शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्व.सिटौलाको स्मृतिमा चलचित्र पत्रकार सङ्घद्वारा अक्षय कोष स्थापना

शुक्रबार, ०१ फागुन २०८२, २२ : ५२
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • चलचित्र पत्रकार संघले स्वर्गीय दिनेश सिटौलाको स्मृतिमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।
  • चलचित्र विकास बोर्ड र कलाकार संघका अध्यक्षलगायतले सिटौलाको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
  • विभिन्न संघसंस्था र व्यक्तिहरूले अक्षय कोषमा सहयोग गर्ने घोषणा गरे, जसमा ओएसआर डिजिटल, प्रदीप भारद्वाज, र 'झरी पछिको इन्द्रेणी' टिम समावेश छन्।

काठमाडौँ  । चलचित्र पत्रकार सङ्घले १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापनाको घोषणा गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधन भएको १३औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै उक्त कोष घोषणा गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार सङ्घका अध्यक्ष मोहन निरौलालगायत थुप्रै कलाकर्मी र पत्रकारको उपस्थिति रहेको कार्यmक्रममा अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने, हरेक वर्ष माघ १८ गते स्व. दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना र सङ्घको वार्षिक उत्सवका अवसरमा स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने बताए ।

कार्यक्रममा बोर्ड अध्यक्ष डिसीले स्व.सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गरे । उनले स्व.सिटौलाले पुराना तथा नयाँ पुस्ताका पत्रकार र चलचित्रकर्मीहरूबिच सहकार्य र सहजीकरणको वातावरण सिर्जना गर्दै आएको उल्लेख गर्दै बोर्डका तर्फबाट अक्षय कोषमा रु.५१ हजार सहयोग प्रदान गर्ने घोषणा गरे ।

त्यसैगरी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले सिटौलाको योगदानको चर्चा गरे । उनले सिटौला मिलनसार, सहयोगी भावना र सकारात्मक सोचका धनी व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा रु. १० हजार सहयोग गरे ।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व.सिटौलाको योगदानको चर्चा गरेका थिए ।

स्थापित अक्षय कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ । ओएसआर डिजिटलले रु. ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले रु. २५ हजार, निर्माताद्वय सरोज वली र मोहितवंश आचार्यले रु. २५ हजार, षट्कोण आट्र्सले रु. २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदीले रु. ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले रु. १० हजार सहयोग घोषणा गरेका छन् । यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट रु. ३ लाखभन्दा बढी सहयोग सङ्कलन भइसकेको सङ्घले जनाएको छ ।

यसैबिच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग सङ्कलन गरिएको जानकारी दिइएको छ । कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको सूची सङ्घले क्रमशः औपचारिक रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप