शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
ब्याटल ग्राउन्ड तनहुँ

‘भोट हालेर अघाइयो, तर पेट भरिनेगरी पानी अझै आएन’

शुक्रबार, ०१ फागुन २०८२, १८ : ३०
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • तनहुँका स्थानीय बासिन्दामा मतदाता परिचयपत्र बनाउन र मतदान गर्न अनिच्छा देखिन्छ, जसको कारण विकास र रोजगारीको अभाव हो।
  • स्थानीय तहमा खानेपानीको चरम समस्या र विकास निर्माणको सुस्त गतिले गर्दा मतदातामा निर्वाचनप्रति उत्साह घटेको छ।
  • मतदाताहरूले राजनीतिक दलप्रति असन्तुष्टि जनाउँदै यसपटक नयाँ विकल्प खोज्ने र राष्ट्रिय राजनीतिका घटनाबाट प्रभावित भएको बताएका छन्।
00:00 / NaN:NaN
Audio By AI

तनहुँ । व्यास नगरपालिका– १० की समिना बोटे उमेरले दुई पटक मतदान गर्न योग्य भइसकिन्, तर उनले मतदाता परिचयपत्र बनाएकी छैनन्, न त बनाउने जाँगर नै छ ।

आमाबुबाले पटक–पटकका निर्वाचनमा मतदान गरेको देखे–बुझेकी समिनालाई भोट हालेर केही हुन्छ भन्ने विश्वास लाग्न छाडेको छ । उनले भनिन्, ‘अहिलेसम्म आमाबाउले भोट दिएकै हुन् । न धारामा पानी आउँछ, न भरलाग्दो जागिर पाइएको छ । अब मैलेचाहिँ भोट किन दिनुपर्‍यो र ? मतदाता परिचयपत्र बनाएर के गर्नु ?’

गाउँमा कुनै पनि राजनीतिक दलले उनलाई मतदाता परिचयपत्र बनाउनुपर्छ वा मत दिनुपर्छ भनेर सम्झाउने प्रयास समेत गरेका छैनन् । गाउँका अधिकांश युवा बेरोजगार छन् । कोही विदेश पलायन भएका छन् भने कोही बालुवा चाल्न डाँडै कटेर कालिगण्डकी जान्छन् ।

समिनाकै छिमेकी हरिबहादुर थापा बागलुङबाट बसाइँ सरेर यहाँ आएको ४० वर्ष नाघ्यो । जान्ने–बुझ्ने भएदेखि नै उनले हरेक चुनावमा मतदान गर्दै आएका छन् । हरेक चुनावमा उनका कानले एउटै आश्वासन सुन्छन्, ‘हाम्रो पार्टीले पानी ल्याइदिन्छ । घरघरै धारा हुन्छ, रोजगारी दिन्छौँ ।’

tanahu (2)tanahu (3)

थापाका गोठमा ५ वटा भैंसी छन्, जसका लागि उनले मादी नदीबाट आफ्नै खर्चमा दुई वटा मोटर जोडेर घरसम्म पानी तानेका छन् । दिक्क मान्दै उनले भने, ‘सपना त सुन्न बाँकी केही छैन । नेताहरूले भनेको आधामात्र काम गरेको भए पनि आज हामी मालिक भइसक्थ्यौँ । नयाँ–पुराना सबै भोगियो, अब त भोट हालेरै अघाइसक्यौँ ।’

तनहुँका अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको चरम समस्या छ । घरको डिलमुनिबाट नदी बगेका छन्, तर ती नदीको पानी तानेर घरसम्म ल्याइदिने नेता गाउँलेले पाएका छैनन् । त्यसैले धेरैजसो मतदातामा निर्वाचनप्रति खासै उत्साह छैन ।

‘चुनाव आउँछ, एउटाले जित्छ र जान्छ । चुनावअघि उम्मेदवारहरू विकासका ठुला सपना लिएर आउँछन्,’ व्यास–८ की गोमा मिश्र आक्रोश पोख्छिन्, ‘जितेपछि ५ वर्ष न उम्मेदवारको अनुहार देखिन्छ, न त विकास नै आउँछ । नेतालाई भेट्न चुनाव नै कुर्नुपर्छ ।’

tanahu (4)

व्यास–८ राष्ट्रपति रामचन्द्र पौडेलको पुर्ख्यौली थलो हो । ‘राष्ट्रपतिको गाउँ भए पनि बाटोको यो हालत छ । जसले जति पटक चुनाव जिते पनि हाम्रो दुःख फेरिने होइन,’ उनले भनिन् ।

अहिले रिस्ति पुग्ने बाटो स्तरोन्नतिको काम सुरु भएको छ । यद्यपि, विकास निर्माणको सुस्त गतिले जनताको बढ्दो आकाङ्क्षाको रफ्तारलाई भेट्न सकेको छैन ।

विगतमा परम्परागत दललाई मत दिँदै आएकी मनकुमारी ठकुरी भने यसपटक मन फेर्ने मुडमा छिन् । दलहरूले अपेक्षाकृत काम नगरेपछि उनले विकल्प खोज्न लागेकी हुन् ।

‘मैले भोट नदिए पनि कोही न कोहीले त चुनाव जितिहाल्छन् । बरु यसपालि नयाँलाई भोट हालुँ कि जस्तो लागिरहेको छ,’ उनले भनिन्, ‘हुन त हात जाँदै जाँदैन, पुरानालाई दिने बानी परेको छ, तर यसपालि आँट्छु ।’

tanahu (5)

तनहुँका नागरिकहरूमा स्थानीय विकासको चिन्ता एकातिर छ भने अर्कोतिर राष्ट्रिय राजनीतिले पनि उनीहरूको ध्यान खिचेको छ । भदौ २३ गतेको जेनजी आन्दोलनमा गोली चल्नु र भोलिपल्ट देशका महत्त्वपूर्ण सम्पदामा आगजनी हुनुलाई उनीहरूले सामान्य रूपमा लिएका छैनन् । यी घटनाले मतदाताको मनोविज्ञानमा गहिरो प्रभाव पारेको छ ।

कसैले अघिल्लो दिनको दमनको रिस मतपत्रमार्फत देखाउने सोचेका छन् भने कतिपयले भोलिपल्टको आगजनी र अराजकतालाई चुनावबाटै जबाफ दिने तयारी गरेका छन् । तनहुँको क्षेत्र नम्बर १ मा अहिले पनि खानेपानीकै हाहाकार छ । उम्मेदवारहरूले यसपटक पनि प्रमुख एजेन्डा खानेपानीलाई नै बनाएका छन्, तर स्थानीयको एउटै माग छ– ‘सेती र मादी नदीको बिचमा बसेर अझै कति दिन काकाकुल जीवन जिउने ? कम्तीमा खानेपानी ल्याइदिनुस् ।’

बसाइसराइले गाउँघर रित्तिएका छन् । अहिले बाँदर आतंक बढेको छ । बाँदरबाट बाली जोगाइदिन र गाउँघरमै बसेर गुजारा चल्ने रोजगारीको माग स्थानीयले उम्मेदवारसँग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप