मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मुस्ताङमा चुनावी गतिविधि सुनसान

गाउँमा छैनन् उम्मेदवार र मतदाता

मङ्गलबार, ०५ फागुन २०८२, १३ : ००
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • मुस्ताङमा निर्वाचन नजिकिए पनि चिसोको कारणले चुनावी चहलपहल कम देखिएको छ।
  • अधिकांश मतदाता र उम्मेदवार जाडो छल्न सहर झरेका कारण चुनावी गतिविधि सुस्त छन्।
  • उम्मेदवारहरूले पोखरा र काठमाडौँमा रहेका मतदातासँग भेटघाट गरिरहेका छन् र केही दिनमा मुस्ताङ जाने तयारीमा छन्।
00:00 / NaN:NaN
Audio By AI

बागलुङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै पूरै मुलुक निर्वाचनमय बनेको छ । गाउँ-सहरका चोकदेखि चौतारीसम्म चुनावकै चर्चा भइरहेको छ । तर हिमाली जिल्ला मुस्ताङमा भने चुनावी चहलपहलले छोएजस्तो लाग्दैन । गाउँबस्ती सुनसान छन् । जिल्ला सदरमुकाम जोमसोममा पनि त्यति चुनावी गतिविधि भएका छैनन् । 

चिसो छल्न मंसिरमा सहर झरेका मुस्ताङी उम्मेदवार र मतदाता अझै गाउँ उक्लिसकेका छैनन् । उम्मेदवार पनि अधिकांश सहरतिरै छन् । चिसो कम हुनासाथ स्थानीय गाउँ उक्लिन सुरसार गर्दैछन् ।

आसन्न निर्वाचनका लागि उम्मेदवारी दिन माघ ६ गते मुस्ताङ पुगेका उम्मेदवार पनि सहरतिरै छन् । धेरैजसो उम्मेदवारले मतदाता रिझाउन पोखरा, काठमाडौँमै घरदैलो गरेको पाइन्छ । मुस्ताङमा अत्यधिक चिसो हुने हुँदा अधिकांश स्थानीय हिउँदभरि सहरमा बस्ने गर्छन् । यति बेला जोमसोम बजारमा पर्यटकको चहलपहल भए पनि माथिल्लो क्षेत्र सुनसानै छ । 

Jomsom

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार ङुटुङ गुरुङ मुस्ताङ उक्लिए पनि अरु धेरै उम्मेदवार पोखरा र काठमाडौंमै छन् । 

घरपझोङ गाउँपालिका–३ का आदित्य रसाइलीका अनुसार ८० प्रतिशतभन्दा बढी मतदाता देशका ठुला सहरमा जाडो छल्न झरेका छन् । हरके वर्ष मंसिरदेखि चैतसम्म मुस्ताङीहरु सहरमै रहने उनी बताउँछन् । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकासहित विभिन्न ठाउँमा अहिले हिउँ परेको छ, जसका कारण बसोबासमा कठिनाइ हुन्छ । 

‘भोटर सबै बेंसी छन् । भोट हाल्न जान्छन् कि जाँदैनन् । माथिल्लो मुस्ताङवासी त चैतपछि मात्रै गाउँ उक्लिन्छन् । त्यसभन्दा अगाडि त हिउँले गर्दा बस्नै सकिने अवस्था हुँदैन,’ रसाइली भन्छन्, ‘यसपालि जाडो नसकिँदै चुनाव हुन थाल्यो । मतदाता पो कति सहभागी हुन्छन् ?’

उम्मेदवारहरुले एक चरण पोखरा र काठमाडौंमै रहेका मतदातासँग घरदैलो गरेर मत मागिसकेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित विभिन्न ८ दलले उम्मेदवारी दर्ता गरेका छन् । 

कांग्रेसबाट उम्मेदवार बनेका योगेश गौचन थकाली आफन्त बिरामी हुँदा लामो समय भारतमा उपचारका लागि बस्नु परेकाकाले मतदातासँग भेटघाट गर्न नपाएको बताउँछन् ।

Yogesh Gauchan

‘चुनाव नजिकै आयो, मैले त अहिलेसम्म घरदैलो पनि गरेको छैन । मतदातासँग सामान्य छलफल पनि भएको छैन । आफन्त बिरामी परेको हुँदा धेरै समय इण्डियामा रहेँ, आएको केही दिन मात्रै भयो,’ गौचन भन्छन्, ‘गाउँका सबै मतदाता बजारतिर छन्, चिसो कम भयो भने मात्रै मुस्ताङ उक्लिन्छन्, अब मतदातासँग भेटभाट गर्ने र पाँच/सात दिनमा मुस्ताङ उक्लिन्छु ।’

एमालेका उम्मेदवार इन्द्रधारा ढाडु विष्ट आफू काठमाडौंमै भएका मतदातासँग छलफलमा रहेको सुनाउँछन् । 

Indradhara Bista

‘मुस्ताङमा अझै चिसो छ, यति छिटै माथि उक्लिएर के गर्ने ? सबै मतदाता काठमाडौंमै छन्,’ उनी भन्छन्, ‘मेरो मुख्य एजेण्डा मुस्ताङको पर्यटन प्रवर्द्धन र कोरला नाकामा नेपालतर्फ पूर्वधार निर्माण गर्ने हो । यही कुरा सहरमा भएका मतदातालाई सुनाएको छु । केही दिनमै फर्किन्छु । अहिले त माथि कोही पनि छैनन् ।’

नेकपाका उम्मेदवार ङुटुङ गुरुङ भने सोमबार पोखराबाट मुस्ताङ उक्लिएका छन् । पोखरा र काठमाडौंमा मतदातासँग भेटघाट गरिसकेपछि मुस्ताङ उक्लिएको उनी बताउँछन् । 

Ngutung Gurung

‘चिसोका कारण अहिले पनि मुस्ताङ सुनसान छ । बिस्तारै गर्मी बढ्ला । मतदाता पनि पाँच/सात दिनमा माथि (मुस्ताङ) उक्लिएलान्,’ उनी भन्छन्, ‘यसपालि चुनाव जित्छु । अघिल्लो चुनावभन्दा यसपालि अलि फरक छ । अहिले धेरै पार्टी मिलेर एक भएका छौँ । देशको भ्रष्टाचारलाई निर्मूल पार्नुपर्छ ।’

रास्वपा उम्मेदवार अद्वितीय चन्द्र थकाली काठमाडौंमा रहेका मतदातासँग छलफलमा रहेको बताउँछन् । 

Adwitiya Thakali

‘मतदता सबै सहरमा छन् । म मात्रै मुस्ताङ गएर काम छैन । मैले त मतदातालाई छोड्न मिल्दैन । कहाँ गयो उम्मेदवार भन्छन्,’ उनी भन्छन्, ‘अब यति छिट्टै माथि उक्लिएर पनि काम छैन । चुनावी प्रचार र घरदैलो यही भइरहेको छ ।’

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कुल ११ हजार ३२८ जना मतदाता छन् भने ३९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । 

मुस्ताङमा मुख्य चार दलका साथै आम जनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कमला लालचन र उज्यालो नेपाल पार्टीबाट डा. सुरेन्द्र शेरचन समेत चुनावी मैदानमा उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप