'किताब मेरो लागि संसार चिहाउने अर्काे आँखा हो'
सारांश
- बाल रोग विशेषज्ञ श्रीधर खनालको साहित्यिक यात्राबारे कुराकानी प्रस्तुत गरिएको छ।
- उनको उपन्यास 'सावर्णी' ले राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो।
- लेखक र चिकित्सकको जीवनशैली, कृति र पुस्तकको महत्त्वबारेमा छलफल गरिएको छ।
पेसाले बाल रोग विशेषज्ञ हुन् श्रीधर खनाल । कथा र उपन्यास लेख्न रुचाउने उनी पहिलो पटक ‘सेभेन ब्लु बल्स’ (२०११) उपन्यासको साथमा पाठकमाझ आएका थिए । उनको ‘जीपीटी २०००’ कथा बाह्रखरी कथा प्रतियोगिता २०८० मा शीर्ष २५ मा परेको थियो ।
खनालले पछि सोही कथालाई ‘सावर्णी’ उपन्यासमा ढाले । उनको यो उपन्यासले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कैयौं पुरस्कार प्राप्त गरेको थियो । उनै खनालसँग रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी ।
तपाईं बच्चाको डाक्टर । तर स्टेथेस्कोप र प्रेस्क्रिप्सनबिच पनि साहित्यको संसारमा डुल्न भ्याइरहनुभएको छ । ‘सावर्णी’भन्दा पहिला नै एउटा उपन्यास र खन्डकाव्य लेखिसक्नुभएको रहेछ । लेखनको संसारमा कसरी आइपुग्नुभयो ?
–ट्रान्जिसनभन्दा पनि यो मेरो सानोदेखिको रहर हो । १२–१३ वर्षको उमेरदेखि नै साहित्यमा रुचि जाग्यो । कहिलेकाहीँ कविता, कथा लेखिराख्ने गर्थेँ । ९/१० कक्षामा पढ्दाखेरि ममी बुवासँग केही समय टाढिएर बस्नुपर्ने बाध्यता आइपर्यो । त्यो बेला मैले आफूलाई यति एक्लो, बेसाहारा र टुहुरो महसुस गरे कि यी भावलाई पानामा ‘टुहुरो’को रूपमा उतारे । यो एउटा खण्डकाव्य थियो । तर यो प्रकाशित हुन पाएन । मसँग लामो समय यसको पाण्डुलिपी थियो । तर पछि हरायो । विद्यालय तहमा कविता प्रतियोगितामा प्रथम पनि भए ।
त्यतिबेला एफएमहरूमा साहित्यिक कार्यक्रम टन्नै आउँथे । कविता प्रतियोगिता हुन्थे । मुक्तक, कथा गितीकथा पनि वाचन हुन्थे । ती सबै सुन्दै गर्दा साहित्यप्रतिको लगाव बनिरह्यो । पढाइमा त म राम्रै थिए । तर सामाजिक पृष्ठभूमि यस्तो थियो कि राम्रो अंक ल्याएर पास भएपछि साइन्स पढ्नुपर्छ, डाक्टर वा इन्जिनियर नै पढ्नुपर्छ भन्ने थियो । साहित्यिमा केही गरौं भन्ने त सोच नै बनेन । फेरि भित्रैदेखि म डाक्टर नै हुन्छु वा यो नै हुन्छु भन्ने पनि थिएन । पढाइ राम्रो भएकोले साइन्स पढेँ । त्यसपछि डाक्टर पढ्न थालियो । तर मन भित्रको साहित्यिक लगाव छुटेन । एमबीबीएस पढिरहँदा पनि नाम चलेका र बजारमा भर्खरै आएका लगभग हरेक कृति ल्याएर पढ्थे । मभित्रको चिकित्सक र साहित्यकार ‘प्यारालल्ली’ हिँडिरह्यो । अचानक म यो किताबको, अझ भनौं लेखनको संसारमा आइपुगेको होइन ।

लेखक हुनु र चिकित्सक हुनुमा भिन्नता के रहेछ वा समानता ?
–गहिरोसँग सोच्दाखेरि मलाई त्यस्तो खासै केही लाग्दैन । लगभग प्रत्येक मानिसभित्र केही न केही साहित्यिक चेत, साहित्यिक प्रवाह त बगिरहेको हुन्छ । संगीत मन नपर्ने मान्छे कहाँ पाइएला र यो धर्तीमा ? संगीत मन पर्ने मान्छे पाइलट, डाक्टर, वकिल जे पनि त हुन सक्यो नि होइन र ? स्वभावतः पनि मान्छे भावनामा नबहने, उसलाई भावनाले नछुने वा अरुको दुःखले नपिर्ने भन्ने हुन्न । सुख दुःख साटासाट हुनु पनि एक प्रकारको कनेक्सन हो । कोही मान्छे अलिकति बढी भावुक हुन्छन् । साहित्यकार हुनलाई अलिक बढी भावुक हुनुपर्छ । त्यही भावुकताले छोएर म साहित्यकार भए कि ?
तर चिकित्सक हुनु पनि आफैमा अरूको दुःख सँगै भइराख्नु हो । अरुको दुःखलाई कम गर्ने पेसा भएको कारणले पनि मलाई चाहिँ यी दुईमा खासै फरक लाग्दैन । जब म बिरामी हेरिराख्छु, त्यो बिरामीको रोगसँगै उसको गाह्रो–साह्रो, उसको आर्थिक–सामाजिक पृष्ठभूमि, उसको कथाबारे पनि म सोच्छु । डाक्टर हुँदाखेरि म छुट्टै पर्सनालिटी र अनि कथा लेख्ने बेला छुट्टै हुन्न । मेरा दुवै व्यक्तित्व यसमा मिसिएर आउँछन् ।
एआई र रोबोटिक्समा आधारित उपन्यास लेख्नुभयो । नेपालमा त्यस्तो खालको पहिलो प्रयोग भनियो । यसले धेरै चर्चा र पुरस्कारहरू पनि पायो । त्यस्तो खालको उपन्यास लेख्ने सोचचाहिँ कहाँबाट आयो ?
–सावर्णीभन्दा अगाडि मेरो अर्काे उपन्यास पनि बजारमा आइसकेको थियो । लगभग १० वर्ष अगाडि ‘सेभेन ब्लु बल’ । यसमा राजनीति प्रधान भएर आएको छ । सशस्त्र द्वन्द्वमा आफ्नो आमासँग बिछोडिएको बालक आमा खोज्न काठमाडौं आउँछ । यस क्रममा सडक बालकको जीवन बिताउँछ । त्यसपछि जब म बालरोग विशेषज्ञ भएँ, मसम्म डिजिटल युगको समस्याहरू आउन थाले । बच्चामा डिजिटल अटिजम, आमाबाउ वा घरमा आउने आफन्तलाई मतलब नगर्ने, रातभरि मोबाइलमा गेम खेल्दै बस्ने आदि इत्यादि । यस्ता बच्चा भविष्यमा कस्तो बन्लान् ? हाम्रो भविष्य के होला भन्ने कुराले मेरो दिमागमा हिर्काइराख्यो ।
त्यसपछि मैले हाम्रो भविष्य कता जाला भनेर खोज्न थाले । त्यसअघिसम्म मैले एआईबारे खासै केही सुनेको थिइन् । यसबारे खोजबिन गर्न थालेँ । लेखहरू पढे । यो कथा नयाँ पनि हुने र चेतावनी पनि हुने जस्तो लागेर लेखे । प्रविधिमा हामी निर्भर भयौं भने हाम्रो अवस्था कस्तोसम्म बन्ला भन्ने यो चेतावनी हो । अहिले त बाउआमाले छोराछोरीलाई के खुवाउने भनेर डिजिटल मिडियामा हेरेर निर्णय गर्न थालेका छन् । यस्तो स्थिति बढ्दै जाँदा भोली त्यो दिन पनि आउन सक्छ नि । यस्ता धेरै वटा सिनारियोलाई गाँस्दै जाँदा सानो कथा लेखेपछि त्यसलाई उपन्यास बनाएँ ।
_5bQ0dfhWYw.jpg)
आजभोलि चैँ के गर्दै हुनुहुन्छ ?
–यतिबेला मेरो दुई–तीन वटा सोच छन् । एउटा त बाल उपन्यास हो । यो लगभग तयार भइसकेको । अर्काे चाहिँ घरेलु हिंसा, महिला हिंसासँग रहेर एउटा चाहिँ सीआईबीको अनुसन्धानलाई मियो बनाएर उपन्यास लेखिसकेको छुँ । त्यो सम्पादनको क्रममा छ । अर्को वर्ष बजारमा आउँछ होला ।
यति कुरा गरिसक्दा तपाईंको लागि किताब के हो र यसले तपाईंको जीवनमा के प्रभाव पार्यो भनेर जान्न मन लाग्यो ?
–किताब मेरो लागि संसार चिहाउने अर्काे आँखा हो । यसले कहिले नगएको दुनियाँ देखाउँछ । अन्तरिक्षमा ब्ल्याकहोल पनि थियो भनेर हामीले किताबबाटै थाहा पाएका त हौं । पृथ्वीनारायण शाह थिए भनेर पनि त किताबले नै सिकाएको हो । किताबले मलाई संसार बुझ्ने नयाँ आँखा दियो, दृष्टिको परिधि फराकिलो बनाइदियो । किताब नभएको भए मेरो सोच साँघुरो हुन्थ्यो । म एउटा सानो घेराभित्र बाँचिरहेको हुन्थेँ ।
कुनै किताब पढेर तपाईंको सोच बदलिएको छ ?
–त्यस्तो त छैन खासै हैन । म बदलिएँ भन्दिन । क्रमिक रूपमा केही किताबले मलाई पढ्नका लागि भने झकझकाएका हन् । मुनामदनले मलाई एउटा परिवारको महत्त्व पढायो । ममा साहित्यको रस पसाउने कृति पनि यही हो । शिरिषको फूल, सुम्निमा हरेकले केही न केही दिए । एउटै किताबले मेरो सोचै बदलेन ।
मान्छेलाई किताबको आवश्यकता किन पर्छ ?
–हाम्रो दिमागको संरचनामा न्युरल कनेक्सनहरू हुन्छन् । कुनै चिज पढ्नु वा सिक्नु भनेको मस्तिष्कमा नयाँ न्युरोनको साइन्याप्स बनाउनु हो । यी साइन्याप्स त्यहीँ बेलामा काम लाग्छ भन्ने होइनन् । जीवन भोगाइका क्रममा यो काम लाग्न सक्छन् । हामीले सानोमा साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा भनेर पढ्यौं नि ।
त्यतिबेला हामीले यस्ता कयौं चिज पढ्यौं जुन हामीलाई जीवनमा कहिल्यै काम आउँदैनन् किन पढाएको होला जस्तो लागेको थियो । तर यो दिमागका लागि नौलो कुरा हो । यसले सर्टेन कनेक्शन बनाएका हुन्छन् । तपाईंलाई सल्भ गर्न अति नै कठिन, बारम्बार केरिरहनुपर्ने समस्या गणीतमा किन दिइएको होला ? समाधान नै गर्न अति नै गाह्रो हुने समस्या आउँदा हामीले एकछिन धैर्य गरेर, सोचेर केही समयपछि हिसाब गथ्र्यौ नि, हो त्यसैगरी जीवनमा पनि भइपरि आउने समस्यालाई समाधान गर्ने भनेर सिकाइएको हो । हाम्रो मस्तिष्कलाई अभ्यस्त बनाइएको हो । पढेको मान्छे र नपढेको मान्छेमा के फरक छ भन्ने पनि कुरा पनि यही हो । पढेको मान्छेसँग नपढेको मान्छेको तुलनामा दमागमा एक्सट्रा न्युरोन कनेक्सनहरू सुन्छन् ।
_CrOVvEmsWG.jpg)
हिसाबको समाधान निकाल्ने बेलामा मस्तिष्कमा बनेका कनेक्सनपछि जविनमा धीर भएर समस्याको समाधान निकाल्न काम लाग्छ । समस्याहरू एकैचोटि समाधान हुँदैनन् । बिग्रिन्छन्, केरेर बारम्बार कोसिस गर्नुपर्छ भनेर यसले दिमागलाई सिकाइराखेको हुन्छ । मसँग लिमिटेसनहरू छन् जीवनको । त्यो लिमिटेसनहरू पार गर्ने एउटा उपाय भनेको चाहिँ किताब पढेर हो ।
तपाईंलाई एकदमै झकझकाएको कृति कुनै छ कि ?
–मलाई धेरै पढ्न मन लागेको र पढिराख्ने कृति पर्ल एस बकको ‘गुड अर्थ’ हो । बीपीका जुनसुकै कृति पनि म अहिले पनि दोहोर्याइरहन्छु । लक्ष्मीप्रसादको मुनामदनदेखि लिएर उहाँको अन्य सबै कृतिले मलाई त्यतिकै छोएका छन् ।
आजभोलि कुन किताब पढिरहनुभएको छ ?
–अहिले भर्खर उमा सुवेदीको ‘परिधि’ पढेर सकाएँ । राम्रो लाग्यो मलाई यो कृति । यतिबेला चाहिँ सीमा आभासको ‘महायुग’ पढिरहेको छु ।
प्रभाव पारेको कुनै नेपाली पुस्तक ?
सुरुमा ‘मुना मदन’ नै भन्छु । यसले मभित्र साहित्यिक चेतको बिउ रोप्यो । त्यसपछि मैले ‘शिरिषको फूल’ पढेँ । ‘पागल बस्ती’ले पनि मलाई त्यत्तिकै प्रभाव पारेका छन् । बीपीको ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘मोदी आइन’ ‘हिट्लर र यहुदी’ आदि सबै । यी सबैले मलाई साहित्यको बेग्लै संसारमा लगे । यी किताबको प्रभाव हुन्नथ्यो भने म किताब नै पढ्दैनथे होला । म लेखनको बाटो छाडेर अरू नै कुनै पेसामा रमिरहेको हुन्थे होला ।
अनि विदेशी ?
–म जुन माहोलमा हुर्किएँ, त्यतिबेला पाउलो कोइलोका किताबहरू धेरै पढियो । म त उनैका कृतिलाई सम्झन्छु । ‘वार एण्ड पिस’, मुराकामीका किताब, ‘दि भेजिटेरियन’ आदि । एमबीबीएस पढ्दै गर्दा पछि मुभीतिर क्रेज बस्यो । आर्ट मुभी धेरै हेर्न थालियो । मैले त ‘ग्रेट ग्याट्सबी’ पनि कथा फिल्ममै हेरेँ ।
फिल्मको कुरा निकाल्नुभयो । किताब र फिल्ममध्ये कुन विधा अलि बढी प्रभावकारी लाग्छ ?
–किताब पढ्नुको छुट्टै फाइदा छन् । एउटा मेडिकल स्टुडेन्टको नाताले भन्दा किताबले तपाईंको मस्तियकमा न्युरोनका धेरै कनेक्सन बनाउँछ । किताब पढिरहँदा तपाईं आफैं यसमा आउने दृश्यहरूको निर्देशक, कोरियोग्राफर एक्टर बन्नुहुन्छ । यसले तपाईंको दिमागको प्लास्टिसिटी बढाउन मद्दत गर्छ, तर फिल्मले बनिबनाउ कुरा पस्कन्छ । यसलाई हेरिरहँदा कसैले पनि धेरै दिमाग लगाउँदैन । महाभारत नपढ्दै तपाईंले टीभीमा महाभारत सिरिज हेर्नुभएको छ भने पढिरहँदा पनि यसका दृश्यहरू सम्झँदा तपाईंको दिमागमा टीभी सिरियलमै पात्रको अनुहार आउँछन् । क्रियसनको हिसाबले फिल्मभन्दा किताब राम्रो भयो । छाप पार्ने कुरामा फेरि फिल्म अगाडि आउँछ ।
कतिपय लेखक पाठकलाई सोचेर लेखेको हुँ भन्छन् । आफैंलाई केन्द्रमा राखेर लेख्ने पनि छन् । लेख्दै गर्दा तपाईं के गर्नुहुन्छ ?
–मैले सुरुमा लेख्दा आफू नै केन्द्रमा थिए । मैले बुझे, भइहाल्यो त भन्ने खालको सोचले ग्रस्त थिए म । ‘सेभेन ब्लु बल’ लेखेपछि धेरैलाई पढ्न दिएँ । उहाँहरूले यो–यो कुराहरू ठिक छैनन् नराखे पनि हुन्छ भन्नु भएको थियो । तर अर्कोले बुझ्ला नि जस्तो लाग्थ्यो । कतिपय सुझाव मानिन् ।
_rmGeEcZ8gO.jpg)
लेख्ने त मेरो आनन्दको लागि हो भन्ने सोच्थे । तर बिस्तारै बिस्तारै त्यो सोच पनि चेन्ज हुँदो रहेछ । अहिले चाहिँ मलाई कस्तो लाग्छ भने तपाईले लेखेको चिजचाहिँ कसले पढ्ने हो ? उसले ग्रहण गर्छ कि गर्दैन भन्ने कुरा सोच्छु । साहित्यकारको खुबी यही हो कि जुनसुकै माध्यमबाट वा नयाँ शब्द क्रिएट गरेर भए पनि पाठकलाई सजिलैसँग बुझाउन सक्नुपर्छ भन्ने आजकाल म सोच्छु । म स्वयमकेन्द्रितबाट पाठककेन्द्रित बनेको छु । पाठकले नै बुझेन भने त, लेख्नुको अर्थै भएन नि ।
पछिल्लो समय सामाजिक सञ्जालले हाम्रो जीवनका हरेक पक्षलाई निकै प्रभावित पारिरहेको छ । सामाजिक सञ्जाल वा डिजिटल युगले तपाईंको पठन संस्कृतिलाई चाहिँ कस्तो प्रभाव पारेको छ ?
यसमा पनि मेरो दुई वटा कुरा छ । अहिले सामाजिक सञ्जालहरू जसरी व्यापक रूपमा आइराखेको छ, यसले पठनको दायरा फराकिलोचाँहि बनाएको छ । बजारमा नयाँ कुन किताब आएको छ ? कुन लेखको कृति कस्तो छ भन्नेलगायत जानकारी हामीले सहजै पाइरहेका छौं, यो सकारात्मक कुरा भयो । किताबसम्बन्धी जानकारी यसले बताएको छ । तर बेफाइदा के छ भने फेसबुक सर्ट्स वा रिल्स हेर्दाहेर्दै घन्टौं बितेको पत्तै हुन्न । डोपामिन डिटक्स भन्छ नि । मान्छे रमाइलोमा भुल्न थाल्यो ।
पछिल्लो २० वर्षयता नेपाली साहित्यमा चहलपहल बढेको छ । लेखन र महोत्सव/प्रदर्शनीहरूको हिसाबले पनि हैन । अपेक्षाअनुरूप हाम्रो साहित्यिक स्तरोन्नति भएको हो ?
यसमा मैले खासै बोल्ने कुरा छैन । म पाठकका रूपमा चाहिँ केही भन्छु । मैले पहिला पढेको किताब लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने, भूपि शेरचनको हो । तर अहिले जुन संख्या र हिसाबले साहित्यिक कृति आइरहेका छन्, यिनीहरू अघिल्ला पुस्ताका लेखकको लेखनभन्दा माथि जान सकेका छैनन् । कतिपय अवस्थामा त लेखन अझ खस्किएको छ । कता कता साहित्यमा अलिकति माहोल आएको हो कि जस्तो लागे पनि जति हुनुपर्ने हो भएका छैनन् ।
चेतनाको विकास सँगसँगै हरेक कुराको विकास भइरहेका छन् । त्यसैगरी साहित्यले त्यही अनुपातमा फड्को मार्न सकेका छैनन् कि । हामीकहाँ स्वस्थ साहित्यिक मन्थन पनि हुनुपर्ने भन्दा कम भइरहेका छन् कि जस्तो लाग्छ । त्यतिबेला लक्ष्मीप्रसाद देवकोटाको सोच जति विराट थियो, त्यसभदा पर हामी खोइ जान सकेको ? हामी ७०/८० वर्षको अन्तरालमा त अझै निखारिएर आउनुपर्थ्यो नि । बरु खुम्चिँदै गइरहेका छौ कि ? समकालीन निबन्ध देवकोटाको निबन्ध दाँजोमा कहाँ छन् भन्ने प्रश्नले पनि यसको उत्तर देला कि ?
फेरि साहित्य यतिकै आउने कुरा पनि त होइन । यो त समाजको उपज हो । समाजले कसरी फिड गरिराछ, साहित्यलाई कसरी हेरिराछ भन्ने कुरा पनि आउँछ । एउटा मान्छे जन्मिसके पछि उसमा साहित्यिक चेत कसरी पलाउँछ, उसले कथा वा कविता वा उपन्यास वा गजल लेख्छु भनेर कसरी सोच्छ ? उसमा त्यस्तो सोचलाई मलजल गर्ने वातावरणमा छ कि छैन भन्ने कुराले पनि यसमा असर गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण