डिजिटल युगमा प्रोपोगान्डाबाट जोगिऊँ
सारांश
- आधुनिक युद्धमा मस्तिष्क कब्जा गर्न 'भाष्य निर्माण' खतरनाक हतियार बनेको छ, जसले समाजलाई खोक्रो बनाउँछ।
- राजनीतिक दलहरूले विकास र नीतिको सट्टा 'भाष्य' निर्माणमा जोड दिँदै सामाजिक सञ्जालमार्फत कार्यकर्ता र नागरिकको 'ब्रेनवास' गरिरहेका छन्।
- लेखका अनुसार, प्रोपागाण्डाले सत्यलाई धुमिल पार्ने र विवेकलाई बन्धक बनाउने हुँदा आगामी निर्वाचनमा यस्ता भ्रमबाट जोगिनुपर्छ।
ऐतिहासिक रूपमा युद्धहरू सिमानामा लडिन्थे, जहाँ गोला–बारुद र सेनाको शक्ति निर्णायक हुन्थ्यो । तर, २१औँ शताब्दीमा युद्धको मैदान फेरिएको छ । आजको युद्ध, भूगोल कब्जा गर्न होइन, मस्तिष्क कब्जा गर्न लडिँदै छ । वर्तमान विश्वमा आणविक बम भन्दा पनि खतरनाक हतियार बनेको छ– भाष्य निर्माण ।
एउटा परमाणु मिसाइल निर्माण गर्न राज्यको अर्बौँ डलरको ढुकुटी खर्च हुन्छ । तर समाजलाई भित्रबाटै खोक्रो बनाउन ‘प्रोपागाण्डा’ त्यो भन्दा कयौँ गुणा सस्तो र प्रभावकारी माध्यम बन्न पुगेको छ डिजिटल युगमा । नेपालमा आज केवल केही ‘फेक आइडी’, ‘ट्रोल पेज’ र ‘साइबर सेना’ मार्फत फैलाइएको विचारको विष परमाणु बमभन्दा घातक साबित भइरहेको छ ।
परमाणु विस्फोटले भौतिक संरचना मात्र नष्ट गर्छ, तर यो वैचारिक प्रदूषणले एउटा सिङ्गो पुस्ताको तर्क गर्ने क्षमता र विवेक नै ध्वस्त बन्न पुग्छ ।
नेपालका राजनीतिक दलहरू पनि यसबाट अछुतो छैनन् । र, उनीहरूले आजभोलि विकास र नीतिको कुरा गर्नुको सट्टा ‘भाष्य’ निर्माणको युद्ध लडिरहेका छन् । कुनै पनि एजेन्डाको गहिराइमा जानुको सट्टा सामाजिक सञ्जालबाट पहिले उनीहरू आफ्ना कार्यकर्ताको ‘ब्रेनवास’ गर्छन् । त्यसपछि ती कार्यकर्ताका लागि नेताले बोलेको कुराबाहेक अन्य कुनै पनि कुरा सत्य हुँदैन ।
त्यसपछि सुरु हुन्छ, आम नागरिकको ब्रेनवास गर्ने काम । स्वार्थ समूहहरूले भाष्य निर्माणको कामलाई यति मिहिनता साथ गर्छन् कि आम मानिस त्यसको तर्कमा भन्दा भावनामा बहकिन पुग्छन् ।
त्यसैले आधुनिक समयमा युद्ध लड्नका लागि अब सेना पठाउनु पर्दैन, उनीहरू केवल नागरिकको दिमागमा घृणा र विभाजनको बीउ रोपिदिन्छन् । जब कार्यकर्ताहरूको दिमागमा भ्रमको विष भरिन्छ, उनीहरू आफ्नै दाजुभाइ, छिमेकी र समाजविरुद्ध शत्रुवत व्यवहार गर्न थाल्छन् ।
यो त्यस्तो आत्मघाती रणनीति हो, जहाँ एउटा नागरिकले अर्को नागरिकलाई ‘दल’ का नाममा गाली गरिरहेको हुन्छ । लडिरहेको हुन्छ । तर उसलाई लाग्छ उसले ‘लोकतन्त्र’ वा ‘पार्टी’ को रक्षा गरिरहेको छ । यसरी अन्ततः यसले समाजलाई मधुरो गरी भित्र–भित्रै खियाई रहेको हुन्छ ।
प्रोपागाण्डाको मुख्य लक्ष्य तथ्यलाई दबाउनु र आफू अनुकूलको भाष्यलाई समाजको तल्लो तहसम्म स्थापित गर्नु हुन्छ । यसले सत्यलाई यति धुमिल बनाई दिन्छ कि मानिसले सत्यसँग साक्षात्कार गर्दा पनि त्यसमा विश्वास गर्न सक्दैन ।
जब समाजमा तथ्य भन्दा हल्ला र तर्क भन्दा भिड माथि हुन जान्छ, तब विवेक बन्धक बन्न पुग्छ । र, समाज आफ्नै हारमा विजय उत्सव मनाइरहेको हुन्छ । कार्यकर्ता वा आम मानिसलाई लाग्छ हाम्रो पार्टीले जित्यो, तर वास्तवमा देश र देशसँगै हाम्रो चेतना हारिरहेको हुन्छ ।
यदि कुनै राष्ट्रलाई भौतिक युद्ध बिना नै सिद्ध्याउनु छ भने, त्यहाँका जनताको सोचमा भ्रम र मित्थ्याको बीउ रोपिदिए पुग्छ । त्यसैले आजको समयलाई कयौँ चिन्तकहरूले ‘द एज अफ डिजिटल वार फेयर’ भनेका छन् । आजको आवश्यकता केवल बाह्य शत्रुबाट सीमाको रक्षा मात्र होइन, बरु नागरिकहरूको बौद्धिक प्रतिरक्षा पनि हो ।
सूचना र प्रविधिको यो युगमा सत्य र प्रोपागाण्डा छुट्याउन सक्ने क्षमताको विकासमा राज्यले ध्यान दिनु पर्ने भएको छ । यसका साथै आगामी फागुन २१को निर्वाचनमा यस्तो प्रोपोगान्डाबाट जोगिएर आफ्नो मतको उपयोग गर्नुपर्ने आवश्यकता छ ।
(तिवारी अजुनचौपारी गाउँपालिका स्याङ्जाका अध्यक्ष हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण