सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सलमानको ‘ब्याटल अफ गलवान’ निर्धारित समयमा रिलिज नहुने सङ्केत

सोमबार, २६ माघ २०८२, ०७ : ४१
सोमबार, २६ माघ २०८२

सारांश

  • सलमान खानको चलचित्र 'ब्याटल अफ गलवान' तोकिएको मितिमा रिलिज नहुने सम्भावना बढेको छ।
  • चलचित्रको पुन: छायाङ्कन र प्राविधिक कारणले रिलिज टल्किने देखिएको छ, तर आधिकारिक जानकारी आएको छैन।
  • भारतीय रक्षा मन्त्रालयको स्क्रिनिङका कारण रिलिजमा थप समय लाग्न सक्ने अनुमान गरिएको छ।

मुम्बई । बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ब्याटल अफ गलवान’ तोकिएको मितिमा रिलिज नहुने सम्भावना बढेको छ। 

अप्रिल १७ का लागि प्रदर्शन मिति तय गरिए पनि चलचित्रको पुन: छायाङ्कन र केही प्राविधिक प्रक्रियाका कारण रिलिज टल्किने देखिएको हो। यद्यपि, निर्माण टोलीले यसबारे हालसम्म कुनै आधिकारिक जानकारी भने दिएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रका केही महत्त्वपूर्ण दृश्यहरू फेरि खिच्ने काम भइरहेको छ, जसमा अपेक्षा गरेभन्दा बढी समय लागेको छ। अभिनेता सलमान खान र निर्देशक अपूर्व लाखिया चलचित्रको भावनात्मक र नाटकीय पक्षलाई अझै सशक्त बनाउन चाहन्छन्। यसै कारण निर्माण प्रक्रियामा ढिलाइ भएको बताइएको छ।

आजदेखि मुम्बईको गोल्डेन टोब्याको फ्याक्ट्रीमा नयाँ सुटिङ सेड्युल सुरु हुँदैछ। फेब्रुअरी अन्त्यसम्ममा सम्पूर्ण सुटिङ सकिने र त्यसपछि सम्पादनको काम सुरु हुने स्रोतले दाबी गरेको छ। 

सुटिङ र सम्पादनबाहेक चलचित्र रिलिजका लागि भारतीय रक्षा मन्त्रालयको स्क्रिनिङ अनिवार्य छ। सेनासँग जोडिएको विषय भएकाले राष्ट्रिय हित र तथ्यहरू जाँच गर्न यो प्रक्रिया आवश्यक हुन्छ, जसले रिलिजमा थप समय लिन सक्छ।

देशभक्तिपूर्ण विषयमा बनेको यस चलचित्रलाई कुनै हतार नगरी उत्कृष्ट ढंगले प्रस्तुत गर्ने सलमान खानको सोच छ। अहिलेको अवस्थामा अप्रिलमा चलचित्र आउने सम्भावना कम देखिएपछि निर्माण टोलीले रिलिजका लागि अन्य वैकल्पिक मितिहरूमा छलफल सुरु गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप