्त्रिक पार्टीले १, नेकपा मालेले १, जनमोर्चा नेपालले १, नेपाल मजदुर किसान पार्टीले १ र नेपाल सदभावना पार्टी (आनन्दीदेवी)ले १ सांसद् पाएका थिए । 

निर्वाचनमा भाग लिएका तर प्रत्यक्षतर्फ र समानुपातिकतर्फ कुनै पनि सिट नजितेका दलहरूको संख्या ३१ थियो । 

नेकपा (माक्सवादी, ताम्सालिङ नेपाल राष्ट्रिय दल, राष्ट्रिय जनता दल, नेकपा (संयुक्त माक्सवादी), लोक कल्याणकारी जनता पार्टी नेपाल, नेपाल जनभावना पार्टी, राष्ट्रिय जनता दल नेपाल, नेपाल जनता पार्टी, मंगोल नेशनल अर्गजाइजेशन, नेपाल शान्ति क्षेत्र परिषद्, शान्ति पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रिय विकास पार्टी, नेपाल दलित श्रमिक मोर्चा, समाजवादी पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, नेपाल कांग्रेस (राष्ट्रवादी), नेपाल साम्यवादी दल, नवजनवादी मोर्चा, हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल समता पार्टी, राष्ट्रवादी युवा मोर्चा, लिग नेपाल शान्ति एकता पार्टी, स–शक्ति नेपाल, जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, नव नेपाल प्रजातान्त्रिक दल, लिवरल समाजवादी पार्टी र नेपाल राष्ट्रिय जनकल्याण पार्टी निर्वाचनमा होमिएका थिए । 

दोस्रो संविधानसभा निर्वाचन २०७०

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार निर्माण भयो । त्यो सरकारले २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गर्‍यो । यो निर्वाचनमा पहिलो भएको पार्टी तेस्रोमा झर्‍यो । 

पहिलो संविधानसभा निर्वाचन २०६४ जस्तै गरी भएको निर्वाचनमा भाग लिन १३० दल दर्ता भए । ती मध्य १२२ दलले निर्वाचनमा भाग लिए । यो निर्वाचनमा प्रत्यक्षतर्फ १० दलले जिते । कांग्रेसले प्रत्यक्षमा १०५, समानुपातिकमा ९१ र मनोनित १० गरी २०६ सिटसहित पहिलो पार्टी बन्यो । 

यो बाहेक समानुपातिकमा मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २४, नेकपा मालेले ५, संघीय लोकतान्त्रिक ढरुहट मञ्च (थरुहट)ले १, नेपाल परिवार दलले २, राष्ट्रिय जनमुक्ति पार्टीले २, समाजवादी जनता पार्टी १, राष्ट्रिय जनमोर्चा ३, नेकपा (संयुक्त), नेपाली जनता दल १, दलित जनजाति पार्टी २, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) १, नेपाः राष्ट्रिय पार्टी १, संघीय सदभावना पार्टी १ सिट ल्याएका थिए ।

यो निर्वाचनमा सहभागी भएका १२२ दलमध्ये २२ दलको मात्रै संविधानसभामा प्रतिनिधित्व भयो । बाँकी एक सय दल प्रत्यक्ष र समानुपातिकमा सिट ल्याउन नसकेपछि संसद्मा पुग्न सकेनन् ।  

निर्वाचनमा भाग लिएका तर प्रतिनिधिसभामा पुग्न नसकेका दलहरू :

राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी, संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल युवा किसान पार्टी, नेपाल जनता पार्टी, खस समावेशी राष्ट्रिय पार्टी, तराई मधेश पहाड हिमाल एकता पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, मधेश तराई फोरम, राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, लोक दल, जनता दल नेपाल, जनता दल लोकतान्त्रिक पार्टी, जन प्रजातान्त्रिक पार्टी, शिवसेना नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नव नेपाल निर्माण पार्टी, नेपाल शान्ति क्षेत्र परिषद्, नेपाल गणतान्त्रिक एकता पार्टी, संघीय लिम्बुवान राज्य परिषद्, विश्व सत्यवादी पार्टी, सहकारी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, शान्ति पार्टी नेपाल, संघीय, समावेशी समाजवादी पार्टी नेपाल, गरीब एकता समाज पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नेपालआमा पाटी, जनता दल युनाइटेड, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी, संयुक्त राष्ट्रवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल नागरिक पार्टी, नेपाल लेबर पार्टी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), राष्ट्रिय नागरिक पार्टी, चुरेभावर राष्ट्रिय पार्टी, नेपाल सद्भावना पार्टी (युनाइटेड), बहुजन समाज पार्टी नेपाल, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स, हिन्दू प्रजातान्त्रिक पार्टी नेपाल, नयाँ नेपाल राष्ट्रिय पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, नेपाल समावेशी पार्टी, देशभक्त समाज, लिम्बुवान मुक्ति मोर्चा, लिबरल डेमोक्रेटिक पार्टी, नेपाल जनसमावेशी एकता पार्टी, नेपाल कम्युनस्टि पार्टी (माले–समाजवादी), जनता पार्टी नेपाल, राष्ट्रिय चुरेभावर पार्टी, नेपाल गौरवशाली पार्टी, नेपाल राष्ट्रिय विकास पार्टी, राष्ट्रिय एकता पार्टी, सोसल रिपब्लिकन पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, युनाइटेड ग्रीन अर्गनाइजेशन, जनमोर्चा नेपाल, नेपाल राष्ट्रसेवा दल, लोकतान्त्रिक पार्टी–नेपाल, राष्ट्रिय जन विकास पार्टी, मातृभूमि नेपाल दल, नयाँ संघीयता जनधारणा पाटी, नेपाल राष्ट्रिय यातायात विकास दल, राष्ट्रवादी एकता पार्टी, लिम्बुवान मुक्ति मोर्चा नेपाल, नेपाल समाजवादी पार्टी (लोहियावादी),संघीय विकासवादी पार्टी नेपाल, राष्ट्रवादी जनता पार्टी, नेपाल जनभावना पार्टी, नेपाल न्यायिक दल, तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी, संयुक्त जनमोर्चा, श्रमिक, जनता पार्टी–नेपाल, राष्ट्रिय मधेश एकता पार्टी नेपाल, ॐ सेना नेपाल, हरियाली नेपाल पार्टी, नेपाल मधेशी जनता दल (समाजवादी), नेपाल श्रमजिवी दल, युवा शक्ति नेपाल पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, लोकतान्त्रिक जनता पार्टी नेपाल, तराई पहाड हिमाल समाज पार्टी, राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी, नेपाली जनता पार्टी, गरीव जनताको क्रान्ति पार्टी र नेपाल कम्युनस्टि पार्टी (मालेमा) साम्यवादी ।

प्रतिनिधिसभा निर्वाचन २०७४

संविधानसभाबाट ०७२ असोज ३ गते संविधान जारी भएपछि २०७४ सालको मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो । त्यो निर्वाचन संविधानमा घटेको प्रतिनिधिसभाको सांसद संख्या अनुसार निर्वाचन भएको थियो । संविधानमा प्रतिनिधिसभा २७५ सदस्यीय हुने व्यवस्था गरिएको छ । जसमा प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फ ११० सिटको व्यवस्था गरिएको छ । त्यहीअनुसार भएको निर्वाचनमा तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच तालमेल भएर निर्वाचन भयो । निर्वाचनमा एमाले पहिलो, कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र तेस्रो पार्टी भए । 

निर्वाचनमा ४९ दलले भाग लिएका थिए । त्यसमध्ये ९ दल प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा पुगे । समानुपातिकमा खसेको मतको ३ प्रतिशत मत पाउने र प्रत्यक्षतर्फ १ सिट जितेकोले मात्रै सिट पाउने व्यवस्था गरेपछि त्यो प्रक्रिया ५ दलले मात्रै पूरा गरे । 

निर्वाचनमा ४९ दल सहभागी भएकामा ९ दल मात्रै प्रतिनिधिसभामा पुग्न सके । बाँकी ४० दल पुग्न सकेनन् । प्रतिनिधिसभामा पुग्न नसक्ने दल यी थिए । 

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), ग्रीन नेपाल पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, जनप्रजातान्त्रिक पार्टी, नेपाल, जनशक्ति नेपाल, तामाङसालिङ लोकतान्त्रिक पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाः राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल कम्युनस्टि पार्टी (माक्र्सवादी), नेपाल कम्युनस्टि पार्टी (मा.ले.), जनसमाजवादी पार्टी नेपाल, नेपाल जनता पार्टी, नेपाल दर्शन, नेपाल दलित पार्टी, नेपाल नौलो जनवादी पार्टी, नेपालवाद, नेपाल युवा किसान पार्टी, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपाल संघीय समाजवादी पार्टी, नेपाल समावेशी पार्टी, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक), नेपाली कांग्रेस (बी.पी.), नेपाली जनता दल, बहुजन शक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, युवा नेपाल पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय नागरिक पार्टी, लिवरल डेमोक्रेटिक पार्टी, राष्ट्रिय समाजवादी पार्टी, नेपाल, विवेकशील साझा पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), संघीय समाजवादी फोरम नेपाल र हाम्रो पार्टी ।

प्रतिनिधिसभा निर्वाचन २०७९

वि.सं. २०७९ को ‍मंसिर ४ गते सम्पन्न भयो । नेपाली कांग्रेस र तत्कालिन नेकपा (माओवादी केन्द्र) एउटा गठबन्धन तथा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालबीच गठबन्धन भएर निर्वाचन सम्पन्न भयो । निर्वाचनका लागि ७८ पार्टी दर्ता भएका थिए । ती मध्य प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ पार्टीले मात्रै प्रतिनिधिसभामा स्थान बनाउन सफल भए । 

  • निर्वाचनमा भाग लिएर प्रतिनिधिसभामा सहभागी हुन नसकेका दलहरू

नेकपा (समाजवादी), मंगोल नेशनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, आम जनता पार्टी, समावेशी समाजवादी पार्टी, विवेकशील साझा पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माले, नेपाल आमा पार्टी, नेपाली कांग्रेस (बि.पी), नेपाल जनता पार्टी, जनता प्रगतीशील पार्टीलगायत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप