मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन तयारी

डुम्रे बजार, भोट हजार : मतदातालाई छैन जाँगर

शुक्रबार, ०१ फागुन २०८२, ०८ : २८
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • तनहुँको डुम्रे बजारमा चुनावको चहलपहलसँगै सडकमा फलफूल बेच्ने महिलाहरू मतदानप्रति उदासीन छन्।
  • पटक-पटक भोट हालेर पनि जीवनस्तरमा सुधार नभएपछि उनीहरूमा भोट हाल्ने जाँगर घटेको छ।
  • मुस्ताङबाट जाडो छल्न झरेका व्यापारीहरू पनि चुनावप्रति बेखबर छन् र दैनिक गुजाराको चिन्तामा छन्।

तनहुँ । पृथ्वी राजमार्गको व्यस्त व्यापारिक केन्द्र डुम्रे बजार । गाडीको चाप र हर्नको कोलाहल उस्तै छ । तीव्र गतिमा ओहोरदोहोर गरिरहेका सवारी साधनका बिच चुनावको चहलपहल पनि देख्न सकिन्छ ।

कहिले वल्लो साइड, कहिले पल्लो साइड गर्दै हुइँकिरहेका बस र माइक्रो बसका झ्यालतिर फलफूल देखाउँदैमा बित्छ गोरखा च्याङ्लीकी सरस्वती कुमालको दिनचर्या । यहीँ फलफूल बेचेर उनले ३ सन्तानको शिक्षादीक्षा धानेकी छन् । जेठी छोरी स्नातक पढ्दैछिन् ।

उमेरले ४७ लागेकी सरस्वती यसपाली पाँचौँ पटक मत दिँदैछिन् । कहिले माओवादी, कहिले कांग्रेस, कहिले एमाले गर्दै उनले धेरैलाई भोट दिइन् । भोट दिँदादिँदै थाकेकी उनलाई अब त भोट दिने जाँगर पनि चल्न छोडेको छ ।

‘भोटिङ कार्ड छ, उहिल्यै बनाएको । ४ पटक सांसद बनाएर पठाइसकियो,’ सरस्वतीले भनिन्, ‘कहिले माओवादी, कहिले कांग्रेस गर्दै भोट दिइयो । जुन पार्टीलाई भोट हाले पनि त्यस्तै हो । यसपालि त नदिने होला ।’

भोट माग्ने बेलामा नमस्कार गर्दै नेताहरू आउने गरेको उनी बताउँछिन् । ‘लौ हजुर, छोराछोरीलाई रोजगारी दिन्छु, निशुल्क पढ्ने व्यवस्था गर्छु भन्छन्,’ अघिल्ला अनुभव सुनाउँदै उनले भनिन्, ‘जितेपछि हाम्रो दुःख कसैले देख्दैन । कुकुरले बरु फर्केर हेर्ला, नेताहरू फर्केर आउँदैनन् ।’

सरस्वतीकी ६२ वर्षीय साइली दिदी विष्णु कुमाल र झन्डै ६६ वर्ष लागेकी माइली दिदी पनि यही सडकमा फलफूल बेच्छन् । विष्णुले १७ वर्षदेखि मकै पोल्ने र फलफूल बेच्ने काम गर्दै आएकी हुन् । ‘दुःख कहिल्यै हटेन । सुख कहिल्यै आएन हामीलाई,’ लामो सास फेर्दै उनले भनिन्, ‘यसपालि त भोट माग्न आउनेलाई हुन्छ–हुन्छ भन्दिने हो । भोट हाल्ने त त्यस्तै हो ।’

ठेकदारलाई आफ्नो बारीमा फलेको केरा र लिचीसस्तोमा दिनुभन्दा आफैँ खटिएर बजार झार्छन् उनीहरू ।

डुम्रे बजारमा विभिन्न पार्टीका चुनाव प्रचारप्रसार कार्यक्रम चलिरहेको छ । त्यसमा उनीहरूको उतिसारो चासो छैन । ‘चुनावका बेला हामीजस्तै बन्छन् नेताहरू । हो क्यारे भनेर भोट हाल्यो, जितेका दिनदेखि नाकमुख देख्न पाइँदैन,’ विष्णुले भनिन्, ‘हामी हाम्रा गुनासा सुनाको सुनायै गर्छौं, सुन्नुपर्नेले सुन्दिँदैनन् ।’

बजार छेउमै व्यापार गर्ने ठाउँ बनाइदिन उनीहरूको आग्रह छ । ‘जति जानेका छौँ, त्यही अनुसार जागिर पाए यो रोडमा डराइडराइ किन दौडिनुपर्थ्यो र ?,’ विष्णुले भनिन्, ‘हाम्रो जुनी यही सडकमा गयो, बच्चाहरू पनि यहीँ झर्न नपरोस् भनेर दुःखजिलो गरेको हो ।’

dumre bazar (2)

पृथ्वी राजमार्ग विस्तार गरेर डुम्रे बजारमा ६ लेनको सडक बनाइएको छ । फराकिलो सडकमा गाडीहरू पनि तीव्र गुड्छन् । त्यसैले बन्दिपुर गाउँपालिकाले यसरी गाडीका झ्यालमा पुगेर गर्ने ब्यापार बन्द गर्ने तयारी गरेको छ ।

फागुन ३ गतेदेखि सडकमा दौडिएर गर्ने व्यापार रोक्न लागेको भन्दै व्यवसायीहरू चिन्तित छन् । अर्को विकल्प नहुँदासम्म नहटाइदिन उनीहरूको आग्रह छ ।

‘पालिकाले रोडमा दौडिन नदिने भनेको छ । हामी दिनको ३० रुपैयाँ कर तिरेर व्यापार गर्छौं,’ उनीहरू भन्छन्, ‘कर तिरेपछि त गरी खान दिनुपर्‍यो नि । होइन भने बेच्ने ठाउँ तोकिदिनुपर्‍यो ।’

हजारौँ श्रमजीविहरू डुम्रेमा मिसिएका छन् । उम्मेदवारहरू चाहिँ मतदाता खोज्न भौँतारिरहेका छन् । आफ्नो जीवनस्तरमा कुनै सुधार नआएपछि मतदाताहरूमा भोट हाल्ने जाँगर हराउँदै गएको छ । 

मुस्ताङको लोमान्थाङ र छोसेरबाट जाडो छल्न र व्यापार गर्न बेंसी झरेका टासी र फुन्जो गुरुङ पनि डुम्रेको सडक पेटीमै जिम्बु र शोभिनियर फिँजाएर बसेका छन् । उनीहरू हरेक हिउँदमा ४ महिनाका लागि बेंसी झर्छन् । उनीहरूलाई चुनाव आयो भन्ने खबर वास्तै छैन । बरु दिनभरिको कमाइले साँझको जोहो टर्छ कि टर्दैन भन्ने पिर छ ।

यसपालि भोट हाल्न जाने होइन भन्ने प्रश्न भुईंमा खस्न नपाउँदै फुन्जोले जबाफ फर्काहालिन्, ‘कसलाई हाल्ने भोट ? किन हाल्ने ? अहिलेसम्म भोट हालेर के भयो र ?’

dumre bazar (3)

मुस्ताङीहरू जाडो छल्न गाउँ छोडेपछि उम्मेदवार पनि अहिले मतदाता खोज्दै भौँतारिरहेका छन् ।

‘अब कसैलाई हालिँदैन । भोट हालेर के स्वाद छ र ?,’ फुन्जोले प्रश्न गरिन्, ‘भोट हालेर सामान बेच्न नपरे पो दिनु । नत्र किन दिनुपर्‍यो ? हाम्रो दुःख हेर्ने को छ र ?’

नेताहरू भोट माग्ने बेलामा मात्रै नम्र हुने, अरु बेला बोलाउँदा पनि वास्ता नगर्ने अनुभव उनीहरूको छ । ‘भोट माग्ने बेलामा सबै होर्चे (नमस्ते) भन्दै आउँछन् । जितेपछि को कहाँ जान्छन्, थाहा छैन,’ टासीले भनिन्, ‘त्यही भएर भोट हाल्न मन लाग्दैन । हाल्नै परे सबै चिह्नमा छाप लगाइदिने हो ।’

टासीले यसरी हिउँदमा व्यापार गर्न थालेको यो पाँचौँ पटक हो ।

मुस्ताङका सबैजसो नेतालाई उनीहरू चिन्छन् । पालैपालो पहिले जितेका र अहिले उठेका नेताहरूको नाम उनीहरूले सुनाए, तर भोटचाहिँ कसैलाई दिन मन लाग्दैन रे । ‘सबैलाई चिन्छौँ, सबैको बारेमा थाहा छ, तर भोट नदिने अब,’ उनीहरूको एकैस्वर छ ।

हजारौँ श्रमजीविहरू डुम्रेमा मिसिएका छन् । उम्मेदवारहरू चाहिँ मतदाता खोज्न भौँतारिरहेका छन् । आफ्नो जीवनस्तरमा कुनै सुधार नआएपछि मतदाताहरूमा भोट हाल्ने जाँगर हराउँदै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप