बोयर
सारांश
- लेखकको बोयर बोका हराएपछि गाउँले र प्रहरीले बाघको आशंका गरे।
- गाउँलेले मङ्गले नामका व्यक्तिको घर घेरा हाले, तर उनले बोका मसानलाई चढाएको खुलासा गरे।
- अन्ततः, लेखकले आफ्नो बोका फेला पारे र मङ्गलेको सहयोगले मसानको प्रकोपबाट बचाउन सफल भए।
मन यसैयसै फुरुङ्ग छ । यति खुसी छु, भनिसाध्य छैन ।
रात ढल्किसक्यो, निद्रा परेको होइन । भोलि सपनाको गोरेटोमा एक पाइला माथि चढ्ने दिन ! सम्झिएरै काउकुती लागिरहेछ । १० जनाले त नाम नै टिपाएका छन् । हल्लाको भरमा कसो दुई–चार जना नथपिएलान् ? यसो लाटो हिसाब गर्दा एक दर्जन पाठी ! अनि मेरो झिल्के राजा एक्लो ! साइतको दिन जुराउन जाँदा पण्डित बाजे झन्डै बेहोस भएनन् !
“बोकोको पाठी चढ्ने दिन जुराउनु रे ? के भन्छ यो रेशम ? खुस्केछ कि के हो ? दिमागका नटबोल्ट चेक गर तो ?” हाँस्दा भुँडी नै फुट्ला जसरी हाँसेका थिए, नयाँघरे पण्डित ।
“मेरो लागि त आफ्नै सुहागरातभन्दा नि ठूलो दिन हो क्या बाजे । यस्तै पर्यो भने दिनकै पाँच हजार कमाउँच, यस्ले । अहिलेसम्म तो तीन–चार लाख यस्मै लगानी छ ।”
शान्त भएर पण्डितलाई सम्झाएपछि उनको बेसुरको हाँसो बीचमै अडियो । घाँटी खसखस गर्यो । एक गिलास चिसो पानी पिए । भरखर अड्किएको हाँसोलाई घुटुक्क निले । नाक र निधार खुम्च्याउँदै पण्डितले बडो गाह्रोसँग पात्रो पल्टाए । पात्रोमा कुन शीर्षकमा साइत जुराउने ? सायद पण्डित बाजे आफंै स्पष्ट थिएनन् ।
“बिहेको लगन, शुभकार्यको थालनी यस्तै कुनै शीर्षकमा खोज्नू न, पण्डित ।” उनको अप्ठ्यारोलाई बुझेर मैले भनें ।
एक–दुई मिनेट जति पात्रोका पाना पल्टाउने, आंैला भाँच्ने र घोरिने गरेपछि पण्डितले टाउको उठाएर मतिर पुलुक्क हेरे । र भने, “लौ उसो भए भोलिको बिहानै आठ बजे शुभ साइत ।”
अनि पण्डित फिस्स हाँसे । उनको हाँसोले मेरो शरीरमा गजबको तरंग प्रवाह भयो । मन र शरीर फूल झैँ हलौं भयो । पण्डितलाई दक्षिणास्वरूप एक हजार टक्र्याएँ । अनि खुट्टा उचाल्दै गाउँ चहार्न निस्किएँ ।
मेरो घरमा बोयर बोका छ । गाउँमा हल्ला त चलिसकेको थियो । तर बोका कहिले तयार हुन्छ, धेरैलाई थाहा थिएन । पोहोर साल साउदीबाट फर्किएपछि फेरि त्यही दुःखको सागरमा फर्कन मनले मानेन । साथमा भएको पाँच लाख पैसाले केही गरेर गाउँमै बस्छु भन्ने प्रण गरें ।
कुनै यस्तो व्यवसाय, जसले आफूसँगै गाउँलेको पनि भलो गरोस् । म यस्तै व्यवसायको खोजीमा लागें । युट्युबमा थरीथरीका भिडियो हेरेँ । नेपाल परिभ्रमणमा निस्किएँ । गाउँका ठूलाबडाहरूसँग सुझाव लिएँ । धेरैको एउटै थेगो थियो, ‘नेपालाँ केही हुँदैन । बेकारमा पैसा डुबाउने धन्दा नगर ।’
तर एक–दुई हिम्मतिला साथीभाइ पनि भेटें, जसले मेरो सपनामा विश्वास गरे र सहयोगी हात फैलाए । लामो माथापच्चीपछि उन्नत जातको बोयर बाख्रापालन गर्दै गाउँलेलाई पनि सँगै जोड्दै लैजाने मेरो योजना र मार्गचित्र बन्यो । झापाको हल्दीबारी पुगें । एउटा बोयर पाठो र अर्को क्रस बोयर पाठी किनें । गोजीमा भएको पैसा यतिमै सकियो ।
बोयरका दुई पाठापाठी ल्याएपछि मेरो घरमाँ एक–दुई महिना मेला नै लागेजस्तो भयो । चार लाखका पाठापाठी ! मूल्य सुनेरै गाउँलेले जिब्रो टोक्थे । त्यो बेला खिचेका फोटा र भिडियो भाइरल पनि भए ।
साथीभाइ, इष्टमित्र सबैसँग ऋणधन गरी एक दर्जन लोकल पाठी पनि थपें । बोयरसँग क्रस गरेर उन्नत सन्तान तयार गर्ने र गाउँलेलाई पनि सस्तोमा बाँड्ने मेरो सपना छ । अहिले खोर भरिभराउ छ । बोयर बोका हेर्दै रहरलाग्दो भएको छ ।
सुर्तीका पातजस्ता कान, खरायोको जस्तो निक्खर र मुलायम कपाल, निधार र घाँटीमा खैरो तिल्के रौं, गाजलु आँखा । लौकाजस्तो चिल्लो र सर्लक्क परेको जीउ, झिल्के छ, मोरो । भाले मयूरझैं ढलकढलक गर्दै जीउ लच्काउँदै हिँड्दा हेरिरहूँ बनाउँछ । त्यसैले त्यसको नामै राखिदिएको छु– झिल्के राजा !
मेरो प्यारो झिल्के राजाको कर्म भोलिदेखि सुरु हँुदै छ । दिनभर गाउँ डुलेर हल्ला पिटेको छु । पाठी भएर मात्र भएन, बोका खोजेको समय पनि त मिल्नुपर्यो । तर खुसीको कुरा, हल्ला टाढाटाढासम्म फैलिएको छ । टिकटकमा भिडियो पनि राखेकी छिन्, श्रीमतीले । १० जनाले फोन नै गरेर नामै टिपाइसके । पहिलो दिन, विशेष छुटको घोषणासमेत गरेको छु ।
कतिखेर बिहान होला ? अहँ फिटिक्कै निद्रा परेको छैन । मुटु जोडजोडले उफ्रिरहेछ । कोल्टे फेर्छु । घडी हेर्छु । कति ढिलो बित्छ यो समय पनि !
जेनतेन बिहानको चार बज्यो । तर अझै भाले बासेका छैनन् । पुसको चिसो अनि लामो रात । बाहिर तुसारोको एकछत्र राज छ । ६ नबजी खोर खोल्न मिल्दैन ।
आजकाल गाउँमा बाघको बिगबिगी छ । सम्झिएर मन झसंग हुन्छ । तर मेरो खोर त्यति कमजोर कहाँ छ र ? बहुत दुःख गरेर बनाएको पो छु त !
बाघको डर छिनमै हरायो । झिल्केलाई आज विशेष दाना खुवाउनुपर्ला, अनायासै मेरो मनमा यस्तै सोच पलायो ।
केही नसोची उठ्ने तरखर गरें । उठेर रसेटोमा आगो सल्काएँ अनि लागें, पोसिलो दाना बनाउन । दाना पाकिसक्दा पल्लो घरका भाले दुई पटक कुखुरी काँ गर्दै बासिसके । तर खोरभित्रको झिल्केले कुनै आवाज गरेको छैन । मस्त निद्रामा होला, मैले मनमनै गमें ।
दिनभरलाई पुग्ने दानापानी र हरियो घाँस सबै तयार गरें । घडीले ६ बजाउन केही मिनेट मात्र बाँकी छ । जीउ तन्काउँदै र लामो हाई काढ्दै श्रीमती भरखर उठ्दै छिन् ।
मस्तसँग हावा खेल्ने र घाम लाग्ने पारिलो ठाउँमा जनावर पनि चाँडो फस्टिँदा रहेछन् । त्यसैले मैले बिहानै खोरका बाख्रालाई बाहिर निकाल्छु । ६ बजेपछि भोकले हो कि बानी परेर हो मे... मे... गर्दै हल्ला गर्न थालिहाल्छन् ।
खोरभित्र हल्ला बढेपछि सदाझैं श्रीमतीले खोरको ढोका खोलिन् । सबैलाई दाना तयार गरेर स्वागतका लागि म उभिएँ । पालैपालो बाख्रा ओर्लिए । मुख मिठ्याउँदै आ–आफ्नो भागमा होमिए । सबै ओर्लिएपछि झिल्के राजा अन्तिममा झर्छ । उसले कहिल्यै हतार गर्दैन । म भने उसैको प्रतीक्षामा उसैको विशेष परिकार लिएर बसिरहें ।
तर सदाको समय बितिसक्दा पनि ऊ बाहिर निस्किएन ।
सम्झिएर मेरो मन खङ्ग्रङ्ङ भयो । दौडिँदै गएर खोरभित्र चियाएँ । त्यहाँको अवस्था देखेर मेरो मन र मुटु एकै चोटि तुसारोझैं जम्यो ।
खोर खाली–खाली थियो । कहाँ गयो मेरो झिल्के ? हिजो राति म आफंैले खोरभित्र हुलेको हुँ उसलाई । खोरको चाबी म आफैंले लगाएको हुँ ।
उसलाई वरपर खोजें । डाँको हालेर बोलाएँ । तर ऊ भेटिएन ।
शरीर लगलग काँप्न थाल्यो । रुन्चे अनुहार लिएर श्रीमती पनि मूर्तिझैं स्तब्ध थिइन् । हतास मनोदशामा खोरको एक चक्कर लगाएँ । खोरका दुई खापा तोडिएका थिए । पश्चिमतर्फ रगतका दुई दाग थिए ।
हल्लाखल्ला गरें । त्यसको एकछिनमै गाउँले भेला भए ।
“यो बाघको काम हो ।” धेरैको एउटै शंका थियो ।
“बाघले यसरी मान्छेले जसरी खापा उतारेर कसरी लग्न सक्छ ? यो त सरासर चोरको काम हो ?” मेरो मनले अर्कै शंका गर्यो ।
“पोहोर साल मेरो घरको खसी यसैगरी मर्या हो । सबले बाघले मार्यो भन्या हुन् । के जानम् ? आजकाल बाघले पनि बुद्धि लाउने भएछ क्यारे ? गँठरे झाक्रीले झैं ?” तल्लाघरे कृस्नेले दाँत कोट्याउँदै भन्यो ।
“भैरमलाई भाक्या मेरो कालो बोको खोरबाट लतार्या भुल्यौ कि के हो ? त्यो पनि मेरै अगाडिबाट,” पुछार काइँलीले आफ्नै दुःख कहन थालिन् ।
सबैले आफ्नै दुःख सुनाउन थाले । बाघकै काम भएको र खोर बलियो नबनाएको भन्दै उल्टै मलाई दोषी देखे सबैले । कसैले त गाउँमा बाघ पल्काएको भन्दै आफ्नै पीर पनि गरे ।
“यो बाघको काम हुँदै होइन,” म पागल जसरी एकोहोरो चिच्याइरहें । उसो भए चोर खोजीकन देखाऊ । उल्टै खुच्चिङ भने झैं गरी गाउँले फर्किए ।
एक्कासि हुरी चल्यो । सबै तहसनहस गरी एकक्षणमै हराइगयो । मेरो सपना उडायो । हिँड्ने सानो गोरेटो खनेको थिएँ, त्यो पनि उडाई लग्यो । लाग्यो, भरखर सबथोक लुटिएर म सक्किएको छु । आँगनको डिलमा बसेर डाँको छाडेर रोइरहें ।
“जाबो एउटा बाख्रो मर्दा के खान रोएको होला ? जिन्दगी बाँकी छ, कमाउला नि,” मेरो केटाकेटी रुवाइ देखेर श्रीमतीले सम्झाउन थालिन् ।
दश वर्षकी मेरी छोरी पनि आडमै बसेर भन्न थालिन्, “नरुनू बाबा, हाम्रो झिल्केलाई कसैले लग्या होला, फिर्ता दिन्छन् नि ।”
म भने सुँकसुँक गरी नै रहें । आँखा वरिपरि झिल्के राजा घुमिरहेको थियो । आमाको दूध छुटाएर ल्याएको थिएँ त्यसलाई । मान्छेको बच्चा जसरी काखमै हुर्काएको हँु । अरूका लागि जाबो बाख्रो थियो होला । तर मेरा लागि अर्कै थियो, ऊ, जसको अभावमा मैले रित्तो रित्तो महसुस गर्दै थिएँ । जिन्दगीमा अनेकन हन्डर–ठक्कर खाएँ । कहिले रोइनँ । आज भने आँसुको भेलमा डुब्दै गएँ ।
सोचेको थिएँ– यो वर्ष ऋण तिरेर सक्छु । गाउँका सबैलाई उन्नत बाख्रा पाल्ने बनाउँछु । एउटै बाख्रा एक लाख रुपियाँभन्दा बढीमा सजिलै बिक्छ । अनि मलाई विदेश जानुपर्दैन । गर्न सके यही माटोमै मोती मिल्छ– सबैलाई सिकाउनेछु । बुझाउनेछु । उदाहरण बन्नेछु ।
मेरो अन्तर्मनले भनिरह्यो– यो बाघको काम हुँदै होइन । तर मेरो घरमा को मान्छे चोर लाग्यो ? मेरो नराम्रो सोच्ने को होला ? सम्झिँदा कसैको अनुहार याद आएन । आजसम्म कसैको नराम्रो गरेको छैन । सबको भलो चिताउने मान्छे हँु ।
केही उपाय नलागेपछि पुलिस थानामा उजुरी दिएँ । उनीहरूले पनि त्यति वास्ता गरेनन् । लौरो हल्लाउँदै दुई हवल्दार आए । यसो खोर हेरे जस्तो गरे । रगतका दागको फोटो खिचे ।
“बाघकै काम हो ।” उनीहरूको सतही अनुसन्धानले पनि उस्तै निष्कर्ष निकाल्यो ।
...
ऋण दिएका आफन्तको फोन बज्न थाल्यो । दुई जनाले त खोरका बाख्रा उठाएर ऋण फच्चे गरे । ऋण हो तिर्नुपथ्र्यो । ढिलोचाँडो तिर्थें पनि । तर मेरो अवस्था देखेर उनीहरूले मलाई भागेर जाला भन्ने सोचे होलान् ।
दुई दिनपछि काफलपाटा रमेश र ठूलाघरे विमल भेट्न आए । मेरा मित्र हुन्, उनीहरू । खाडीमा सँगै दुई वर्ष पसिना बगाएका थियौं । मेरै पाइला पछ्याउदै रमेशले कुखुरा फार्म खोलेको छ । अनि विमलले भैंसी फार्म । लाग्यो, मेरा दुःख बुझ्ने कोही त रहेछन् । उनीहरूलाई देखेरै मेरो आधा दुःख कम भएको महसुस भयो । रमेशले एउटा कहानी सुनायो, जुन कहानी सानो छँदा हजुरआमाले पनि सुनाउनुभएको थियो–
गँठरे झाँक्री भनेर नचिन्ने कोही थिएनन् । ऊ टाढाटाढासम्म प्रख्यात थियो । तन्त्रमन्त्रमा एकदम सिपालु । बोक्सी, मसान, पिशाचको सातो खान्थ्यो । रिस उठ्यो भने मन्त्रको वाण हानेरै मान्छे पुर्लुक्क ढाल्थ्यो ।
यही डरकै कारण ऊसँग पङ्गा लिने, जोरी खोज्ने हिम्मत कसैको थिएन । गाउँमा कोही बिरामी परे, मसान मन्साउन परे ऊभन्दा भरपर्दो र सिपालु कोही थिएनन् ।
“गँठरेकी बूढीले बच्चा पाई...!” खबर खरबारीको आगो जसरी एक निमेषमै टाढा–टाढा फैलिन्थ्यो । गाउँलेको मुटु डरले काँप्थ्यो । यसपालि कसको पालो ? मेरै बोको हराउने त होइन ? सबैको मनमा एउटै डर हुन्थ्यो । गाउँमा हल्ला थियो– गँठरे झाँक्रीसँग यस्तो खतरनाक तन्त्रमन्त्रको ज्ञान छ, जसले मान्छेको भेष नै बदल्न सक्छ ।
गँठरे झाँक्रीकी श्रीमती बर्सेनि सुत्केरी हुन्थी ।
“गँठरेकी बूढीले बच्चा पाई...!” खबर खरबारीको आगो जसरी एक निमेषमै टाढा–टाढा फैलिन्थ्यो । गाउँलेको मुटु डरले काँप्थ्यो । यसपालि कसको पालो ? मेरै बोको हराउने त होइन ? सबैको मनमा एउटै डर हुन्थ्यो । गाउँमा हल्ला थियो– गँठरे झाँक्रीसँग यस्तो खतरनाक तन्त्रमन्त्रको ज्ञान छ, जसले मान्छेको भेष नै बदल्न सक्छ ।
जब गँठरेकी श्रीमती सुत्केरी हुन्छे, मन्त्र पढ्छ र गँठरे बाघ हुन्छ । अनि गाउँका बाख्रा चोर्न निस्किन्छ । बाख्रा लिएर आएपछि मन्तरेको अक्षताले गठँरेकी बूढीले बाघलाई हिर्काउँछे अनि ऊ फेरि मान्छे हुन्छ ।
यही कहानीलाई गाउँलेले सत्य स्विकारेका थिए । गँठरेसँग प्रश्न गर्ने र उसको प्रतिकार गर्ने हिम्मत कसैसँग थिएन । वाण हानेर मारिदिने हो कि ? मन्त्र गरेर आफूहरूलाई नै कीरा–फट्यांग्रा बनाइदिने हो कि ? सबैमा यस्तै डर थियो ।
एकदिन गँठरे झाँक्री एक्कासि गायब भयो । त्यो समय पनि उसकी श्रीमती सुत्केरी थिई । निकै समय बित्यो उसको कतै अत्तोपत्तो मिलेन । बाघ भएर निस्किएथ्यो रे । सालको पातमाथि अक्षता थियो रे । मन्तरेको अक्षता कुखुराले खाइदिएछ । बाघको वेशमा भएको गँठरे फर्केर आउँदा श्रीमती अक्षता खोज्दै रैछे, अक्षता भेटिने कुरै भएन । त्यस दिनदेखि ऊ बाघको वेशमा जङ्गलमा बस्छ । सायद अहिले बूढो भएर मरिसक्यो पनि होला ।
गँठरे झाँक्रीको यो कहानी हामी सबैले सुनेका हौं । मेरो उमेरका सबैलाई यो कथा खुब मन पथ्र्यो । धेरैले सत्य कथा हो भन्थे । तर मलाई दन्त्यकथा जस्तो लाग्थ्यो ।
आज रमेशले मलाई किन यो कथा सम्झाएको होला ? उसको कथाले मेरो खोपडीभित्रको गिदी तिरिमिरी भयो ।
“तर अहिले तिमीले मलाई यो कहानी किन सुनाएको रमेश ?” मैले जिज्ञासापूर्ण आवाजमा सोधें ।
“यो कहानी र तिम्रो बाख्रा हराउनुमा कुनै सम्बध देख्दैनौ, रेशम ?” रमेशले उल्टै प्रतिप्रश्न गर्यो । म अक्क न बक्क भएँ । विमल सबै कुरा छर्लङ्ङ बुझे जस्तो फुरुङ्ङ देखियो ।
“यो उहिलेको कुरा । मेरो झिल्के हराएको अस्तिको कुरा । मैले कुरोको सिङ न पुच्छर, केही बुझिन यार,” निराशभावमा म बोलें ।
“गँठरे झाँक्रीको नाति मङ्गलेलाई चिन्छौ ?” विमलले सोध्यो ।
“त्यो पनि धामीझाँक्रीको काम गर्छ रे, होइन ?” मलाई उसको विषयमा यहाँभन्दा धेरै थाहा थिएन ।
“त्यही तो...,” रमेश हौसिँदै बोल्यो ।
“अनि...,” मैले लामो सास तान्दै सोधें ।
“मैले पनि हजुरबाले जत्तिकै तन्त्रमन्त्र जान्या छु । मेरो नि वाण हान्ने तागत छ । गाउँमा कसैका बाख्रा हराए खोज्न नहिँड्नू ।” तीन दिनअघि त हो सुब्दार्नीको भट्टीमा मङ्गलेले गफ लगाएको ।
“आजकाल खुब तन्त्रमन्त्रको स्वाङ झार्दै हिँड्छ । टिकटकमा भाइरल पनि छ त्यो बजिया । त्यसकी बूढी पनि सुत्केरी छे रे । म सोह्रै आना ढुक्क छु, यो मङ्गलेकै काम हो,” रमेशले छाती फुलाउँदै नयाँ रहस्यको पायो खोल्यो ।
रमेशका कुरामा समर्थन गर्दै विमलले एउटा खुट्टा उठाएर ताली पिट्यो । मुख बाउँदै लाटोकोसेरोका जस्ता आँखाले मलाई हेर्दै थियो ऊ । म भने अझै पनि विश्वस्त हुन सकिनँ ।
“यस्तो त होइन होला ? एक त मन्त्रले मान्छे बाघ हुने कुरा हावादारी हो । अनि अन्धविश्वास पनि । अर्को झाँक्रीकै काम भए–नभएका गफ लडाउने हो । मङ्गलेले चोरेरै लगेको भए अर्को कुरा ।” मङ्गले बाघ बनेर मेरो झिल्के खायो भन्नेमा म सहमत हुन सकिनँ ।
“बाघैको भेषघारण गर्यो भन्या होइन के । चोरका रूपमा आयो भन्या हुम् । नपत्याए अहिले त्यसका घराँ जाम् हिँड् ।” रमेशले कुरो घुमायो ।
दुवैले मङ्गलेले बाख्रा चोरेको आफ्नै आँखाले देखे जत्तिकै दावा गर्न छाडेनन् । मलाई पनि हो कि जस्तो लाग्दै गयो । बाघले खाएको त पक्कै होइन, म ढुक्क थिएँ । उसो भए के यो मगंलेको कर्तुत त होइन ? तँलाई पख्, पापी । मेरो मनमा उसप्रति एकाएक तुष पस्यो ।
“आज राति त्यसको घर घेरा हालम्,” तत्काल विमलले योजना सुनायो । म सहमत भइहालें ।
साँझ छिप्पिइसकेपछि हामी मङ्गलेको घरको बाटो लाग्यौं । जे पनि आइपर्न सक्छ भन्ठानेर रमेशले सिरुपाते खुकुरी भिरेको थियो । चार्जवाला टर्चलाइट, एउटा सलाई, फुल चार्ज भएको भिडियो खिच्न सक्ने मोबाइल– हामीसँग सब बन्दोबस्तका सामान थिए ।
खुर्पे चन्द्रमा पूर्वी आकाशमा चाँदीझैं चम्किलो देखिन्थ्यो । आकाशका तारा हीराझैं झिलिक–झिलिक चम्किरहेथे । झ्याँउकिरी र भ्यागुताको एकल सङ्गीतले साँझ भरखर सुरु भएको सङ्केत दिन्थे । हामी टर्चलाइटको उज्यालो पछ्याउँदै चुपचाप ढुङ्गाखानीको ठाडो उकालो चढदै थियौं ।
कुनै बेला दसंै मेलामा हामी यसैगरी हिँड्थ्यौँ । जुनसुकै बेला ग्याङफाइट हुन सक्थ्यो । आज धेरै पछि उस्तै रूप तर फरक उद्देश्यका साथ तयार भएका थियौं, हामी ।
खुर्पे चन्द्रमा पूर्वी आकाशमा चाँदी झैं चम्किलो देखिन्थ्यो । आकाशका तारा हीरा झैं झिलिक–झिलिक चम्किरहेथे । झ्याँउकिरी र भ्यागुताको एकल सङ्गीतले साँझ भरखर सुरु भएको सङ्केत दिन्थे । हामी टर्चलाइटको उज्यालो पछ्याउँदै चुपचाप ढुङ्गाखानीको ठाडो उकालो चढदै थियौं ।
“अरूले प्रगति गरेको देखिनसहने । आरिसे । खुट्टा तान्ने । हामी नेपालीको बानी कहिले जाला है ?” उकालोको कुइनेटोमा सुस्ताउँदै विमलले दुखेसो पोख्यो ।
“त्यही भएर तो देश पिछा पर्यो नि । राम्रो गर्नेलाई शत्रु लागिहाल्दा रैछन् । मेरा कुखुरा फार्ममा पानी ल्याउँदा कम्ता दुःख देका होइनन् । नेताका झोलेलाई अनुदान, हामी जस्तालाई परिसान, हैरानी ।” विमलका कुरामा सही थप्दै रमेशले पनि आफ्नो मनको बह पोख्यो ।
“यी सबै संस्कारका कुरा हुन् के । हामुर्ले सिकाम् सबैलाई । हातेमालो गर्यो भने सबैको भलो हुन्च भनेर,” मैले आशाका कुरा गरें ।
भित्री मन भने त्यति खुसी थिएन । अस्ति भरखर कुखुरा फार्ममा छिमेकीले आगो लगाएका, बोधिवृक्षलाई फेदैदेखि काटिदिएका अनि जेन–जी आन्दोलनमा आफ्नै सम्पत्ति जलाउँदै खरानीको अबिरले खुसी मनाउँदै हिँडेका नेपालीका अनुहार आँखा वरिपरि घुमिरहे ।
“हामीहरू कहिले सुध्रिने ?” एउटा अनुत्तरित प्रश्नले माथिंगल चक्कर लगाउँदै थियो । आफ्नै बानी, व्यवहार र प्रवृत्तिका कुरा गरेर हामीले करिब एक घण्टाको उकालो कटायौं ।
जङ्गलको एकान्तमा रहेको मङ्गलेको घर पुग्दा चकमन्न अँध्यारो भइसकेको थियो । म र विमल आँगनको डिल हुँदै मझेरीनिरको झ्यालको छेउमा छेलियौं । रमेश दलानको मूलढोकानिर चियो गरेर बस्यो ।
पहिले मङ्गलेको घरभित्र जासुस गर्ने, त्यसपछि मात्र गोठ र खोरमा छापा हान्ने ।
हामीहरूले पहिल्यै योजना बनाएका थियौं । त्यो एकलासको घर अँध्यारोमा आफैं कतै हराए जस्तो लाग्थ्यो । आफूले फेरेको सास पनि अरूले सुन्ला जस्तो गरी सन्नाटा छाएको थियो । धन्न मङ्गलेको घरमा कुकुर रहेनछ, नत्र त बित्यासै पर्ने रहेछ नि ।
आफ्नै सासलाई बडो मुस्किलले नियन्त्रण गर्दै कानलाई मङ्गलेको घरभित्र केन्द्रित गराएँ । बाहिर एकनास झ्याँउकिरीको गुनगुन व्याप्त थियो । हिमालको चिसो बोकेको पुसको सिरेटो मुटु नै जमाउला जसरी बजारिन आइपुग्थ्यो । टाढाटाढा कताकति कुकुर भुकेको आवाजले पनि सतर्क हुन्थ्यौं हामी । घरभित्र के भइरहेछ ? हाम्रा जासुसी इन्द्रिय होसियार थिए ।
केही क्षणको घनघोर नीरवता चिर्दै घरभित्र मङ्गले र उसकी श्रीमतीको खासखुस सुनियो । उनीहरूको कुरा सुन्ने हेतुले म थप चनाखो भएँ । घरभित्रबाट भाँडा बजेको आवाज आयो । ठीक समयमा आइपुगेकामा म भने यत्तिकै मक्खिएँ ।
“लौ खा, मासु,” मङ्गलेको स्वर थियो त्यो । पक्कै मेरो झिल्केको मासु होला । मेरो एकमनले सोचिहाल्यो । मासु शब्द सुन्नासाथ मेरो मन स्थिर रहेन ।
“कँहाबाटी ल्यायौ ?” मङ्गलेकी श्रीमतीले प्रश्न गरी । ठ्याक्कै मेरै मनको प्रश्न जसरी । मङ्गलेको उत्तर सुन्न आतुर भएँ म । मेरो बेचैनी एक्कासि सगरमाथा चढ्यो ।
“गँठरे झाँक्रीको नाति हुम् । जसरी ल्याए नि ल्याएँ । बाघै बनेर ल्याएँ । बुझिस् ? कति खान्छेस्, थपिदिऊँ ? सुत्केरीलाई दिनकै मासु पुर्याउने हाम्रो झाँक्रीका चलन हो ।” अट्टहाससाथ मङ्गलेले भन्यो ।
अब भने म विश्वस्त भएँ, मेरो झिल्के राजा उनीहरूको अगेनोमा पाकिसकेको छ । मेरो शरीर भुंग्रो झैं तातो भयो । आफ्नै रगत उम्लिएर पोखिएला जस्तो भयो । छाती फोरेर बाहिर निस्किएला जसरी मुटु बत्तिन सुरु गर्यो । आँखा वरिपरि नीलोकालो देख्न थालें । भरखर सिरुपाते खुकुरी नचाउँदै धावा बोलूँ झैं रिस उठ्यो । तर हिम्मत गर्न सकिनँ ।
“नभाको गफ किन लगाउँछौ, ए बूढा ? भित्ताका नि कान हुन्छ भन्छन् । एक किलो च्वाँचेको मासु ल्याएर सिंगो खसीको गफ लगाउँदै नहिँड तो । गाउँका कसैका बाख्रा हराए तिम्लाई समाउलान् नि,” मङ्गलेकी श्रीमतीले बाहिर हामी आएको थाहा पाए जसरी कुरा गरी । उसका कुराले मेरो शरीरको तातो हल्का कम भयो ।
“के भो त... यसै पनि गाम्का मान्छे अझै हामीसँग डराउँदा छन् क्यारे । हजुरबा जस्तो बाघै हुन नसके पनि नक्कली बाघ हुम् कि जस्तो लाग्छ हौ, बूढी ? के छ तेरो विचार ?” मङ्गलेले मजाक गर्यो ।
भरखरसम्म ऊप्रति दन्किएको रिसको आगो एक्कासि चिसो भएर निभ्यो । आकाशतर्फ हेरें । खुर्पे चन्द्रमालाई एक टुक्रा बादलले छेकेको थियो । तारा पनि अघि जस्ता चम्किला थिएनन् । पारि गाउँको मेरो घरमा धिपधिप बलिरहेको बत्ती प्रस्टै देखियो । सायद श्रीमती र छोरी मेरै प्रतीक्षामा थिए ।
“बन्यौ बाघ ? यस्ता पाजी नक्कली झाँक्री । तिम्रा हजुरबा तो बाघको नक्कली छाला ओढेर बाख्रा चोर्न हिँड्थे रे । एक पटक चोरी गर्न हिँड्दा उल्टै उनलाई सक्कली बाघले सिकार बनायो रे । खुद तिम्रै बाले मलाई भन्या हुन्,” मङ्गलेकी श्रीमतीले ठाडो स्वरमा भनी ।
भित्र बूढाबूढीको झगडा सुरु हुन आँटेको थियो । ठीक त्यही बेला विमलको गोजीको मोबाइल कानै खाने गरी बज्यो । मेरै टाउकोमाथिबाट बिरालोले फुत्त जम्प हान्यो । म तर्सिएँ । सानोतिनो हल्ला नै भएछ । को हो ? ...को हो ? ...भन्दै मङ्गलेले बाहिरको बत्ती बाल्यो । र आफू पनि बाहिर निस्कियो ।
“ए ! सन्चै छस्, मङ्गले ? हेर् न मेरी बूढी बिरामी छे । ढ्यांग्रो पिट्न हिँड्छस् कि भनेर तँलाई लिन आएका हामी ।” रमेशले बहाना बनायो । तर मलाई झुट बोल्न ठीक लागेन ।
आफ्नो झिल्के राजा खोरबाटै चोरी भएको सत्य उसलाई बताएँ । “ए लौ !... त्यो बोयर बोका तिम्रो पो हो ?” मङ्गलेले रहस्यमयी हाँसो हास्यो ।
“अँ मेरो त हो बोयर बोको । शरीर निक्खर सेतो थ्यो । मेरो झिल्के राजा कहाँ छ ? तिम्ले केही चाल पायौ र ?” म यति उत्साहित भएँ कि, हाँडीमा मकैका फुला उठे झैं म एकनासै पड्किन थालें ।
“निधाराँ तिल्के–खैरो रौं थ्यो कि नै ?” मङ्गलेले प्रश्न गर्यो ।
“अँ थ्यो तो... । तारा झैं देखिन्थ्यो । यो भेगाँ मेरै हो के पहिलो बोयर । शंकै मान्नुपर्दैन,” उसको कानमै गएर म बोलें ।
“भाग्यमानी रैछ, मोरो,” मङ्गलेले कुरा चपाएर बोल्यो ।
“के भयो ? मलाई धेरै नतड्पाऊ तो । मेरै प्राण रोकिन बेर छैन,” मलाई असह्य भयो । यति हतार जिन्दगीमा मलाई कहिल्यै भएको थिएन ।
“सिमलचौर धर्मेकी जहान थला परेकी थी । रगतै वाक्ने, छेर्ने । उँदैउँभो भाकी थी । मेरा शरण पर्न आथ्यो बिचरो । मुर्कुट्टा मसान लाग्या रैछ । मैले पत्ता लगाइहालें नि । निक्खर सेतो बोको भोग दिए निको हुन्थी त्यसकी जहान,” मङ्गले बोल्दाबोल्दै यतिमै रोकियो ।
“अनि हाम्रो झिल्केको के भयो त ?” रमेश, विमल र मैले एउटै स्वरमा सोध्यौं ।
“बोको खोजेर ल्याऊ भन्देको थें । तीन दिनपछि बडा मुस्किलले भेटेर ल्याएँ भन्दै त्यै तिम्रै बोयर बोको ल्याएथ्यो । काट्न भनेर हतियार जो उजाएको थें । निधाराँ तिल्के खैरो रौं देखँे । यस्तो जुठो परेको बोको त मसानले भोग लिन्न भनिदिएँ । तिम्रो बोको बचो । त्यसकी जहान मरी ।”
मङ्गलेले एक्कासि अट्टहास गर्यो ।
“छिटो जाओ चोरेको माल दम्पच पार्ला ।” उसले हामीलाई हाँसो रोकेर सतर्क गरायो । हतार–हतार ओरालो लाग्यौं, हामी ।
भगवान् ! मेरो झिल्केलाई केही नहोस्, मैले बाटोभरि प्राथना गरिरहें ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण