स्वास्थ्य बीमाका लागि मन्त्रालयले गर्यो २२ शीर्षकबाट ७५ करोडभन्दा बढी रकमान्तर
सारांश
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम बचाउन ७५ करोड रकमान्तर गरेको छ।
- आर्थिक संकटमा परेको स्वास्थ्य बीमा बोर्डलाई जोगाउन मन्त्रालयले विभिन्न शीर्षकबाट रकम सारेको हो।
- बोर्डले अस्पताललाई भुक्तानी गर्न नसक्दा कार्यक्रम प्रभावित भएको र प्रधानमन्त्रीले आवश्यक रकम व्यवस्थापन गर्न निर्देशन दिएकी छिन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयका चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेर आर्थिक संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रम बचाउने प्रयास सुरु गरेको छ ।
स्वास्थ्य बीमा बोर्डलाई जोगाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
‘स्वास्थ्य विमा कार्यक्रम आर्थिक संकटमा पर्यो । विमा बोर्डलाई जोगाउनु पर्ने आवश्यकता देखियो । त्यसैले मन्त्रालयका चालु अवस्थामा रहेका २२ शीर्षकबाट ७५ करोड, ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेका छौँ,’ प्रवक्ता डा. बुढाथोकीले रातोपाटीसँग भने, ‘अन्य मन्त्रालयका महाशाखा र विभागलाई पनि रकमान्तर गर्न मिल्ने बजेट हेर्न भनेका छौँ । सँगै अर्थ मन्त्रालयलाई अन्य मन्त्रालयबाट रकमान्तर गर्न मिल्ने बजेट खोजेर स्वास्थ्य बीमालाई दिन पर्यो भन्दै पैरवी गरिरहेका छौँ ।’
मन्त्रालयले आर्थिक वर्षको चालु बजेटबाट रकमान्तर गर्न सक्छ । त्यही प्रावधान अनुरूप कम महत्त्वपूर्ण शीर्षकका लागि छुट्ट्याइएको रकम रकमान्तर गरिएको जानकारी प्रवक्ता बुढाथोकीले दिए ।
बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । बोर्डले भुक्तानी रोकेपछि धेरै अस्पतालले स्वास्थ्य बीमाका कार्यक्रम रोकेका छन् । त्यसपछि मन्त्रालयले यसबारे चासो देखाएर चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै स्वास्थ्य बीमा बोर्डमा रकमान्तर गरेको हो ।
बोर्डले अहिलेसम्म सेवा प्रदायक अस्पताललाई तिर्न ११ अर्व रुपैयाँ बराबरको दायित्व छ । त्यो दायित्व प्रत्येक महिना २ अर्बका दरले थपिँदै जाने अवस्था रहेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य बीमाको भुक्तानी नपाउँदा आर्थिक संकटमा परेको भन्दै ठुला सरकारी अस्पतालहरूले बीमा कार्यक्रमबाट हात झिक्न सुरु गरेपछि दबाबमा परेको मन्त्रालयले थोरै रकम भए पनि रकमान्तर गरेर बचाउने प्रयास थालेको हो ।
मन्त्रालयको निर्णयानुसार अर्थ मन्त्रालयले रकम रकमान्तर गरेर स्वास्थ्यमा पठाइसकेको छ ।
केही दिनअघि स्वास्थ्य बिमाबारे प्रधानमन्त्री सुशीला कार्कीले पनि चासो राख्दै सम्बन्धित निकायको बैठक बोलाएर बीमा बोर्डका लागि आवश्यक रकम ऋण गरेर पनि व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले रकमान्तरमा ५ लाखदेखि ५० करोड रुपैयाँसम्मका शीर्षक समेटिएका र यी कार्यक्रम काटिँदा ठुलो असर नपर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण