‘भोट हालेर अघाइयो, तर पेट भरिनेगरी पानी अझै आएन’
सारांश
- तनहुँका स्थानीय बासिन्दामा मतदाता परिचयपत्र बनाउन र मतदान गर्न अनिच्छा देखिन्छ, जसको कारण विकास र रोजगारीको अभाव हो।
- स्थानीय तहमा खानेपानीको चरम समस्या र विकास निर्माणको सुस्त गतिले गर्दा मतदातामा निर्वाचनप्रति उत्साह घटेको छ।
- मतदाताहरूले राजनीतिक दलप्रति असन्तुष्टि जनाउँदै यसपटक नयाँ विकल्प खोज्ने र राष्ट्रिय राजनीतिका घटनाबाट प्रभावित भएको बताएका छन्।
तनहुँ । व्यास नगरपालिका– १० की समिना बोटे उमेरले दुई पटक मतदान गर्न योग्य भइसकिन्, तर उनले मतदाता परिचयपत्र बनाएकी छैनन्, न त बनाउने जाँगर नै छ ।
आमाबुबाले पटक–पटकका निर्वाचनमा मतदान गरेको देखे–बुझेकी समिनालाई भोट हालेर केही हुन्छ भन्ने विश्वास लाग्न छाडेको छ । उनले भनिन्, ‘अहिलेसम्म आमाबाउले भोट दिएकै हुन् । न धारामा पानी आउँछ, न भरलाग्दो जागिर पाइएको छ । अब मैलेचाहिँ भोट किन दिनुपर्यो र ? मतदाता परिचयपत्र बनाएर के गर्नु ?’
गाउँमा कुनै पनि राजनीतिक दलले उनलाई मतदाता परिचयपत्र बनाउनुपर्छ वा मत दिनुपर्छ भनेर सम्झाउने प्रयास समेत गरेका छैनन् । गाउँका अधिकांश युवा बेरोजगार छन् । कोही विदेश पलायन भएका छन् भने कोही बालुवा चाल्न डाँडै कटेर कालिगण्डकी जान्छन् ।
समिनाकै छिमेकी हरिबहादुर थापा बागलुङबाट बसाइँ सरेर यहाँ आएको ४० वर्ष नाघ्यो । जान्ने–बुझ्ने भएदेखि नै उनले हरेक चुनावमा मतदान गर्दै आएका छन् । हरेक चुनावमा उनका कानले एउटै आश्वासन सुन्छन्, ‘हाम्रो पार्टीले पानी ल्याइदिन्छ । घरघरै धारा हुन्छ, रोजगारी दिन्छौँ ।’
_sNto2pIRuY.jpg)
_tpFcwdKDZ5.jpg)
थापाका गोठमा ५ वटा भैंसी छन्, जसका लागि उनले मादी नदीबाट आफ्नै खर्चमा दुई वटा मोटर जोडेर घरसम्म पानी तानेका छन् । दिक्क मान्दै उनले भने, ‘सपना त सुन्न बाँकी केही छैन । नेताहरूले भनेको आधामात्र काम गरेको भए पनि आज हामी मालिक भइसक्थ्यौँ । नयाँ–पुराना सबै भोगियो, अब त भोट हालेरै अघाइसक्यौँ ।’
तनहुँका अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको चरम समस्या छ । घरको डिलमुनिबाट नदी बगेका छन्, तर ती नदीको पानी तानेर घरसम्म ल्याइदिने नेता गाउँलेले पाएका छैनन् । त्यसैले धेरैजसो मतदातामा निर्वाचनप्रति खासै उत्साह छैन ।
‘चुनाव आउँछ, एउटाले जित्छ र जान्छ । चुनावअघि उम्मेदवारहरू विकासका ठुला सपना लिएर आउँछन्,’ व्यास–८ की गोमा मिश्र आक्रोश पोख्छिन्, ‘जितेपछि ५ वर्ष न उम्मेदवारको अनुहार देखिन्छ, न त विकास नै आउँछ । नेतालाई भेट्न चुनाव नै कुर्नुपर्छ ।’
_Df2rLA3JUN.jpg)
व्यास–८ राष्ट्रपति रामचन्द्र पौडेलको पुर्ख्यौली थलो हो । ‘राष्ट्रपतिको गाउँ भए पनि बाटोको यो हालत छ । जसले जति पटक चुनाव जिते पनि हाम्रो दुःख फेरिने होइन,’ उनले भनिन् ।
अहिले रिस्ति पुग्ने बाटो स्तरोन्नतिको काम सुरु भएको छ । यद्यपि, विकास निर्माणको सुस्त गतिले जनताको बढ्दो आकाङ्क्षाको रफ्तारलाई भेट्न सकेको छैन ।
विगतमा परम्परागत दललाई मत दिँदै आएकी मनकुमारी ठकुरी भने यसपटक मन फेर्ने मुडमा छिन् । दलहरूले अपेक्षाकृत काम नगरेपछि उनले विकल्प खोज्न लागेकी हुन् ।
‘मैले भोट नदिए पनि कोही न कोहीले त चुनाव जितिहाल्छन् । बरु यसपालि नयाँलाई भोट हालुँ कि जस्तो लागिरहेको छ,’ उनले भनिन्, ‘हुन त हात जाँदै जाँदैन, पुरानालाई दिने बानी परेको छ, तर यसपालि आँट्छु ।’
_ohNubjcMgQ.jpg)
तनहुँका नागरिकहरूमा स्थानीय विकासको चिन्ता एकातिर छ भने अर्कोतिर राष्ट्रिय राजनीतिले पनि उनीहरूको ध्यान खिचेको छ । भदौ २३ गतेको जेनजी आन्दोलनमा गोली चल्नु र भोलिपल्ट देशका महत्त्वपूर्ण सम्पदामा आगजनी हुनुलाई उनीहरूले सामान्य रूपमा लिएका छैनन् । यी घटनाले मतदाताको मनोविज्ञानमा गहिरो प्रभाव पारेको छ ।
कसैले अघिल्लो दिनको दमनको रिस मतपत्रमार्फत देखाउने सोचेका छन् भने कतिपयले भोलिपल्टको आगजनी र अराजकतालाई चुनावबाटै जबाफ दिने तयारी गरेका छन् । तनहुँको क्षेत्र नम्बर १ मा अहिले पनि खानेपानीकै हाहाकार छ । उम्मेदवारहरूले यसपटक पनि प्रमुख एजेन्डा खानेपानीलाई नै बनाएका छन्, तर स्थानीयको एउटै माग छ– ‘सेती र मादी नदीको बिचमा बसेर अझै कति दिन काकाकुल जीवन जिउने ? कम्तीमा खानेपानी ल्याइदिनुस् ।’
बसाइसराइले गाउँघर रित्तिएका छन् । अहिले बाँदर आतंक बढेको छ । बाँदरबाट बाली जोगाइदिन र गाउँघरमै बसेर गुजारा चल्ने रोजगारीको माग स्थानीयले उम्मेदवारसँग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
-
विजय मल्लका कृतिहरू
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण