राष्ट्रपतिको गाउँमा अझै पुगेन चुनावी चहलपहल
सारांश
- तनहुँमा उपनिर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति रामचन्द्र पौडेलको गाउँमा चुनावी चहलपहल देखिएको छैन।
- रिस्तीका मतदाताले उम्मेदवारहरूलाई मत माग्न नआएको गुनासो गरेका छन्, किनभने प्राय: एउटै पार्टीलाई मत दिन्छन्।
- सेवा सुविधाको खोजीमा गाउँबाट सहर जाने क्रम बढेका कारण पनि चुनावी माहोल तातेको छैन।
तनहुँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ जिल्लाभर चुनावी सरगर्मी थपिएको छ । विभिन्न दलका उम्मेदवारहरू आन्तरिक रणनीति बनाउनेदेखि घरदैलो अभियानमा व्यस्त छन् । चोक–चोक र चिया पसलमा चुनावकै चर्चा चलिरहँदा मुलुकका अभिभावक अर्थात् राष्ट्रपति रामचन्द्र पौडेलको आफ्नै गाउँमा भने अहिलेसम्म चुनावी रौनकले छुन सकेको छैन ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ स्थित रिस्तीमा कुनै पनि उम्मेदवार मत माग्न पुगेका छैनन् । अन्य ठाउँमा उम्मेदवारहरू मतदाता रिझाउन दोहोर्याएर घरदैलोमा पुगिसक्दा रिस्तीका बासिन्दा भने उम्मेदवारको बाटो हेरेर बसिरहेका छन् । स्थानीय अगुवा रामकृष्ण पौडेलका अनुसार चुनावको समय अझै बाँकी रहेको भन्दै आउने समय बाँकी नै रहेको बताउँछन् । तर, अघिल्ला निर्वाचनहरूमा पनि उम्मेदवार रिस्तीसम्म पुग्न खासै रुचि देखाएका थिएनन् ।
‘यहाँका मतदाताले सधैँ एउटै पार्टीलाई मत दिन्छन्, हामी गए पनि भोट आउँदैन क्यारे भन्ने सोचेर कतिपय उम्मेदवार त आउँदै आउँदैनन्,’ रामकृष्ण भन्छन्, ‘सधैँ एउटै पार्टीमा मत खस्ने ठानेपछि अन्य दलले घरदैलो गर्न पनि चासो दिँदैनन् ।’ प्रायः कांग्रेसले जित्ने यो ठाउँबाट कहिलेकाहीँ अरु पार्टीले जितेपनि विजयी भएपछि उम्मेदवार फर्केर नआउने उनीहरूको गुनासो छ । ‘सधैँ यो क्षेत्रबाट एउटैले मात्रै जितेको त छैन । तर अरूले जित्दा त गाउँमा फर्केरै आउँदैनन्,’ रामकृष्णले भने ।
गाउँमा गाउँलेकै चहलपहल नभएका कारण पनि चुनावी माहोल तातेको छैन । सेवा सुविधा र अवसरको खोजीमा गाउँबाट सहर बस्ने क्रम तीव्र छ । ‘गाउँ खालीजस्तै छ, घरहरूमा ताला नलागे पनि घर कुर्ने बूढापाका बाहेक सबैजसो बाहिर छन्,’ अर्की स्थानीय इन्दिरा पौडेल भन्छिन्, ‘चुनावको बेला भोट हाल्न सहर बस्नेहरू आउँछन्, भोट हालेपछि फर्केर जान्छन् ।’

इन्दिराको अनुभवमा पनि उम्मेदवारहरू भोट माग्न खासै घरदैलो गर्दैनन् । ‘एक–दुई पार्टीका मान्छे मात्रै आउँछन् । अहिले त त्यही पनि आएका छैनन्,’ उनले भनिन् । परम्परागत रूपमा एकै दललाई भोट दिँदै आए पनि उम्मेदवार गाउँमा आउँदा र नआउँदा मतदाताको मनोविज्ञानमा फरक पर्ने उनको बुझाई छ ।

केही दिनअघि नेपाली कांग्रेसले यो गाउँमा जनभेटघाट कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर, गाउँमा एक स्थानीयको निधन भएपछि उक्त कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । अन्य राजनीतिक दलहरूले भने अहिलेसम्म रिस्तीका लागि घरदैलो वा प्रचारको तालिका नै सार्वजनिक गरेका छैनन् । यतिबेला केही मतदाताहरू गाउँ फर्किन थालेका भए पनि उम्मेदवारको उपस्थितिविना राष्ट्रपतिको गाउँ सुनसानजस्तै बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण