रौतहटको गौरमा पुनः झडप, अवस्था तनावग्रस्त
सारांश
- रौतहटको गौर नगरपालिका-६ सवगढामा शनिबार बिहान झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ।
- दुई पक्षबीचको झडप नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
- यसअघि दुई समुदायबीचको विवादपछि भएको झडपमा केही व्यक्ति घाइते भएका थिए।
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार बिहान पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ।
जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुंगा–मुढा हुन थालेपछि स्थिति तनावपूर्ण बनेको हो।
झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी खटिएका छन्।
यसअघि जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा वार्ता भएको थियो। वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने लगायत ६ बुँदे प्रतिबद्धता गरिएको प्रशासनले जनाएको थियो।
यस घटनाअघि सवगढामा विवाहको जन्ती जाँदा दुई समूदायबिच विवाद उत्पन्न भई ढुंगा हानाहान भएको थियो। सो घटनामा केही व्यक्ति घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब सवा ९ बजे चार–पाँच सय जनाको भीड जम्मा भएपछि पुनः झडप भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणका लागि १२ राउण्ड हवाई फायर तथा ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन्।
घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण