दाङ-१ : चार दलबिच हुनसक्छ प्रतिस्पर्धा, मेटमणिलाई यसपटक छैन सहज
सारांश
- दाङ क्षेत्र नम्बर १ मा २०४६ पछिका ७ निर्वाचनमध्ये कांग्रेसले ६ पटक उम्मेदवार उठाएको छ र ४ पटक जितेको छ।
- २०७९ को निर्वाचनमा गठबन्धन हुँदा यो क्षेत्र एकीकृत समाजवादीलाई परेको थियो र फागुन २१ मा हुन लागेको निर्वाचनमा १४ जना प्रतिस्पर्धामा छन्।
- विश्लेषकका अनुसार, यो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ।
काठमाडौँ । दाङ क्षेत्र नम्बर १ का २०४६ सालको जनआन्दोलनपछि भएका प्रतिनिधिसभाका ७ निर्वाचनमध्ये ६ निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल हुँदा त्यो क्षेत्र नेकपा (एकीकृत समाजवादीलाई परेकाले कांग्रेसले उम्मेदवार बनाएको थिएन ।
कांग्रेसले उम्मेदवार बनाएका ६ निर्वाचनमध्ये चार निर्वाचनमा त्यो क्षेत्रमा विजयी प्राप्त गरेको छ । थारु समुदाय बाहुल्य यो क्षेत्रमा कांग्रेसले २०४८, २०५१, २०५६ र २०७० का निर्वाचनमा जितेको छ । हारेका दुई निर्वाचनमा पनि निकटतम प्रतिस्पर्धी भएको छ ।
२०४८ को निर्वाचनमा कांग्रेस उम्मेदवार हरिप्रसाद चौधरीले जित्दा एमाले उम्मेदवार अशोककुमार चौधरी निकटतम प्रतिस्पर्धी भए । २०५१ मा पनि हरिप्रसादले नै जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुनारायण चौधरी निकटतम प्रतिद्वन्द्वी भए । २०५६ मा कांग्रेसले उम्मेदवार फेर्दा पनि जित्यो । कांग्रेस उम्मेदवार खड्काले जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका परशुनारायण चौधरी निकटतम प्रतिद्वन्द्वी भए ।
तत्कालीन माओवादी १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गरी संसदीय राजनीतिमा प्रवेश गएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार इन्द्रजित थारु विजयी भए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खुमबहादुर खड्का भए । उम्मेदवारी दर्ता गरेपछि आफ्नो उम्मेदवारी फिर्ता लिए पनि खड्का दोस्रो भएका ‘दाङ देउखुरीको इतिहास’ पुस्तकका लेखक इतिहासकार सुदीप गौतम बताउँछन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा त्यो क्षेत्रमा कांग्रेसले ‘कमब्याक’ गर्यो । कांग्रेस उम्मेदवार पार्वती डिसी चौधरीले निर्वाचन जित्दा एमालेका उम्मेदवार रेवतीरमण शर्मा घिमिरे निकटतम् प्रतिद्वन्द्वी भए । दोस्रो संविधानसभाले २०७२ मा संविधान जारी गर्यो । त्यसपछि पाँच निर्वाचन क्षेत्र रहेको दाङमा निर्वाचन क्षेत्र घटेर तीनवटामा झरे । त्यसपछि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबिच गठबन्धन भयो । त्यो गठबन्धनबाट एमाले नेता मेटमणि चौधरी र कांग्रेस उम्मेदवार सुशीला चौधरीबिच प्रतिस्पर्धा भयो । मेटमणिले जित्दा सुशीला निकटतम् प्रतिद्वन्द्वी बनिन् ।
२०७९ मा भएको निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भयो । त्यो क्षेत्र एकीकृत समाजवादीको भागमा पर्यो । गठबन्धनबाट उम्मेदवार बनेका मेटमणि चौधरीले जिते ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा १४ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट सहमहामन्त्री योगेन्द्र चौधरी, एमालेबाट रेवतीरमण शर्मा, नेकपाबाट मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) बाट प्रकाश शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, मंगोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहा मगर, नेसनल रिपब्लिकन नेपालबाट मीनबहादुर ठेडी मगर, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिस्पर्धामा रहेका १४ उम्मेदवारमध्ये ४ जना गढवा गाउँपालिकाका स्थानीय बासिन्दा हुन् । यो गाउँपालिका यही निर्वाचन क्षेत्रभित्र पर्छ । कांग्रेस उम्मेदवार योगेन्द्र, नेकपा उम्मेदवार मेटमणि, रास्वपा उम्मेदवार देवराज र राप्रपा उम्मेदवार विनय गढवाका स्थायी बासिन्दा हुन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस उम्मेदवार चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए । कांग्रेस प्रवेशपछि शेरबहादुर देउवानिकट बनेका चौधरी पछिल्लो समय तत्कालीन महामन्त्री गगन थापा नेतृत्वको विशेष महाधिवेशनमा सहभागी भएर सहमहामन्त्री बनेका हुन् । उनी कांग्रेसबाट पहिलो पटक उम्मेदवार बनेका हुन् । योगेन्द्र विगतमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रतिस्पर्धामा उत्रिए पनि जित्न सकेका थिएनन् ।
एमाले उम्मेदवार शर्मा पार्टीको लेखा आयोग सदस्य हुन् । शर्मा २०७४ मा दाङ क्षेत्र नम्बर १ (२) बाट १९ हजार ३५४ मतका साथ लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
नेकपा उम्मेदवार चौधरीले यो क्षेत्रबाट दुई पटक जितिसकेका छन् । २०७९ र २०७४ सालको निर्वाचनमा उनी यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पूर्व सहरी विकासमन्त्री समेत हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाठक २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसी नेकपासँग आबद्ध थिए । पार्टीले टिकट नदेखिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । केसी २०७८ साउन २८ देखि २०७९ पुस २७ सम्म लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।
प्रतिस्पर्धामा रहेका १४ उम्मेदवारमध्ये ४ जना गढवा गाउँपालिकाका स्थानीय बासिन्दा हुन् । यो गाउँपालिका यही निर्वाचन क्षेत्रभित्र पर्छ । कांग्रेस उम्मेदवार योगेन्द्र, नेकपा उम्मेदवार मेटमणि, रास्वपा उम्मेदवार देवराज र राप्रपा उम्मेदवार विनय गढवाका स्थायी बासिन्दा हुन् ।
निर्वाचन क्षेत्रको भौगोलिक अवस्था
दाङ–१ मा चार पालिका र घोराही उपमहानगरपालिकाका वडा नम्बर १, २, ३ र ५ पर्छन् । गढवा गाँउपालिका, राप्ती गाउँपालिका, राजपुर गाँउपालिका र लमही नगरपालिकाको पूरै भाग यो क्षेत्रमा पर्छ ।
२०७९ को स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अंकगणित
स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने लमही नगरपालिकाको प्रमुख तथा उपप्रमुख कांग्रेसले जितेको छ । प्रमुखमा कांग्रेस उम्मेदवार जोगराज चौधरीले ९ हजार ३१७ मत ल्याएर जित्दा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार बसन्तराज शर्माले ७ हजार २८५ मत ल्याएका थिए । उपप्रमुखमा कांग्रेसकी लक्ष्मी योगीले ८ हजार ७३७ मत ल्याएर जित्दा तत्कालीन माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८४८ मत ल्याएकी थिइन् ।
९ वडा रहेको नगरपालिकामा कांग्रेसले एउटा वडा बाहेक सबैमा वडाध्यक्ष जितेको थियो । कांग्रेसले १, २, ३, ४, ६, ७, ८, ९ वडामा अध्यक्ष जित्दा तत्कालीन माओवादी केन्द्रले वडा नम्बर ५ मा अध्यक्ष जितेको थियो ।
राजपुर गाउँपालिकामा पनि प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ । कांग्रेसका शरदकुमार बुढाथोकीले ३ हजार ९८० ल्याएर जित्दा तत्कालीन माओवादी केन्द्रका चक्रबहादुर बुढाले ३ हजार १६७ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी भएका थिए । उपप्रमुखमा कांग्रेसकी धनपतिदेवी यादवले ३ हजार ८३६ मत ल्याएर जित्दा तत्कालीन माओवादी केन्द्रकी पुष्पा यादवले ३ हजार ३४८ मत ल्याएकी थिइन् ।
७ वडा रहेको गाउँपालिकामा एमालेले १ र ५, कांग्रेसले २ र ४ तथा माओवादी केन्द्रले ३, ६ र ७ वडाका अध्यक्ष जितेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले २६ हजार ५७६ मत प्राप्त गरी निर्वाचित भएका थिए । चौधरी कांग्रेस–माओवादी–नेकपा (एकीकृत समाजवादी)का संयुक्त उम्मेदवार थिए । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्ता चौधरीले २१ हजार ४९३ मत पाइन् ।
गढवा गाउँपालिकाको प्रमुख तत्कालीन नेकपा (माओवादी केन्द्र) र उपप्रमुख कांग्रेसले जितेको छ । प्रमुखमा माओवादीका यमनारायण शर्मा पोखरेलले ६ हजार ९०९ मत ल्याएर जित्दा कांग्रेसका सर्वजित डिसीले ६ हजार १६७ मत ल्याएका थिए । उपप्रमुखमा कांग्रेसकी शारदाकुमारी चौधरीले ५ हजार ८८१ मत ल्याएर जित्दा एमालेकी सीताकुमारी चौधरीले ४ हजार ८३० मत ल्याएकी थिइन् । ८ वडा रहेको यो गाँउपालिकामा एमालेले १ र ८, माओवादीले २, ३, ४ र ६ तथा कांग्रेसले ५ र ७ वडाका अध्यक्ष जितेका छन् ।
राप्ती गाउँपालिकामा माओवादीले प्रमुख र एमालेले उपप्रमुख जितेका छन् । प्रमुखमा माओवादीका प्रकाश विष्टले ६ हजार ८९८ मत ल्याएर जित्दा एमालेका जगतप्रसाद पोखरेलले ५ हजार ७०० मत ल्याए । उपप्रमुखमा एमालेकी कमलापति चौधरीले ६ हजार ६७४ मत ल्याएर जित्दा कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४९६ मत ल्याए ।
९ वडा रहेको गाउँपालिकामा कांग्रेसले वडा नम्बर ३ मात्रै जितेको छ । तत्कालीन माओवादीले २, ६, ८ र ९ वडा जितेको छ । माओवादीले कुल १२ वडा जितेको छ भने एमालेले १, ५ र ७ वडामा अध्यक्ष जितेको छ । यो क्षेत्रमा पर्ने उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४ र ५ नम्बर वडाका अध्यक्ष सबै एमालेले जितेको छ ।
२०७९ प्रतिनिधिसभामा प्रत्यक्षतर्फको मत
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले २६ हजार ५७६ मत प्राप्त गरी निर्वाचित भएका थिए । चौधरी कांग्रेस–माओवादी–नेकपा (एकीकृत समाजवादी)का संयुक्त उम्मेदवार थिए । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्ता चौधरीले २१ हजार ४९३ मत पाइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले १३ हजार ७९८, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १९, राष्ट्रिय प्रजातन्त्र पार्टीका लीला बुढाथोकीले १ हजार ४३९, हाम्रो नेपाल पार्टीकी गंगा चौधरी सत्गौंवाले १ हजार ९३ मत पाए ।
प्रदेशसभामा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित थारु १ (क) र नेपाली कांग्रेसका अनुराग खड्का दाङको १ (ख) मा उम्मेदवार बन्दै निर्वाचित भए । माओवादी उम्मेदवार थारू १३ हजार ४१९ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार गंगाराम भट्टराईले ११ हजार ७८० मतका थिए ।
कांग्रेसका खड्काले १६ हजार २२२ मत प्राप्त गरी विजयी हुँदा एमाले उम्मेदवार कुलबहादुर केसीले १३ हजार १७० मत पाए ।
अब २०७९ को निर्वाचनमा समानुपातिक मत
एमाले : १७,९६९
कांग्रेस : १५,०६७
तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) : ११,४५२
राष्ट्रिय स्वतन्त्र पार्टी : ११,४१०
नागरिक उन्मुक्ति पार्टी : ७,१७९
तत्कालीन एकीकृत समाजवादी : ३,२१८
राष्ट्रिय प्रजातन्त्र पार्टी : १,७९८
राष्ट्रिय जनमोर्चा : १,६१४
मतदाता संख्या
निर्वाचन आयोगको तथ्यांक अनुसार २०७९ मा मतदाता १ लाख ३३ हजार ७३४ जना थिए । निर्वाचनमा ७३ हजार १४७ मत सदर भएको पनि आयोगको तथ्यांकमा उल्लेख छ । अहिले २०७९ को निर्वाचनमा भन्दा ५ हजार २६८ मतदाता थपिएका आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
के भन्छन् विश्लेषक ?
‘दाङ देउखुरी स्वर्णिम इतिहास’ पुस्तकका लेखक राजनीतिक विश्लेषक सुदीप गौतमले थारु समुदायको बाहुल्यता भएको यो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवारबिच प्रतिस्पर्धा हुने बताउँछन् । नेकपाका उम्मेदवार मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी परेकाले उनको भन्दा अन्य ३ उम्मेदवारबिच प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
‘यो क्षेत्र २०४८ सालदेखिका निर्वाचनमा पाएको मत र संगठन हेर्दा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा भइरहेको देखिन्छ । थारु समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीको मत पनि राम्रो छ,’ गौतमले रातोपाटीसँग भने, ’गौतमले रातोपाटीसँग भने, ‘संगठनका हिसाबले कांग्रेस र एमाले प्रतिस्पर्धी हुन् । नेकपाका उम्मेदवारले यसभन्दा अघिल्ला दुई निर्वाचन जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि निर्वाचनमा राम्रो मत आएको छ । यसले चार दलबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेकपाको बागी भएकाले तीन दलबिचको प्रतिस्पर्धा चर्को हुन सक्छ ।’
स्वतन्त्र उम्मेदवार केसीले नेकपाबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका हुन् । पूर्वमुख्यमन्त्री केसीले मत काट्दा मेटमणिलाई अप्ठ्यारो पर्न सक्ने गौतम बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण