देशको चुनावी नतिजाको ‘ऐना’ मनाङले यसपालि के गर्ला ?
सारांश
- मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले निर्वाचन जितेका छन्, र एमालेले उनलाई समर्थन गरेको छ।
- मनाङले पहिले पनि राष्ट्रिय चुनावको नतिजाको संकेत गरेको छ, र यस पटक कांग्रेसले जित्ने सम्भावना बलियो छ।
- यस निर्वाचनमा कांग्रेस र एमाले एउटै कित्तामा उभिएका छन्, र रास्वपाले उम्मेदवारी दिएन।
पोखरा । २०७९ सालको आम निर्वाचनमा मतदान सकिएको २४ घण्टा पनि नबित्दै हिमालपारिको जिल्ला मनाङले नतिजा सुनायो– ‘नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी ।’ उक्त निर्वाचनमा देशभरबाटै कांग्रेस पहिलो दल बन्यो । नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराएर उनी निर्वाचित भएका थिए भने एमाले दोस्रो दल बनेको थियो ।
त्यसको ठीक ५ वर्षअघि २०७४ को निर्वाचनमा पनि देशैभरबाट पहिलो नतिजा यही मनाङबाटै आएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पोल्देन छोपाङ गुरुङले नेपाली कांग्रेसका टेकबहादुर गुरुङलाई हराएर चुनाव जितेका थिए । संयोग कस्तो भने, त्यस चुनावमा नेकपा देशमै पहिलो पार्टी बन्यो भने कांग्रेस दोस्रो भयो ।
त्यसअघि २०७० मा कांग्रेसका टेकबहादुरले जित्दा कांग्रेस नै पहिलो पार्टी बनेको थियो भने २०६४ मा माओवादीका देवबहादुर गुरुङ विजयी हुँदा देशैभर माओवादीको वर्चस्व थियो । गणतन्त्र स्थापनायताका हरेक निर्वाचनमा मनाङले जसलाई जिताएर पठाउँछ, संसद्मा उही दल पहिलो हुने गरेको छ ।
देशकै चुनावी नतिजाको संकेत गर्ने मनाङमा यसपालि भने फरक दृश्य देखिएको छ । सधैँका मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमाले एउटै कित्तामा उभिएका छन् । चुनावको मुखमा यहाँका लामाहरूले कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारलाई एकै ठाउँमा राखेर चिठ्ठा थुत्न लगाएका थिए । सर्त थियो– ‘जसलाई चिठ्ठा पर्छ, बाँकीले उसैलाई सघाउने ।’
संयोगले चिठ्ठा कांग्रेसका टेकबहादुर गुरुङलाई पर्यो । एमालेका पोल्देन छोपाङ र राप्रपाका कुविरसिंह गुरुङले केन्द्रसँग सोध्दै नसोधी उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई ‘वाकओभर’ दिए । हिजोसम्म एकअर्काका कट्टर प्रतिस्पर्धी मानिने एमाले र कांग्रेसका नेताहरू अहिले एउटै मञ्चबाट ‘रुख’ चिह्नमा भोट मागिरहेका छन् ।

कांग्रेसका टेकबहादुरलाई चुनौती दिन नेपाली कम्युनिस्ट पार्टीले देव गुरुङकी पत्नी यशोदा सुवेदीलाई अघि सारेको छ । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले पनि प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उम्मेदवारी नै दिएन । रास्वपाका उम्मेदवार अनिल गुरुङ टिकट लिएर काठमाडौँबाट मनाङ नपुग्दै मनोनयनको समय सकिएको थियो । यसपटक मनाङको प्रत्यक्ष मतपत्रमा तीनवटा मात्र चुनाव चिह्न हुनेछन् ।
काठमाडौँ र पोखरामा रहेका मतदाताहरू जिल्ला फर्किने क्रम सुरु भएको छ । करिब ७ हजार मतदाता रहेको मनाङमा ५० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको छ । थोरै मतदाता भएकाले यहाँको नतिजा सधैँ सबैभन्दा छिटो आउने गर्छ । यसपालि एमालेको समेत समर्थन पाएकाले कांग्रेसका टेकबहादुरलाई चुनाव जित्न धेरै सहज छ ।
तर, सबैलाई चासो एउटै कुराको छ– ‘के यसपालि पनि राष्ट्रिय राजनीतिमा मनाङको नतिजाले प्रभाव पार्ला ?’ पुरानै शृंखला दोहोरियो भने राष्ट्रिय राजनीतिमा फेरि पनि कांग्रेसकै एकल वर्चस्व होला कि फरक परिणाम आउला ? यसको जवाफ भने मतपरिणामपछि मात्रै थाहा हुनेछ ।
२०६४ सालअघिका निर्वाचनहरूमा मनाङमा प्रायः सर्वसम्मत प्रतिनिधि चयन हुन्थे । प्रतिस्पर्धा हुँदा पनि कांग्रेस–एमालेबिचमै चुनाव भएको इतिहास छ । यसपटक मनाङमा १ अस्थायी र २८ स्थायी मतदान केन्द्र तोकिएका छन् । नार्पाभूमि गाउँपालिका र मनाङ ङिस्याङका केही मतदान केन्द्रहरू अझै पनि हिउँले ढाकिएका छन् । नार्पाभूमि जाने बाटोमा हिउँ जमेपछि सुरक्षा निकायले अवरोध खुलाएको छ । मौसम बाधक नबने चुनावका लागि मनाङ पूर्ण रूपमा तयार रहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
उम्मेदवारहरू अहिले जिल्ला पुगिसकेका छन् । अरू क्षेत्रका मतदाता फर्किन सुरु गरे पनि नार्पाभूमिका मतदाताहरू भने १४ गतेपछि मात्रै गाउँ फर्किने तयारीमा छन् । मतदाता गाउँ पुगेपछि मतदानका लागि सुरक्षाकर्मी र कर्मचारीहरू मतदान सामग्री लिएर त्यसतर्फ जाने मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार अहिले मतदान अधिकृत र सहायक कर्मचारीहरूलाई तालिम दिने तयारी चलिरहेको छ । मतदानपछि जतिसक्दो छिटो मतपेटिका सदरमुकाम झार्न आवश्यक योजना बनिसकेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण