सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जागिर नपाएपछि बमको धम्की : जेल जानकै लागि युवाले रचे यस्तो योजना

शनिबार, ०९ फागुन २०८२, १३ : २५
शनिबार, ०९ फागुन २०८२

सारांश

  • रुसका एक युवकले जागिर र बासको अभावमा जेल जाने योजना बनाएर बमको झुटो धम्की दिए।
  • उनलाई अदालतले ३ वर्ष २ महिनाको जेल सजाय सुनायो, जसले उनको 'जेल जाने सपना' पूरा गर्यो।
  • उनले विमानस्थलमा बमको धम्की दिएपछि पक्राउ परे र मनोवैज्ञानिक परीक्षणमा स्वस्थ देखिए।

मस्को । आधुनिक विश्वमा मानिसहरू स्वतन्त्रताका लागि संघर्ष गर्छन्, तर रुसका एक २० वर्षीय युवकले भने गाँस र बासको जोहो गर्नकै लागि जेल जाने अनौठो बाटो रोजेका छन्। रुसको बास्कोर्टोस्तान गणतन्त्रका ओलेग (परिवर्तित नाम) ले काम र बस्ने ठेगान नभएपछि जेल जाने योजना बनाएर बमको झुटो धम्की दिएका हुन्। 

हालै अदालतले उनलाई सोही अभियोगमा ३ वर्ष २ महिनाको जेल सजाय सुनाएपछि उनको ‘जेल जाने सपना’ पूरा भएको छ। सैन्य सेवा पूरा गरेपछि ओलेग रोजगारीको खोजीमा रुसी सहर उफा पुगेका थिए। धेरै प्रयास गर्दा पनि काम नपाएपछि र गोजीमा सुको पैसा नरहेपछि उनी निकै हतास बने। 

तीन दिनसम्म भोकभोकै सडकमा भौतारिएपछि उनले जेल गएमा कम्तीमा दिनको दुई छाक खान र टाउको लुकाउने ओत पाइने सोचेर अपराध गर्ने योजना बुने। सुरुमा उनले एउटा होटलमा छिरेर आफ्नो झोलामा बम भएको धम्की दिए, तर होटलका कर्मचारीले उनलाई पत्याएनन्। त्यसपछि उनी झ्यालबाट हाम फालेर सिधै विमानस्थल पुगे।

उफा विमानस्थलको टर्मिनलमा पुगेर उनले आफ्नो झोला माथि उठाउँदै आफूसँग बम भएको र पड्काइदिने भन्दै चिच्याउन थाले। उनले प्रहरी र वार्ता टोली नआउन्जेल कसैलाई नजिक नआउन चेतावनी समेत दिए। सुरक्षाकर्मीले उनको झोलामा कुनै तार वा विस्फोटक उपकरण नदेखेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए। खानतलासी गर्दा केही नभेटिएपछि ओलेगले आफूले जानीजानी पक्राउ पर्नका लागि झुट बोलेको स्वीकार गरे।

मनोवैज्ञानिक परीक्षणमा ओलेगको मानसिक अवस्था स्वस्थ पाइएको छ। अदालतले उनलाई सार्वजनिक सुरक्षामा खलल पुर्‍याएको र त्रास फैलाएको अभियोगमा दोषी ठहर गर्दै श्रम शिविर (पेनल कोलोनी) मा पठाउने फैसला गरेको छ। 

रुसमा रोजगारी र गरिबीका कारण मानिसहरू जानाजानी पक्राउ पर्न खोजेको यो पहिलो घटना भने होइन। यसअघि पनि बिरामी र एक्लो महसुस गर्नेहरूले सरकारी आश्रय र उपचारका लागि जेल पठाउन आग्रह गरेका घटनाहरू सार्वजनिक हुने गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप