सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिँदै क्यानडाका अनुभवी खेलाडी

बिहीबार, ०७ फागुन २०८२, १५ : ०८
बिहीबार, ०७ फागुन २०८२

काठमाडौँ । क्यानडाका अनुभवी खेलाडी नवनीत धालिवालले चेन्नईमा अफगानिस्तानविरुद्ध हुने समूह चरणको अन्तिम खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका छन् । 

३७ वर्षीय धालिवाल एक दशकभन्दा बढी समयदेखि क्यानडाको ब्याटिङ लाइनअपका प्रमुख हतिहार रहँदै आएका थिए ।  उनले टी–२० अन्तर्राष्ट्रियमा टोलीको कप्तानीसमेत सम्हालेका थिए, जसमा २०२४ को टी–२० विश्वकप पनि समावेश छ । 

प्रि–म्याच पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँ आउनुअघि नै मैले निर्णय गरिसकेको थिएँ । मैले १२ वर्षभन्दा बढी समयदेखि खेल्दै आएको छु । त्यसैले यो योजनाबद्ध निर्णय हो र भोलिको खेल मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ ।’ 

धालिवालले जनवरी २०१५ मा नामिबियामा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताबाट क्यानडाको सिनियर टोलीमा डेब्यु गरेका थिए । जिम्बाब्वे भ्रमणमा क्यानडा  ‘ए’ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । 

उनको नाममा १८ एकदिवसीय  र ४८ टी–२० अन्तर्राष्ट्रिय खेल छन् । २०२४ को टी–२० विश्वकपमा उनले अमेरिकाविरुद्ध ६१ रन बनाएर क्यानडाका लागि विश्वकपमा पहिलो अर्धशतक बनाउने खेलाडी बनेका थिए । उनी टी–२० अन्तर्राष्ट्रियमा क्यानडाका सर्वाधिक रनकर्ता समेत हुन् । उनले २९ टी–२० अन्तर्राष्ट्रियमा कप्तानी गरेका छन्, जसमा क्यानडाले २१ खेल जितेको थियो । 

२०१९ मा वर्ल्ड क्रिकेट लिग–२ बाट ओडीआई मान्यता जोगाउन असफल भएपछि क्यानडाको पुनर्निर्माण यात्रामा धालिवाल महत्वपूर्ण भूमिका खेले । २०१९–२०२३ क्रिकेट विश्वकप च्यालेन्ज लिगअन्तर्गत मलेसिया र घरेलु मैदानमा भएका प्रतियोगितामा उनले चार पटक ‘प्लेयर अफ द म्याच’ जितेका थिए । 

२०२३ मा क्यानडाले पुनः ओडीआई मान्यता प्राप्त गरेपछि जारी क्रिकेट विश्वकप लिग–२ मा उनले नेपाल र नामिबियाविरुद्ध अर्धशतक बनाउँदै टोलीलाई जित दिलाए । 

उनका अनुसार २०२४ को विश्वकपका लागि छनोट हुनु नै उनको करिअरको सबैभन्दा स्मरणीय क्षण हो । उनले भने, ‘हामी पहिलो पटक २०२४ टी–२० विश्वकपमा छनोट हुँदा त्यो सबैभन्दा ठूलो उपलब्धि थियो । विश्वकपको पहिलो खेलमा रन बनाउनु र कप्तान बन्नु मेरो लागि गर्वको क्षण थियो ।’ 

खेल जीवन समाप्त भए पनि उनी क्रिकेटसँगै रहने इच्छा उनले राखेका छन् । 

‘म प्रशिक्षक बन्ने सोचमा छु, तर राष्ट्रियस्तरमा होइन । मेरो प्राथमिकता युवा खेलाडी हुनेछन् । युवालाई प्रशिक्षण दिन पाउँदा मलाई खुसी मिल्छ । क्रिकेट रगतमा बसेपछि एकैचोटि छोड्न गाह्रो हुन्छ,’ उनले भने । 

टी–२० विश्वकप २०२६ मा धालिवालले तीन खेलमा १०८ रन बनाइसकेका छन्, जसमा दक्षिण अफ्रिकाविरुद्ध ६४ रनको इनिङ्स पनि समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप