शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

एमालेको ‘लालकिल्ला’मा चल्ला जगदीशको ‘जादु’ ? कांग्रेस र उज्यालो नेपालको आफ्नै दाउ (भिडियो रिपोर्टसहित)

बुधबार, २१ माघ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । कला, संस्कृति र सम्पदाको केन्द्र मानिने यो क्षेत्र यस पटक परम्परागत शक्ति र नयाँ वैकल्पिक शक्तिबिचको कडा टक्करको मैदान बन्ने निश्चित देखिएको छ ।

२०७९ को आम निर्वाचनमा यस क्षेत्रले दिएको परिणाम र त्यसपछि बदलिएको राजनीतिक समीकरणले यस पटकको नतिजा कसको पक्षमा जाला भन्ने कौतूहलता बढाएको छ ।

  • जोगिन्छ त एमालेको ‘लालकिल्ला’ ?

ललितपुर क्षेत्र नम्बर २ लाई लामो समयदेखि नेकपा एमालेको बलियो ‘गढ’ का रूपमा चिनिँदै आएको छ । २०७९ को आम निर्वाचनमा यहाँबाट एमालेका प्रेम बहादुर महर्जन १५ हजार २५ मत प्राप्त गर्दै विजयी भएका थिए । तर सो जित जति उत्साहजनक देखिन्थ्यो, त्यसभित्रको गणितीय सूक्ष्मता भने एमालेका लागि सधैँ सुरक्षित रहने सङ्केत थिएन । त्यतिबेला एमालेको जितमा विपक्षी मतहरूको तीव्र विभाजनले ठुलो भूमिका खेलेको थियो ।

विशेषगरी वैकल्पिक राजनीतिका रूपमा उदाएका ‘लौरो’ अभियान र ‘घण्टी’ (रास्वपा) का उम्मेदवारले छुट्टाछुट्टै मत काट्दा एमालेलाई थोरै मतान्तरले भए पनि जित निकाल्न सहज भएको थियो । यस पटक एमालेले आफ्नो संगठित मतलाई मात्र जोगाएर पुग्ने अवस्था छैन । उसले बदलिएको परिस्थितिमा नयाँ र युवा मतदातालाई कसरी आकर्षित गर्छ भन्ने कुराले नै उसको ’गढ’ को भविष्य तय गर्नेछ ।

collage (1)

  • यस्तो छ २०७९ को चुनावी गणित

२०७९ मा सम्पन्न संसदीय निर्वाचनको परिणाम विश्लेषण गर्दा प्रत्यक्षतर्फको मतसँगै समानुपातिक तर्फको मतले दलहरूको वास्तविक धरातल स्पष्ट पार्छ । २०७९ को निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ सबैभन्दा बढी ११ हजार ८९५ मत प्राप्त गरेको थियो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ११ हजार ८५ मत प्राप्त गर्दा नेपाली कांग्रेस ९ हजार २५२ मतका साथ तेस्रो स्थानमा खुम्चिएको थियो । त्यस्तै राप्रपाले ७ हजार ६९५ र हाम्रो नेपाली पार्टी (लौरो)ले ५ हजार ४३ मत प्राप्त गरेका थिए ।

ललितपुर–२ का मतदाता परम्परागत पार्टीभन्दा नयाँ विकल्प र एजेन्डा भएका शक्तिहरूप्रति बढी आकर्षित छन् भन्ने बुझ्न यो तथ्याङ्क एउटा बलियो आधार हो । समानुपातिकमा पहिलो बनेको रास्वपाका लागि यस पटक प्रत्यक्षतर्फको जित निकाल्न यो नै सबैभन्दा ठुलो मनोवैज्ञानिक र प्राविधिक आधार बनेको छ ।

  • रास्वपाको नयाँ दाउ

यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले निकै रणनीतिक रूपमा चर्चित सञ्चारकर्मी तथा पूर्वपत्रकार जगदीश खरेललाई चुनावी मैदानमा उतारेको छ । खरेलको उपस्थितिले यस क्षेत्रको चुनावी समीकरणलाई पूरै तरङ्गित बनाइदिएको छ । टेलिभिजन पर्दामा वर्षौंसम्म भ्रष्टाचार, सुशासन र नागरिकका समस्याका बारेमा प्रखर रूपमा बोल्दै आएका खरेलको ‘फेस भ्यालु’ ले तटस्थ र युवा मतदातालाई तान्ने देखिन्छ ।

अघिल्लो पटक रास्वपाका बुद्धरत्न महर्जन ८ हजार ६६६ मत ल्याएर तेस्रो भएका थिए भने लौरो चुनाव चिह्नका सुदिन शाक्य ८ हजार ८८६ मत ल्याएर दोस्रो भएका थिए ।

यस पटक लौरोको छुट्टै उम्मेदवार नभएको र रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहसँग जोडिएको ‘लौरो’ को क्रेजलाई रास्वपाले आफ्नो पक्षमा पार्ने दाउ बुनेको छ । खरेलका लागि अघिल्लो पटक विभाजित भएको झन्डै १८ हजार वैकल्पिक मतलाई एकीकृत गर्नु नै मुख्य चुनौती र अवसर दुवै हो ।

  • कांग्रेस र नेकपाको उम्मेदवार कति बलियो ?

२०७९ मा नेपाली कांग्रेसले यस क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको थिएन । सत्ता गठबन्धनको भागबन्डाका कारण नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनलाई समर्थन गरेको कांग्रेसले यस पटक भने आफ्नै पुराना नेता प्रेम कृष्ण महर्जनलाई मैदानमा पठाएको छ ।

अघिल्लो पटक प्रत्यक्षतर्फ उम्मेदवार नहुँदा कांग्रेसका धेरै मतदाता वैकल्पिक शक्ति वा स्वतन्त्र उम्मेदवारतिर लागेका थिए । यस पटक कांग्रेसले आफ्नो ‘रुख’ चिह्न लिएर मतदाताको घरदैलोमा पुग्दा अघिल्लो चुनावमा गुमाएको ९ हजारभन्दा बढी समानुपातिक मतलाई प्रत्यक्षमा रूपान्तरण गर्न सक्ने अपेक्षा गरेको छ । यद्यपि, कांग्रेसभित्रको आन्तरिक कलह र नयाँ पुस्ताको वैकल्पिक राजनीतिप्रतिको आकर्षणलाई चिरेर आफ्नो पकड बलियो बनाउन प्रेम कृष्ण महर्जनलाई फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ ।

यस पटकको निर्वाचनमा अर्को रोचक पक्ष भनेको माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टी एकता वा तालमेलपछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ को उपस्थिति हो । अघिल्लो पटक एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ माओवादी केन्द्र र समाजवादीको मत जोड्दा करिब ३ हजार ५०० को हाराहारीमा देखिन्छ । यो मत निर्णायक नभए पनि कसलाई हराउने वा जिताउने भन्नेमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । कम्युनिस्ट मतदाताहरूले नेकपाका उम्मेदवार राजेन्द्र अमात्यलाई कति मत दिन्छन् भन्ने कुराले एमालेका उम्मेदवार प्रेम बहादुर महर्जनलाई असर पर्छ ।

  • लौरोको मत र बालेन फ्याक्टरको प्रभाव

काठमाडौँका मेयर बालेन शाहले प्रयोग गरेको ‘लौरो’ चुनाव चिह्नले अघिल्लो पटक ललितपुर–२ मा तहल्का पिटेको थियो । सुदिन शाक्यले ल्याएको करिब ९ हजार मत विशुद्ध रूपमा ‘परिवर्तन’ का लागि दिइएको मत थियो । यस पटक भने त्यो मत रास्वपालाई प्रत्यक्ष फाइदा पुग्ने आकलन गरिएको छ । तर यही रिक्ततालाई भर्न स्थानीयस्तरमा लोकप्रिय र चर्चित अभियन्ता राजाराम तण्डुकार उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । तण्डुकारले स्थानीय कोर क्षेत्रका मतदाता र विशेष गरी ‘एन्टी–एस्टाब्लिसमेन्ट’ मत तान्ने सम्भावना प्रबल छ ।

यदि तण्डुकारले ठुलो संख्यामा मत काटे भने त्यसको सिधा नोक्सानी रास्वपाका जगदीश खरेललाई हुन सक्छ, तर तन्डुकार पनि कमजोर उम्मेदवार भने होइनन् ।

यस पटकको निर्वाचनमा प्राविधिक र बौद्धिक वर्गको प्रतिनिधित्व गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट स्थानीय इन्जिनियर कृष्ण महर्जन ‘आँखा’ चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् । विकास र समृद्धिको प्राविधिक खाका बोकेर हिँडेका इन्जिनियर महर्जनले शिक्षित र युवा वर्गको मत काट्ने निश्चित छ ।

प्रमुख प्रतिस्पर्धीको चुनौती

एमालेका लागि सबैभन्दा ठुलो चुनौती भनेको लामो समयदेखि सत्तामा रहँदा र पटक–पटक एउटै क्षेत्र जिताउँदा पनि मतदातामा आएको निराशा हो । देशैभर एमालेविरुद्ध एउटा तप्का सक्रिय रहेको बेला ललितपुर–२ मा पनि त्यसको असर देखिन सक्छ । अर्कोतर्फ रास्वपाका लागि ठुलो जनलहर र सेलिब्रेटी उम्मेदवार भए पनि ‘बुट लेवल’ वा टोल–टोलमा पुग्ने संगठित कार्यकर्ताको कमी छ । चुनावको दिन मत खसाल्न र बुथ व्यवस्थापनमा एमाले र कांग्रेस जत्तिको अनुभवी संगठन नहुनु रास्वपाको कमजोरी बन्न सक्छ ।

ललितपुर क्षेत्र नम्बर २ मा यस पटक नेकपा एमालेका प्रेम बहादुर महर्जन, रास्वपाका जगदीश खरेल र नेपाली कांग्रेसका प्रेम कृष्ण महर्जनबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि मूख्य प्रतिस्पर्धी भनेको रास्वपा र एमाले नै देखिन्छ ।  समानुपातिक मतको आधारमा रास्वपा बलियो देखिए पनि एमालेको संगठित मत र कांग्रेसको पुनरागमनले नतिजालाई निकै साँघुरो बनाउनेछ । वैकल्पिक मतहरू राजाराम तण्डुकार र इन्जिनियर महर्जन जस्ता उम्मेदवारहरूमा कति बाँडिन्छन् भन्ने कुराले नै बाजी कसले मार्छ भन्ने टुङ्गो लाग्नेछ ।

यदि ललितपुरका मतदाताले अघिल्लो पटकको जस्तै परिवर्तनको पक्षमा एकमुष्ट मतदान गरे भने जगदीश खरेलले इतिहास रच्न सक्छन्, तर मत विभाजित भएमा एमालेको ‘लालकिल्ला’ फेरि पनि जोगिन सक्छ ।

  • के भन्छन् मतदाता ? (भिडियो सहित)

इमाडोलकी स्थानीय बासिन्दा गोमा रानाले अहिलेसम्म चुनावी चहलपहल खासै नदेखिएको र भोट माग्न कोही नआएको बताइन् ।

goma rana

उनकै अनुसार साधारण जनताले अहिलेको समयमा चर्को महँगी खेप्नु परेको छ । त्यसैले आगामी नेतृत्वले बजार भाउ नियन्त्रण गरी जनजीवन सहज बनाउनुपर्नेमा उनले जोड दिएकी छन् ।

विशेषगरी साना व्यवसायीहरूले १८ देखि २० प्रतिशतसम्म बैंकको ब्याज तिर्नुपर्ने बाध्यता रहेकाले संसदमा गएर यस्ता समस्या समाधानका लागि कानुन बनाउन सक्ने उम्मेदवारलाई आफूले प्राथमिकता दिने उनले बताइन् ।

टीकाथलीका मतदाता प्रेम बहादुर बोगटीले अहिलेसम्म कुनै पनि उम्मेदवार भोट माग्न नआएको जानकारी दिए । उनले पुराना नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धेरै समय देश चलाइसकेकाले उनीहरूबाट नयाँ परिवर्तनको आशा गर्न नसकिने तर्क राखे । उनको विचारमा अब नयाँ जोस र जाँगर भएका युवा उम्मेदवारहरू आउनुपर्छ, जसले देश र स्थानीय क्षेत्रको विकास गर्न सकुन् ।

topi

विकासको सन्दर्भमा उनले भगवती मन्दिर आसपासको बाटो पिच गर्ने र पूर्वाधार सुधार्ने नेताको आवश्यकता औँल्याए ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कपिल केसीले निर्वाचनको मिति नजिकिए पनि स्थानीयस्तरमा अझै राजनीतिक माहोल तातिनसकेको बताए । उनकै अनुसार जनतासँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूका पीडा बुझ्ने र संसदमा पुगेर ती समस्यालाई बुलन्द रूपमा राख्न सक्ने क्षमतावान् नेता अहिलेको आवश्यकता हो । उनले स्थानीय तहमा भइरहेका विकास निर्माणका कामहरू, जस्तै हनुमन्ते र गोदावरी करिडोरको व्यवस्थापन, खानेपानीको आपूर्ति र स्वास्थ्य क्षेत्रका सुधारका लागि संघीय सरकारसँग समन्वय गर्न सक्ने उम्मेदवारलाई जनताले साथ दिने विश्वास व्यक्त गरे ।

kapil oda

महालक्ष्मी नगरपालिकाका स्थानीय बालकृष्ण बजगाईंले पुराना राजनीतिक दलहरूप्रति आफ्नो कडा असन्तुष्टि व्यक्त गर्दै यसपटक नयाँ शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे । देशमा बढ्दो भ्रष्टाचार र आर्थिक अनियमितताका कारण जनता निराश भएको भन्दै उनले पुराना नेताहरूले आश्वासन मात्र बाँडेको आरोप लगाए ।

balkrishna bajagain

उनको सबैभन्दा ठुलो चिन्ता रोजगारीको अभावमा युवाहरू विदेश पलायन हुनुमा छ । छोराछोरी विदेशमा र वृद्ध आमाबुवा घरमा एक्लै हुनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता भएको नेतृत्व आफूले खोजिरहेको उनले बताए ।

कौशिला बोगटीले आफ्नो क्षेत्रको भौतिक पूर्वाधारको दयनीय अवस्थाबारे दुःख पोखिन् । विगत चार वर्षदेखि सो क्षेत्रमा बसोबास गर्दै आएकी उनले बाटो र ढलको उचित व्यवस्था नहुँदा वर्षायाममा घरभित्रै पानी पसेर डुबान हुने गरेको बताइन्  । पानी पसेकै कारण कतिपय रात खान र सुत्नसमेत नपाई डरैडरमा बिताउनुपरेको उनको अनुभव छ ।

kaushila

नेताहरूले पटक–पटक बाटो बनाउने आश्वासन दिए पनि काम नभएकोमा बोगटीले असन्तुष्टि व्यक्त गरिन् । उनले यसपटक जसले यो डुबानको समस्या समाधान गर्छ, उसैलाई मात्र भोट दिने मनसाय बनाएकी छन् ।

  • ‘इमानदार नेताको खाँचो छ’

बालकुमारीका मतदाता हीरकाजी महर्जनले उम्मेदवारहरू चुनाव जित्नु अघि ठुला–ठुला कुरा गर्ने, तर जितेपछि फर्केर नआउने प्रवृत्तिको आलोचना गरे । उनका अनुसार जनतालाई अब आश्वासन दिने फटाहा नेता होइन, साँच्चिकै काम गर्ने इमानदार व्यक्तिको खाँचो छ ।

hirakaji maharjan

उनले आफ्नो क्षेत्रमा नयाँ उम्मेदवारप्रति मानिसहरूको चासो बढिरहेको उल्लेख गर्दै पुराना दलहरूले जनताको विश्वास गुमाउँदै गएको सङ्केत गरे । काम गर्ने शैलीमा परिवर्तन ल्याउन सक्ने र बोलेको कुरा पूरा गर्ने नेतृत्व नै उनको रोजाइमा छ ।

पिलाछेंकी स्थानीय बासिन्दा रबिना अवालेले निर्वाचनमा दलको झण्डा भन्दा पनि उम्मेदवारको एजेन्डा महत्त्वपूर्ण हुनुपर्ने बताइन् । उनले ललितपुरको ऐतिहासिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने सोच भएको नेताको खोजीमा आफू रहेको बताइन् ।

rabina awale

स्थानीय बाटोघाटोको खाल्डाखुल्डी पुर्ने र बत्तीको उचित व्यवस्थापन गर्ने जस्ता आधारभूत काममा समेत ढिलासुस्ती हुने गरेकोमा उनको असन्तुष्टि छ । प्रशासनिक कामलाई छिटोछरितो बनाउने र स्थानीय आवश्यकतालाई प्राथमिकता दिने उम्मेदवारलाई आफूले मत दिने उनले स्पष्ट पारिन् ।

prem shrestha

ग्वार्कोका प्रेम श्रेष्ठले देशमा शान्ति, सुरक्षा र रोजगारीको सुनिश्चितता नै अहिलेको प्रमुख मुद्दा भएको बताए । धेरैजसो घरका युवा कामको खोजीमा विदेश जानुपर्ने बाध्यता रहेकाले देशमै केही गर्न सकिने वातावरण बनाउने नेताको खाँचो उनले औँल्याए । पुराना नेताहरूले पटक–पटक अवसर पाउँदा पनि देशको अवस्था नफेरिएकाले अब नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने उनको मान्यता छ । उनले पनि स्थानीयस्तरमा नयाँ उम्मेदवारहरूप्रति जनलहर बढै गएको र यसपटकको निर्वाचनमा मतदाताले विवेक प्रयोग गरेर परिवर्तनको पक्षमा उभिने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया