मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रुकुम–रोल्पा मेरो राजनीतिक कर्मथलो, अब यसलाई विकासको नमुना बनाउँछु : प्रचण्ड

बुधबार, ०६ फागुन २०८२, १९ : ४६
बुधबार, ०६ फागुन २०८२

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको आधारभूमिका रूपमा रहेको रुकुमपूर्वलाई अब विकासको नमुना जिल्ला बनाउने उद्घोष गरेका छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस क्षेत्रसँग आफ्नो दशकौँ पुरानो भावनात्मक सम्बन्ध रहेको स्मरण गरे । 

४१ वर्षअघि नै आफू यस क्षेत्रमा आएको चर्चा गर्दै प्रचण्डले रुकुम र रोल्पाकै जगमा जनयुद्धको नेतृत्व गरेको र अहिले यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए। खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनताको उत्साहलाई विजय उत्सवको संज्ञा दिए।

प्रचण्डले वर्तमान निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने विशिष्ट राजनीतिक प्रतिस्पर्धाको रूपमा व्याख्या गरे। चुनावमा तीन फरक प्रवृत्तिबिच लडाइँ भइरहेको दाबी गर्दै उनले हत्या, हिंसा र विध्वंस मच्चाउने शक्ति तथा सुशासन र गणतन्त्रको पक्षमा उभिएको शक्तिबिच जनताले फैसला गर्नुपर्ने उल्लेख गरे । 

गत भदौ २३ र २४ गतेका हिंसात्मक घटनातर्फ सङ्केत गर्दै उनले मान्छे मार्ने र आगजनी गर्ने प्रवृत्तिलाई हराएर भ्रष्टाचारविरुद्धको अभियानमा लागेको शक्तिलाई जिताउन आह्वान गरे। यो निर्वाचन देशलाई दुर्घटनाबाट जोगाउने कडी भएको उनको तर्क थियो ।

आफ्नो पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको राष्ट्रिय अभियानमा दृढतापूर्वक उभिएको बताउँदै प्रचण्डले जनताले सकारात्मक शक्तिलाई नै साथ दिने विश्वास व्यक्त गरे। निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै उनले सुरक्षा निकायप्रति भरोसा प्रकट गरे । 

भौगोलिक र भौतिक कठिनाइ भए पनि जनताको बिचमा पुग्दा आफूलाई राजनीतिक रूपमा पुनर्ताजगी मिलेको भन्दै उनले रुकुमपूर्वको विकास र समृद्धिका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता दोहोर्‍याए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप