शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साताका कविता

प्रेमकृष्ण श्रेष्ठका तीन कविता

शनिबार, २४ माघ २०८२, १७ : १६
शनिबार, २४ माघ २०८२

‘मेरो पहिलो चुम्बन’

मेरो मायाले झरेको तिम्रो रातो तारा 
फेरि त्यही चढायौ
चोरिएका ती गुलाफका लालीहरू
फेरि त्यहीँ सुटुक्क सजायौ 
ती लुछिएका बादलहरू 
आँधीपछिको बादलझैँ चिटिक्क मिलायौ
त्यस्तै सजायौ सब शृंगार
जस्तो ऐनाले सजायो
आकृतिमा ढल्यौ त्यस्तो 
मानौँ केही भएकै छैन 
म पछि भन्छु उही हौ तिमी 
तिमी तिमी नै हो
तर माफ गर 
यति ढाँट्न सक्दिनँ
मेरो पहिलो चुम्बनमा मुस्कुराएको गुराँस
आज अरूको अँगालोमा फुल्दा पनि 
ओइलाएको छैन 

‘हरियो रूखको हाँगामाथि’ 
 
एउटा हरियो जङ्गलको 
कोमल हरियो हाँगामाथि 
एउटा हरियो टुक्राको गर्दनमा
अर्को हरियो टुक्राले टोकिरहेको देखेँ 
तलको हरियो टुक्रा जति लच्किन्थ्यो 
माथिको हरियो टुक्रा त्यतिकै लच्किन्थे 
अनि उनीहरूको लच्काइमा 
लच्किन्थे हरिया पातहरू 
लच्केर शान्त हुँदा पनि 
ती हरिया टुक्राहरू 
जोडिएरै बस्छन् 
उडेर जाँदैन टाढा, प्यास मेटेकोमा

गजबको मोहक थियो त्यो हरियो संयोजनमा 
एक हरियो टुक्रामाथि अर्को टक्क बसेर 
बिलाउँथे आफनो हरियो पनि 
जङ्गलको हरियो पृष्ठभूमिमा
खुसी थिए, दुवै हरियो 
कुनै हिँसा थिएन गर्दनको टोकाइमा
तलको हरियो टुक्रा 
यसरी आँखा चिम्लेर मुग्ध हुन्थ्यो
ऊ बिर्सिदिन्थ्यो  
अजिँगर आएर त्यो रूखलाई मार्न सक्छ अँगालो 
कोही दाउरे आएर खुट्टामा हान्न सक्छ बञ्चरो
माथिको हरियोमा आफ्नो हरियो बिलाएर
उडान भर्थ्यो माथि माथि आकासमा
कुल्चिन दिएर हरिया प्वाँखलाई 
आफ्ना हरिया प्वाँखहरू

अपर्झट पानी पर्‍यो मुसलधारे
माथिको हरियो टुक्राले 
तलको हरियो टुक्रालाई 
ओढायो आफ्नो सबै हरियो 
थाप्यो आफ्नो जिउभरि भादोको झरी 
एक थोपा पानीमा भिजाएन 
माथिको हरियोले तलको हरियोलाई 
त्यही झरीले भने
पानीले कुवाजस्तै बनेको थियो 
रूखको टोड्को पनि 
तबै मात्र मुक्त गर्‍यो माथिको हरियोले
तलको हरियोलाई
जब इन्द्रेणीले कानमा खुसुक्क भन्यो 
मेरो हरियो रंगको कसम 
अब झरी पर्दैन 

ती हरिया अरू कोही थिएनन्
दुई प्रेमिल सुँगा थिए 
गर्थे यौन पनि प्रेमीले प्रेमिकालाई 
गर्थे सुरक्षा पनि
घाममा सँगै तयार हुन खरानी 
झरीमा पनि तयार हुन पानी 
दिनरात उनीहरू हरियो मिसाएर बिताउँथे 
अनि पारिदिन्थे, पात पात हरियो 
हाँगा हाँगा हरियो 
र पूरै जङ्गल हरियो 
यसैले उनीहरूको संसारै हरियो थियो 

मानिसले पनि गर्न सक्नुपर्छ 
त्यस्तै सुँगाले जस्तो हरियो यौन
बनाउन सक्नुपर्छ प्रेमिकालाई स्वतन्त्रता दिएर दास
दिन सक्नुपर्छ प्रेमिकाको पँखेटा थुनेर आकास 
हुन सक्नुपर्छ ऊसितै जीवन, ऊसितै लास 
मानिस त यौनपछि 
प्रेमी पनि मुक्त हुन्छ 
प्रेमिकालाई पनि मुक्त हुन दिन्छ 
अनि बाँधिदिन्छ जीवनभरि
प्रेमिकाको हातमा धोखाको हतकडी 
लाउँछन् प्रेमीहरू आफ्ना नाडीमा 
मैले ‘त्यो महिलासँग यौन गरेको छु’ को गर्विलो घडी 
यस्तै स्वार्थ भएर त प्रेममा 
मान्छेको यौन कसरी हरियो हुन्छ ?
त्यसैले त मानिसको यौन, 
रात आए कालो 
दिन आए निलो हुने 
आकासको रंगजस्तो 
निलो भयो, 
मान्छेको यौन कहिले हरियो सकेन । 

‘स्वर्गीय आमाको तस्बिर’  

एउटा फूल म फुल्दै गर्दा,
अर्को फूल डालीबाट चुँडिएर झरेझैँ
आमा डालीबाट सधैँका लागि चुँडिएर जानुभयो ।
यी आँखाहरूले बिहानी मिर्मिरे ठम्याउन नपाउँदै, 
आमाका आँखाहरू चिरनिद्रामा मस्त भइसकेका थिए ।

मनको क्यानभासमा आमाको चित्र नकोर्दै,
मुटुको भित्तामा आमाको तस्बिर नझुन्डिँदै,
महाकाल नामको भहाभूकम्पको कम्पनले 
मेरो मस्तिष्कमा रहेको आमाको धमिलो तस्बिर
निर्दयी भुइँमा डयाम्म पछारिदिएपछि 
स्मृतिहरू काँचको मुटुसरी फुटेर गए । 

सम्झनाको क्यामेराले खिच्न नभ्याएको तस्बिर पनि
दुई आँखाको भेलमा कता बगे, कता, 
म भने यतिबेला कल्पनाको विश्वासिलो वर्तमानमा
आमाको ममता नामको सुन्दर तस्बिर खोजिरहेछु । 

एक आँगन बिस्कुनले घामको प्रतीक्षा गरेझैँ, 
साँझपख डाँडापारिबाट आउने जून पो हो कि मेरी आमा,
मायाले छोएर जाने एक झोक्का सिरेटो पो हुन् कि मेरी आमा ।

मेरी आमाको तस्बिर हेर्ने एक तन्द्रा सपना
परेलीको डिल छोएर बग्ने एक कोमल नदी
आकासले थिचेर भत्किएको मन
वियोगान्तको गहिराइमा डुबेको मस्तिष्क ।

मेरी आमाको नागरिकताले त मलाई आमा पक्कै चिनाउँछ
सन्दुक खोलेर हेरेँ– नेपाली कागजमा टाँसिएको थियो 
एक श्यामश्वेत, मेटिएको तस्बिर ।

इन्द्रेणीका सातै रङहरूमा खोजेँ, मेरी आमाको रङ,
संगीतका सातै स्वरमा खोजेँ, मेरी आमाको बोली, 
सातै दोबाटोमा खोजेँ, मेरी आमाका पाइलाहरू ।

एक लास, एक चिहान, मुर्दाघाटमा पुगेर सोधेँ–
त्यो सन्नाटाले पनि देखाएन आमाको तस्बिर,
भनेन ममता दुख्ने मुटुको ओखती ।

आमाको चिहानको एक मुठ्ठी माटो 
मेरो सिरानीमा राखेर आज म घोषणा गर्दै छु–
“यिनै हुन् मेरी आमा, यही हो मेरी आमाको 
तस्बिर ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेमकृष्ण श्रेष्ठ
प्रेमकृष्ण श्रेष्ठ
लेखकबाट थप