सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
टी-२० विश्वकप

सुपर-८ मा पुगिसकेको दक्षिण अफ्रिका र यूएई पहिलो पटक आमनेसामने

बुधबार, ०६ फागुन २०८२, ०६ : ३३
बुधबार, ०६ फागुन २०८२

सारांश

  • टी-२० विश्वकपमा दक्षिण अफ्रिका र यूएईबीचको खेल दिल्लीमा हुँदैछ, जुन बिहान ११:१५ बजे सुरु हुनेछ।
  • दक्षिण अफ्रिकाले सुपर-८ मा स्थान पक्का गरिसकेको छ, भने यूएई सुपर-८ को दौडबाट बाहिरिएको छ।
  • एडेन मार्कराम र लुंगी एनगिडी दक्षिण अफ्रिकाका प्रमुख खेलाडी हुन्, भने सोहैब खान र जुनैद सिद्दिकी यूएईका प्रमुख खेलाडी हुन्।

नयाँ दिल्ली । दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) बिच बुधबार टी-२० विश्वकपको ३४औँ खेल खेलिँदैछ। यो रोमाञ्चक खेल दिल्लीको अरुण जेटली स्टेडियममा बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। 

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा दक्षिण अफ्रिका र यूएई पहिलो पटक एकअर्का विरुद्ध मैदानमा उत्रिँदैछन्।

दक्षिण अफ्रिकाले आफ्ना सुरुवाती तिनै खेल जितेर सुपर-८ मा स्थान पक्का गरिसकेको छ। उसले पहिलो खेलमा क्यानडालाई ५७ रनले, दोस्रोमा अफगानिस्तानलाई डबल सुपर ओभर मा र तेस्रो खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो। ६ अङ्कका साथ टोली ग्रुप-डी को अङ्क तालिकाको शीर्ष स्थानमा छ।

अर्कोतर्फ, यूएईको टोली सुपर-८ को दौडबाट बाहिरिइसकेको छ। क्यानडालाई ५ विकेटले हराए पनि यूएईले न्युजिल्यान्ड र अफगानिस्तानसँग हार बेहोर्नुपरेको थियो। ३ खेलमा २ अङ्क बटुल्दै यूएई अङ्क तालिकाको चौथो स्थानमा छ।

टी-२० विश्वकपमा दुवै टोलीको प्रदर्शन
दक्षिण अफ्रिकाले टी-२० विश्वकपको इतिहासमा ५२ खेल खेलेको छ, जसमा ३५ खेलमा जित र १६ खेलमा हार बेहोरेको छ।

उता यूएईले टी-२० विश्वकपमा अहिलेसम्म ८ खेल खेलेको छ। जसमा उसले केवल २ खेल जितेको छ भने ७ खेलमा पराजय भोग्नुपरेको छ।

दक्षिण अफ्रिकाका प्रमुख खेलाडीहरू
ब्याटिङ:
दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्करामले सर्वाधिक रन बनाएका छन्। उनले ३ खेलमा १७८.५७ को स्ट्राइक रेटमा १५० रन बनाएका छन्, जसमा ८६ (नटआउट) रन उनको उत्कृष्ट स्कोर हो।

south a

बलिङ: बलिङतर्फ लुंगी एनगिडीले उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलमा ७.५८ को इकोनोमीमा ८ विकेट लिएका छन्। ३१ रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो।

यूएईका प्रमुख खेलाडीहरू
ब्याटिङ: प्रतियोगितामा सोहैब खानले यूएईका लागि सर्वाधिक रन बनाएका छन्। उनले ३ खेलमा १५७.५ को स्ट्राइक रेटमा १२६ रन जोडेका छन्। ६८ रन उनको उत्कृष्ट स्कोर हो।

uae

बलिङ: बलिङमा जुनैद सिद्दिकीले टोलीका लागि सर्वाधिक विकेट लिएका छन्। उनले ३ खेलमा ९.२६ को इकोनोमीमा ७ विकेट लिएका छन्। ३५ रन दिएर ५ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो।

पिच रिपोर्ट
दिल्लीको अरुण जेटली स्टेडियमको बाउन्ड्री सानो भएकाले ब्याट्सम्यानलाई चौका-छक्का प्रहार गर्न सहज हुन्छ। यहाँ खेलिएका १२ टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ पटक लक्ष्य पछ्याउने (चेज गर्ने) टोलीले जितेको छ भने ५ पटक पहिले ब्याटिङ गर्ने टोलीले स्कोर डिफेन्ड गरेको छ। दिउँसोको खेल भएकाले शीतको प्रभाव रहनेछैन, तर पनि टोलीहरू टस जितेर फिल्डिङ रोज्न सक्छन्।

मौसमको अवस्था
बुधबार दिल्लीको मौसम धेरैजसो समय बादलले ढाक्नेछ। कतै-कतै मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। तापक्रम करिब २६–२८ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ।

दुवै टोलीको सम्भावित प्लेइङ-११
दक्षिण अफ्रिका: एडेन मार्कराम (कप्तान), क्विन्टन डी कक, रायन रिकेल्टन, डेवाल्ड ब्रेभिस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को जानसेन, कोर्बिन बोश, कागिसो रबाडा, केशव महाराज र लुंगी एनगिडी।

यूएई: अर्यांश शर्मा (विकेटकिपर), मुहम्मद वसिम (कप्तान), अलिशान सराफु, सोहैब खान, सिमरनजीत सिंह, हर्षित कौशिक, मुहम्मद अरफान, मुहम्मद फारुक, हैदर अली, जुनैद सिद्दिकी, मुहम्मद जवादुल्लाह।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप