शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिमका मुख्य नाकाको दृश्य

कसैलाई भोटको उल्लास, कसैलाई भोकको चिन्ता

सोमबार, ११ फागुन २०८२, १८ : ०३
सोमबार, ११ फागुन २०८२

सारांश

  • सुदूरपश्चिममा चुनावको चहलपहल बढ्दै गर्दा रोजगारीको लागि भारत जाने र भोट हाल्न फर्किनेहरूको चाप सीमा नाकाहरूमा देखिएको छ।
  • कैलाली र दार्चुलाका नागरिकहरू परिवर्तनको आशामा भोट हाल्न फर्किएका छन् भने कतिपयले रोजगारीका कारण भोट हाल्न नपाउने गुनासो गरेका छन्।
  • सुदूरपश्चिम प्रदेशमा १७ लाखभन्दा बढी मतदाता छन्, तर चुनावको माहोलमा पनि रोजगारीको लागि भारत जानेहरूको संख्या उल्लेख्य रहेको छ।

धनगढी । फागुन २१ गतेको हुन लागेको चुनावको सरगर्मी यतिबेला सुदूरपश्चिमका गाउँदेखि सहरसम्म पनि छ । तर प्रदेशमा कुन उम्मेदवारले बाजी मार्ला भन्ने अड्कलबाजी चलिरहँदा भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका मुख्य नाकाहरूमा अवस्था अलि फरक छ । 

बढी चहलपहल हुने त्रिनगर भन्सार नाकामा काँधमा झोला बोकेर जसरी पनि भोट हाल्ने भन्दै फर्किरहेका छन् भने कोही चुनावी माहोलमा भोटभन्दा भोक प्यारो भन्दै रोजगारीका लागि भारत पस्नेहरू देखिन्छन् ।

सुदूरपश्चिमबासी रोजगारीका लागि भारतका दिल्ली, मुम्बई, बेङ्गलोरलगायत ठाउँ जाने गर्छन् । यो प्रक्रिया वर्षाैँदेखि चलिरहेको छ । भौगोलिक रूपमा पनि भारतका सहरहरू नजिक पर्ने भएकाले यहाँको ठुलो जनसंख्या भारतमा श्रम बेच्न बाध्य छ । चाडपर्वमा मात्रै घर फर्किने यी परदेशीमध्ये केही भोट हाल्नकै लागि गाउँ फर्किरहेका छन् । 

कैलालीको गौरीगंगा नगरपालिकाका रामजनक चौधरी आइतबार त्रिनगर नाका हुँदै घर फर्किंदै थिए, निकै उत्साहित देखिएका थिए । ‘यो पटकको चुनाव निकै महत्त्वपूर्ण छ । वर्षौंदेखि अरूको देशमा पसिना बगायौँ, अब त आफ्नै देशमा केही परिवर्तन होला कि भनेर भोट हाल्न आएको हुँ,’ उनले भने । 

दार्चुलाका कृष्ण विकको मनमा पनि देशमा केही नयाँ परिवर्तन आउने आशा छ । उनी पनि त्यही उत्साह बोकेर सीमा नाका पार गर्दै थिए । त्यस्तै, बझाङका हरि धामी पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्न आइरहेका थिए । ‘मैले अहिलेसम्म भोट हालेको छैन । पहिलो पटक भोट हाल्न पाइने भएकाले काम बिदा मिलाएर घर फर्केको हुँ,’ उनले भने । 

कतिपय आफ्नै पुरानो पार्टीलाई जिताउने सुरले नेपाल फर्किएका देखिए । दुई दिन अगाडि मात्रै नेकपा एमालेको झन्डा नै बोकेर एउटा हुल गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएको थियो । प्रदेश निर्वाचन कार्यालयको पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिममा १७ लाख १५ हजार ७६० जना मतदाता छन् । २०७९ मा यहाँ १६ लाख ६९ हजार ४११ मतदाता थिए । 

gaurifanta-naka2

यसपटक यहाँ महिला मतदाताको संख्या बढी छ । ८ लाख ६४ हजार ४२३ महिला हुँदा ८ लाख ५१ हजार ३१९ पुरुष र १८ जना अन्य मतदाता छन् ।  निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा छन् । यहाँ ५ लाख ५१ हजार ५२ जना मतदाता छन् । सबैभन्दा कम बाजुरामा (८६ हजार ९६१ जना) मतदाता छन् । यस्तै, कञ्चनपुरमा ३ लाख १४ हजार ३८५, अछाममा १ लाख ६५ हजार ३३७, बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३, डडेलधुरामा ९३ हजार ४०३ र दार्चुलामा ९२ हजार ९४८ मतदाता छन् । 

तथ्यांकमा मतदाताको संख्या बढेको देखिए पनि तीमध्ये कतिले मतदानका दिन बाकसमा मत खसाल्न पाउनेछन् भन्ने यकिन छैन । किनकि, देशमा चुनावको माहोल बन्दै गर्दा रोजगारीको खोजीमा देश छोड्नेहरूको ताँती सीमा नाकामा ठुलै छ । 

डोटीकी गीता दमाईको परिवारलाई चुनावले छोएको छैन । उनको परिवार वर्षौंदेखि भारतको मुम्बईमा बस्दै आएको छ । श्रीमान् त्यहाँको एक अपार्टमेन्टमा सुरक्षा गार्डका रूपमा काम गर्छन् । केही दिनको घरायसी कामले गर्दा दुई छोराछोरी र श्रीमानसँगै गाउँ आएकी गीता, चुनाव आउनै लाग्दा भारत फर्किंदै थिइन् । 

‘चुनाव भएर हामी गरिबलाई के नै हुन्छ र ? हामी त काम गरेर खाने मान्छे हौँ । भोट हालेर हाम्रो चुल्हो बल्दैन,’ उनले भनिन्, ‘हाम्रा लागि त भोटभन्दा भोक प्यारो छ ।’ उनीसँगै भारत पस्न लागेका अन्य १० जनाको लाइनमा अन्य स्थानीयले पनि यही समस्या सुनाए । त्यही लाइनमा भेटिए कैलाली घोडाघोडी नगरपालिकाका ६० वर्षीय दयाराम विक । ‘स्वदेशमा काम पाइँदैन, काम नपाए परिवार कसरी पाल्ने ? यता भोट हाल्न बसौँ भने उता भारतमा भएको जागिर जाने डर छ,’ उनले भने । 

gaurifanta-naka3

सुदूरपश्चिमको गौरीफन्टा नाका हुँदै घर फर्किनेहरूसँग नेताहरूले भोट मागिरहेका थिए । देश छाडेर जानेहरू भने घरमा बसे गुजारा चलाउन नसकने बताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप