कम्युनिस्टहरूको लुकामारीमा ब्रेक–थ्रु गर्ने कांग्रेसको दाउ
सारांश
- खोटाङमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार सुरु भएको छ।
- कांग्रेस, एमाले र नेकपाबीच प्रतिस्पर्धा हुँदैछ, जसमा नेकपाले डा. हरि रोकालाई चुनावी मैदानमा उतारेको छ।
- नयाँ पार्टीहरूको प्रभावबारे चर्चा चलिरहेको छ, तर पुरानै दलहरूको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबारदेखि औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । प्रसारप्रसार सुरु भएसँगै देशभरमा जस्तै खोटाङको राजनीतिक सरगर्मी पनि बढेको छ । जिल्लामा मुख्य प्रतिस्पर्धी दलका रूपमा देखिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच शक्ति प्रदर्शन र मतदाता फकाउने होडबाजी सुरु भएको छ ।
खोटाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी बुद्धिजीवी डाक्टर हरि रोकालाई चुनावी मैदानमा उतारेको छ । रोकाको पक्षमा देशभरका बुद्धिजीवीहरूले भोटको अपिल गरिरहेका बेला पुराना शक्ति मानिने कांग्रेस र एमाले भने आफ्नो सांगठनिक मत सुरक्षित राख्ने रणनीतिमा छन् ।
नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले यस पटक कांग्रेसभित्र अभूतपूर्व एकता रहेको दाबी गरे । राईले भने, ‘अहिले सामूहिक रूपले नै सबैलाई जिम्मेवारी भएर कांग्रेसका सबै कार्यकर्ता खटिएका छौँ । संगठनात्मक रूपबाट निर्वाचन परिचालनका निम्ति उम्मेदवारले आफ्नो अनुकूल अनुसार निर्णय गर्ने छन् ।’
राईले कांग्रेसको अवस्था सुरक्षित रहेको बताए । ‘कांग्रेसको आफ्नो मत सुरक्षित गर्दा पनि जितिन्छ भन्ने हाम्रो बुझाइ छ । अहिले सबै नेताहरू एकसाथ खटिनुभएको छ । त्यसैले हाम्रो सम्भावना बलियो छ,’ उनले भने ।
उनले नयाँ पार्टीहरूको उदयले केही चुनौती थपे पनि कांग्रेसको आधारभूत मत नखस्किने बताए ।
नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले विगतको निर्वाचनको तथ्याङ्कलाई मुख्य आधार बनाएका छन् । २०७९ सालको निर्वाचनको परिणाम स्मरण गर्दै उनले भने, ‘०७९ सालको डेटाले पनि हामी पहिलो पार्टी हौँ । त्यतिबेला पाँच वटा दल मिल्दा पनि हामी २६ सय मतको अन्तरले मात्र पछि परेका थियौँ । समानुपातिक तर्फ हाम्रो धेरै मत छ । कांग्रेस र नेकपा क्रमशः दोस्रो र तेस्रो हो ।’
नयाँ पार्टीहरूको प्रभाव देखिए पनि परिणाममा धेरै फेरबदल नहुने उनले दाबी गरे । ‘नयाँ भनिनेहरूले हाम्रो कम क्षति गरेका छन् । माटो (श्रम संस्कृति) को अलि हल्लाखल्ला छ, घण्टीको पनि सुशुप्त रूपमा समर्थक छन्, तर जित्ने गरी उनीहरूको मत छैन । हाम्रो मुख्य प्रतिस्पर्धी नै कांग्रेस हो,’ उनले भने ।
राईले एमालेको संगठन सबै वडामा बलियो रहेको र नेताहरूबिचको एकता नै जितको मुख्य आधार भएको बताए ।
उता, २६ वर्ष अगाडि २०५६ सालको आम निर्वाचनमा खोटाङबाट तारा चुनाव चिह्न लिएर उठेका अर्थविद् डाक्टर हरि रोका यस पटक पुनः नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् । एमालेबाट विभाजन भएर बनेको मालेका उम्मेदवारको रूपमा २०५६ सालमा चुनाव लड्दा रोका तेस्रो भएका थिए । त्यतिबेला उनलाई नेपाली कांग्रेसका शिवकुमार बस्नेतले हराएका थिए ।
नेकपाको तर्फबाट डा. रोकालाई अघि सारेका रामकुमार राई (पासाङ)ले भने कांग्रेस र एमाले दुवैको अवस्था अहिले खस्किएको दाबी गरे । ‘हामी ६ जना पूर्वसांसद, मन्त्रीहरू हुँदाहुँदै पनि यो जटिल परिस्थितिमा हरि रोकालाई उठाउनुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ । उहाँ बौद्धिक व्यक्तित्व भएकाले सबैले स्वीकार गर्नुभएको छ,’ पासाङले भने ।
उनले कांग्रेस र एमालेको आन्तरिक कलह र गिर्दो साखले नेकपालाई फाइदा पुग्ने विश्लेषण गरे । पासाङले भने, ‘अहिले एमालेको एकदम गिर्दो अवस्था छ, फिल्डमा निस्किनै सकेको छैन । कांग्रेस पनि तीन खण्डमा विभाजित छ । यस्तो अवस्थामा बौद्धिक समुदाय र आम जनताले हरि रोकालाई नै रोज्नेछन् ।’
खोटाङमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र धरानका मेयर हर्क साम्पाङको प्रभाव मानिने श्रम संस्कृति पार्टीले कति मत काट्छ भन्ने विषय चर्चाको केन्द्रमा छ । एमाले उम्मेदवार देवविक्रम राईका अनुसार हर्क साम्पाङको जन्मथलो खोटाङ भएकाले श्रम संस्कृति पार्टीले केही मत प्रभावित गर्न सक्छ, तर रास्वपाको उम्मेदवार पुराना पार्टी घुमेर आएका व्यक्ति नै भएकाले उनीहरूले पुरानो शक्तिलाई खासै धक्का नदिने एमालेको विश्लेषण छ ।
यता कांग्रेसले भने नयाँ पार्टीहरूको एजेन्डा नभएको र उनीहरूले केवल हल्लामात्र गरेको आरोप लगाएको छ ।
कांग्रेस र एमाले आफ्नो सांगठनिक किल्ला जोगाउन लागिपरेका छन् भने नेकपा डा. हरि रोकाको व्यक्तित्व र बौद्धिक अपिलको भरमा जित निकाल्ने दाउमा छ । बुद्धिजीवीहरू पिताम्बर शर्मा, खगेन्द्र संग्रौला, प्राध्यापक कृष्ण पोखरेललगायतले सामाजिक सञ्जाल फेसबुकबाटै भिडियो सन्देश दिँदै रोकाका लागि भोट मागिरहेका छन् । देशभरका बुद्धिजीवीहरूको नजर खोटाङमा सोझिएको बेला नयाँ पार्टीहरू रास्वपा र श्रम संस्कृति पार्टीले काट्ने मतले नै हार–जितको फैसला गर्ने देखिन्छ । फागुन २१ को परिणाम कसको पोल्टामा जान्छ, त्यसका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ ।
- विगतको इतिहास
गणतन्त्रको स्थापना यताका निर्वाचनमा नेपाली कांग्रेसले खोटाङको संसदीय निर्वाचनमा २०७९ सालको प्रदेश सभा निर्वाचनमा भुपेन्द्र राई विजयी भए । उनले बाहेक कांग्रेसबाट सांसदका उम्मेदवार बनेकाहरूले विजयको स्वाद चाख्न पाएका छैनन् । २०४८ र २०५१ सालमा खोटाङमा एमालेले जितेको थियो । २०५६ सालमा भने खोटाङको दुवै क्षेत्रबाट कांग्रेसका शिवकुमार बस्नेत र सर्वधन राई निर्वाचित भएका थिए ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीकी समिता कार्की र रामकुमार राई पासाङ विजयी भए । त्यसबेला एमाले र कांग्रेसका उम्मेदवार पराजित बने । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने एमालेका विशाल भट्टराई र पाँचकर्ण राई विजयी भए । माओवादी देशैभरबाट पराजित भइरहँदा पनि कांग्रेसले खोटाङमा अर्को वामपन्थी दल एमालेलाई पराजित गर्न सकेन ।
पुनः २०७४ सालमा खोटाङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विशाल भट्टराईले ३७ हजार ८३७ मत ल्याएर कांग्रेसका सरस्वती वजिमयलाई पराजित गरेका थिए । कांग्रेसका वजिमयको २३ हजार ४६५ मत थियो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने कांग्रेससहित ५ दलको सहयोगमा तत्कालीन माओवादी केन्द्रका रामकुमार राई विजयी भए । राईले ३१ हजार ३५१ मत ल्याउँदा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत ल्याएका थिए ।
२०७९ सालमा खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । एमालेले २४ हजार २७१, कांग्रेसले १८ हजार ६७२, तत्कालीन माओवादीले ११ हजार ८४५ र तत्कालीन एकीकृत समाजवादीले ३ हजार ३६३ मत ल्याएका थिए । रास्वपाले भने समानुपातिकमा त्यसबेला १ हजार ४९७ मत ल्याएको थियो ।
- मतदाताको अवस्था
खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता छन् । जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता छन् भने सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता छन् ।
एक हजार ८८१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण