बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माधवनारायणको जलसहित फूलप्रसाद हनुमानढोका दरबारमा

सोमबार, २६ माघ २०८२, २३ : ३८
सोमबार, २६ माघ २०८२

सारांश

  • माधवनारायणको जल र फूलप्रसाद हनुमानढोका दरबारमा ल्याइयो, जुन पुरानो परम्परा हो।
  • माघ शुक्ल पूर्णिमापछि आठ दिनमा हनुमानढोकामा जलसहित प्रसाद लैजाने चलन छ ।
  • अहिले पनि राजसंस्था नहुँदा पनि यो परम्परा यथावत् चलिरहेको छ।

काठमाडौँ । साँखु शालिनदीस्थित माधवनारायणको जल, फूलप्रसाद आज विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबारमा ल्याइएको छ । प्रत्येक वर्ष फागुन कृष्ण अष्टमीका दिन साँखुस्थित शालीनदीमा रहेको माधवनारायणको ठुलो कलशमा जलसहित फूलप्रसाद हनुमानढोका दरबार क्षेत्रका देवीदेवतालाई चढाएर राजप्रसाद अर्थात् राजदरबारमा बुझाउने प्रचलन रहिआएको छ ।

माधवनारायण मेला माघ शुक्ल पूर्णिमाका दिन सकिए पनि त्यसको आठ दिनपछि मात्र हनुमानढोका दरबारमा जलसहित फूलप्रसाद लैजाने परम्परा पहिलेदेखि रहँदै आएको थियो ।

राजपरिवारका सदस्य हनुमानढोका दरबारमा हुँदा भने माधवनारायणका मूल पुजारीले प्रसाद लगाइदिने परम्परा रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए । प्राचीन कालदेखि माधवनारायणको जलसहित फूलप्रसाद हनुमानढोका दरबारमा ल्याउने प्रचलन रहेकाले यहाँका देवीदेवतालाई उक्त जल, प्रसाद चढाएर राजदरबारमा पनि दिने परम्परालाई अहिले पनि निरन्तरता दिइएको उनले बताए ।

राजा नारायणहिटी सरे पनि हनुमानढोका दरबारमा जलसहित फूलप्रसाद लैजाने परम्परा भने अहिले पनि निरन्तर चलिरहेको सिंहले उल्लेख गरे । “राजसंस्थाको अन्त्यपछि पनि यो परम्परा भने यथावत् छ । यहाँ ल्याइएको प्रसाद अहिले यहाँका कर्मचारीले लगाउने गरेका छन्”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप