मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बूढासुब्बा गोल्डकप : रोयल थिम्पु र झापा–११ बिच प्रतिस्पर्धा

शुक्रबार, २३ माघ २०८२, १३ : ५७
शुक्रबार, २३ माघ २०८२

धरान । सुनसरीको धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज दिउँसो ३ः०० बजेदेखि रोयल थिम्पु क्लब (भुटान) र झापा–११ झापाबिच प्रतिस्पर्धा हुँदैछ ।

धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले जर्जियन फुटबल क्लब (भारत) लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा १० टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । उनका अनुसार प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई जनही रु १० हजार प्रदान गरिने छ ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

धरान फुटबल क्लबले २०५५ सालदेखि आयोजना गर्दै आएको उक्त प्रतियोगिता माघ २२ देखि सुरु भई आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । गत वर्षको प्रतियोगिताको उपाधि एनआरटी क्लब काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ उपविजेता बनेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप