सर्लाही-४ : गगनलाई अमरेशको चुनौती, निर्णायक शिवपुजन ‘फ्याक्टर’
सारांश
- सर्लाही-४ मा गगन थापाको घरदैलो अभियान चलिरहेको छ, जहाँ उनलाई स्थानीय नेता र कार्यकर्ताको साथ मिलेको छ।
- क्षेत्रमा कांग्रेसको साख फर्काउन र संगठनलाई पुनर्जीवित गर्न थापा आफैँ मैदानमा उत्रिएका छन्, तर उनलाई जातीय तथा भाषिक चुनौतीहरू छन्।
- उखु किसानहरूको समस्या, स्वास्थ्य सेवाको अभाव र विकासका पूर्वाधारको कमीले मतदाताहरू निराश छन्।
बरथहवा, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को रामनगर गाउँपालिका-४ मा रामनरेश महतोको घर अगाडि सोमबार स्थानीय युवा, महिला र वृद्धवृद्धाको लर्को थियो । केही युवा कुर्सी मिलाउँदै थिए, केही सोफा जस्ता कुर्सीहरू सफा गरेर अग्लो स्थानमा राख्दै थिए । अलि बलिया पुरुषहरू टेन्ट हाल्न हतारिरहेका थिए भने महिलाहरू फूलको माला तयार पार्न व्यस्त थिए । यो सबै तयारीको कारण थियो- गगन थापाको घरदैलो ।
जब गगन थापा आए, ’रामनगर’ गुन्जिने गरी ‘गगन सरकार’को नारा लाग्यो । थापा पनि प्रत्येक मतदातालाई व्यक्तिगत रूपमै भेट्दै थिए । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर कांग्रेस प्रवेश गरेकी नेतृ ममता शर्मा लगायत केही स्थानीय नेता मात्रै थिए । गगन स्थानीय कांग्रेस नेताकै घरमा बसेर चिसो पेय र बिस्कुट खाँदै, हात मिलाउँदै, फोटो खिचाउँदै बिदा हुँदा यो क्षेत्र पूरै उत्साहित देखिन्थ्यो । कार्यकर्ताहरू गगनलाई आफ्नै घरआँगनमा भेट्दा भावुक समेत देखिन्थे । गगन थापा सरल ढङ्गले घरदैलो गरिरहेका थिए । भाषाको केही समस्या भए पनि उनले त्यसलाई जसोतसो मिलाएर संवाद गरिरहेका छन् ।

गगन थापा चुनाव लड्न आएपछि सर्लाही-४ ‘इपिसेन्टर’ बनेको छ । कांग्रेसको गुमेको साख फर्काउन र संगठनलाई पुनर्जीवित गर्न सभापति थापा आफैँ मैदानमा छन् भने अर्कोतिर सधैँ चर्चामा रहने यसै क्षेत्रका निवर्तमान सांसद अमरेशकुमार सिंह आफ्नो व्यक्तिगत प्रभाव र चतुर राजनीतिक चाल मार्फत विरासत जोगाउने कसरतमा छन् । यसैबिच, यस क्षेत्रको राजनीतिमा ‘किङमेकर’ मानिने शिवपुजन यादवले आफ्ना छोरा अमनिशकुमार यादवलाई नेकपा एमालेको ओत लगाएर चुनावी मैदानमा उतार्दा प्रतिस्पर्धा थप रोचक बनेको छ ।
कांग्रेस ‘ब्याक’ हुँदा गगनलाई सहज
यस क्षेत्रको राजनीतिक इतिहासलाई फर्केर हेर्दा रामनगर गाउँपालिकाको फेरिँदो मनोविज्ञानले कांग्रेसलाई निकै उत्साहित बनाएको छ । कुनै समय कांग्रेसको अभेद्य किल्ला मानिने रामनगर पछिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रको पोल्टामा पुगेको थियो । तर स्थानीय राजनीतिक विश्लेषक र कार्यकर्ताहरूका अनुसार त्यो जित माओवादीको आफ्नै सांगठनिक शक्तिका कारण भन्दा पनि कांग्रेसभित्रको चरम अन्तर्घात र विभाजनको परिणाम थियो ।
विशेषगरी अमरेशकुमारले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध आफ्नै प्यानल खडा गरेर कांग्रेसलाई हराउन भूमिका खेलेको आरोप लागेको थियो । तर अहिले अमरेशको पछि लागेर बागी बनेका र पार्टी छाडेका पुराना कांग्रेस नेताहरू अहिले धमाधम मातृ पार्टीमै फर्किरहेका छन् । यस क्षेत्रका केएस राहुल वर्मा, रामविनोद राय र अभिनन्दन सहनी जस्ता प्रभावशाली स्थानीय नेताको कांग्रेस फिर्तीले अमरेशको राजनीतिक जग नराम्ररी हल्लिएको कांग्रेसीहरूको दाबी छ ।
अमरेशलाई ‘घण्टी’ क्रेजको विश्वास
रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह यो क्षेत्रका लागि कुनै नयाँ पात्र होइनन् । प्रतिकूल परिस्थितिलाई पनि आफ्नो पक्षमा मोड्न सक्ने चतुर खेलाडीको रूपमा उनी चिनिन्छन् । लामो समयदेखि यसै क्षेत्रबाट निर्वाचित भएर संसद्मा प्रतिनिधित्व गरिरहेका सिंहको व्यक्तिगत पकड यो क्षेत्रमा बलियो नै देखिन्छ ।

विशेषगरी चुनावी रणनीतिमा ‘साम, दाम, दण्ड, भेद’को प्रयोग गर्न उनी माहिर मानिन्छन् । तर यसपटक उनीमाथि लागेका गम्भीर आरोपहरूले उनलाई रक्षात्मक स्थितिमा पुर्याएको छ । लामो समय सत्ता र शक्तिमा रहेर पनि क्षेत्रको ठोस विकास नगरेको, मतदातालाई आश्वासन मात्र दिएको र आफ्नै स्वार्थका लागि पार्टीभित्र फुट ल्याएको आरोप उनीमाथि लाग्ने गरेको छ । विकास गर्न नसकेको ‘ट्याग’ लाग्नु र कार्यकर्ताहरूलाई धोका दिएको चर्चा चल्नुले उनको चुनावी यात्रालाई कठिन बनाएको छ ।
यद्यपि, अमरेशको बलियो पक्ष उनको व्यक्तिगत सम्बन्ध र नेटवर्किङ हो । मधेसको दक्षिणी भेगमा अझै पनि उनको प्रभाव कायमै छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो क्रेज र बालेन शाहको मधेस आगमनले सिर्जना गरेको माहोललाई उनले चलाखीपूर्वक आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् । ‘मधेसीको छोरा प्रधानमन्त्री बन्नुपर्छ’ भन्ने भावनात्मक नारा र ‘घण्टी’ चिह्नप्रतिको बढ्दो आकर्षणलाई उनले आफ्नो चुनावी हतियारको रूपमा प्रयोग गरिरहेका छन् ।
अमरेशका समर्थक विनय सिंह भन्छन्, ‘अमरेश दाइले जे गरे पनि यो माटोको मान्छे हो । बाहिरबाट आएकाले यहाँको मर्म बुझ्दैनन् । अहिले देशमा स्वतन्त्रको लहर छ, बालेन र घण्टीको जुन माहोल छ, त्यसले अन्ततः उहाँलाई नै बलियो बनाउँछ ।’
रास्वपाको लहरबाट प्रभावित अर्का स्थानीय युवा प्रमोद यादव भन्छन्, ‘पुराना दलहरूले हामीलाई ठगे । घण्टी एउटा आशा हो र अमरेश सिंहले अहिले जुन बाटो लिएका छन्, त्यसले परिवर्तन चाहने युवाहरूलाई जोड्न खोजेको देखिन्छ ।’
गगनलाई पनि कम छैन चुनौती
गगन थापाको उपस्थितिले सर्लाही-४ का युवाहरूमा ठुलो आकर्षण देखिएको छ । गगनको व्यक्तिगत छवि, वाकपटुता र राष्ट्रिय राजनीतिमा उनको अग्लो कदले यहाँका मतदातालाई निकै प्रभावित पारेको छ । कांग्रेसका पुराना कार्यकर्ताहरू जो अमरेशका कारण पाखा लागेका थिए, उनीहरू अहिले गगनकै आह्वानमा उत्साहित भएर पार्टीमा फर्किएका छन् । तर गगनका लागि पनि यहाँ चुनौतीहरू कम छैनन् ।
मधेसको भित्री इलाकामा पहाडी मूलको नेताको स्वीकार्यता र भाषिक अवरोधले केही हदसम्म समस्या पार्न सक्छ । मधेसका ग्रामीण भेगमा अझै पनि जातीय राजनीति र भाषिक सामीप्यलाई ठुलो महत्त्व दिइन्छ, जहाँ गगनले आफ्नो विकासको एजेन्डा स्थापित गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । स्थानीय मतदाताहरूमा अझै एउटा संशय छ— ‘गगन थापा त पहाडका हुन्, मधेसको माटोको समस्या उनले कसरी बुझ्लान् र ?’ भन्ने प्रश्न गल्ली–गल्लीमा सुनिन्छ । तर गगनले आफ्ना स्थानीय प्रतिनिधि र कार्यकर्ता मार्फत यो संशय चिर्ने प्रयास गरिरहेको देखिन्छ ।
गगन थापा आफैँ मैदानमा उत्रिएपछि कांग्रेसका पुराना र असन्तुष्ट कार्यकर्ताहरूमा ठुलो उत्साह देखिएको छ । हजरियाका स्थानीय कांग्रेस नेता रामपृत यादव भन्छन्, ‘हिजो हाम्रैभित्रका केही मान्छेले पार्टी सिध्याउन खोजे, तर आज गगन थापा आउने सुनेपछि हामीमा नयाँ ऊर्जा आएको छ । मधेसलाई अब गाली गर्ने नेता होइन, डेलिभरी दिने प्रधानमन्त्री चाहिएको छ, जुन गगनमा देखिन्छ ।’
त्यस्तै, बरहथवाका अर्का कार्यकर्ता शिवजी साह भन्छन्, ‘हामीले धेरैलाई जिताएर पठायौँ, तर मधेसको भावना काठमाडौंमा कसैले बोलेन । गगन थापा पहाडको भए पनि उनको सोच राष्ट्रिय छ । उनी आउँदा यहाँको विकासले गति लिने विश्वासमा हामी सबै पुराना रिसराग बिर्सेर एक भएका छौँ ।’
पार्टी फर्किएका स्थानीय नेता रामविनोद रायको धारणा पनि उस्तै छ, ‘अमरेश सिंहले कांग्रेसलाई भर्याङ मात्र बनाए । अहिले राहुल वर्मा जस्ता युवाहरू र गगन थापाको भिजनले कांग्रेसलाई फेरि पुरानो गढमा फर्काउँदै छ । हामी अब व्यक्तिको पछाडि होइन, विचार र संगठनको पछाडि लाग्छौँ ।’
निर्णायक शिवपुजन ‘फ्याक्टर’
सर्लाही-४ को राजनीतिमा शिवपुजन यादव एउटा यस्तो शक्तिशाली नाम हो, जसलाई बेवास्ता गरेर कुनै पनि राजनीतिक समीकरण पूरा हुन सक्दैन । उनी आफैंमा एउटा ठुलो ‘भोट बैंक’ हुन् । अघिल्लो निर्वाचनमा उनकी छोरी मधुमालाले स्वतन्त्र रूपमा एक्लै १४ हजारभन्दा बढी मत ल्याउनुले शिवपुजनको पकड र शक्तिको प्रमाण दिन्छ । यसपटक उनले आफ्ना छोरा अमनिशकुमार यादवलाई नेकपा एमालेको तर्फबाट मैदानमा उतारेका छन् ।
एमालेको सांगठनिक मत र शिवपुजनको व्यक्तिगत १० हजारभन्दा बढीको ‘रिजर्भ’ मत जोडिँदा उनी अत्यन्तै शक्तिशाली प्रतिस्पर्धीका रूपमा देखिएका छन् । यदि शिवपुजनले आफ्नो आधार इलाकाको मत जोगाउँदै एमालेको सांगठनिक मतलाई पूर्ण रूपमा परिचालन गर्न सके भने नतिजा उनीहरूको पक्षमा जान सक्ने बलियो सम्भावनालाई कसैले नकार्न सक्दैन ।

२०७९ को निर्वाचनमा प्राप्त समानुपातिक मतको विश्लेषण गर्दा यो क्षेत्रको वास्तविक शक्ति सन्तुलन बुझ्न अझ सहज हुन्छ । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनमा कांग्रेसले १६ हजार २९ मत पाएको थियो । दोस्रो स्थानमा रहेको जनमत पार्टीको १२ हजार ५९५ मत ल्याएको थियो । यसबाट यहाँ डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि बलियो रहेको देखाउँछ । माओवादी केन्द्रको ९ हजार ७९० र एमालेको ९ हजार ४७२ मत आएको थियो । यसरी हेर्दा यो क्षेत्रमा त्रिकोणात्मक भन्दा पनि बहुकोणात्मक प्रतिस्पर्धा हुने संकेत देखिन्छ । अघिल्लो निर्वाचनमा जसपा नेपालले ५ हजार १५२ र लोसपाले ३ हजार ६७३ मत ल्याएकाले उनीहरू पनि हारजितको फैसलामा निर्णायक बन्न सक्छन् ।
कांग्रेसलाई आफ्नो अग्रता जोगाउन निकै चुनौतीपूर्ण छ, किनकि अमरेशकुमारले काट्ने कांग्रेसको परम्परागत मत र रास्वपाको उदयले कांग्रेसको भोट बैंकमा ठुलो धक्का पुर्याउन सक्ने देखिन्छ ।
भौगोलिक र जातीय कार्ड पनि
यो क्षेत्रको निर्वाचन केवल राजनीतिक एजेन्डामा सीमित छैन, गहिरो भौगोलिक र जातीय चुनौतीको घेरामा पनि छ । १ लाख २१ हजारभन्दा बढी मतदाता रहेको सर्लाही-४ भौगोलिक रूपमा निकै विविधतापूर्ण छ । बरहथवा नगरपालिकाका सहरी र अर्धसहरी वडाहरूदेखि धनकौल र रामनगरका दुर्गम ग्रामीण भेगसम्म यो क्षेत्र फैलिएको छ ।
सहरी क्षेत्रमा विकास र सुशासनको नाराले काम गरे पनि ग्रामीण भेगमा अझै पनि जातीय समीकरण र ‘मनी–मसल पावर’को भूमिका निर्णायक देखिन्छ । विशेषगरी यादव, दलित र मुस्लिम समुदायको मत जसको पक्षमा ढल्किन्छ, उसैको जित निश्चित जस्तै हुन्छ । शिवपुजन यादवको यादव समुदायमा बलियो पकड छ भने कांग्रेस र अमरेशकुमार सिंह दलित एवं पिछडिएका वर्गको मत तान्ने होडमा छन् ।
उत्तरी क्षेत्र (हजरिया र बरहथवा)मा रास्वपाको ‘घण्टी’ को लहर बढी देखिन्छ भने दक्षिणी क्षेत्रमा अमरेशको व्यक्तिगत प्रभाव र कांग्रेसको सांगठनिक बलको लडाइँ छ । बालेन शाहको मधेस प्रवेशले सिर्जना गरेको भावनात्मक माहोलले कतिपय मतदातालाई परम्परागत दलहरूबाट टाढा लैजान सक्ने सम्भावना पनि उत्तिकै छ ।
उम्मेदवारको दाउपेच चलिरहेछ, मतदाताको मन जलिरहेछ
उम्मेदवारहरू भोट तान्ने दाउपेचमा लागिरहँदा मतदाताहरू भने आफ्नो दैनन्दिनका समस्यालाई लिएरै चिन्तित छन् । सर्लाही-४ का किसानहरूको अवस्था अत्यन्तै दयनीय छ । ठुला चिनी मिलहरू रहेको यहाँका उखु किसानहरूको समस्या चुनावको सबैभन्दा ठुलो मुद्दा हो ।
ती मिलहरुकै कारण किसान पीडामा छन् । उखु किसानहरूको समस्या यहाँको सबैभन्दा ठुलो चुनावी मुद्दा हो । स्थानीय किसान गौरीशंकर साहका अनुसार मिल मालिकहरू शैलेन्द्र साह र वीरेन्द्र कानोडियाले किसानको करोडौँ रुपैयाँ भुक्तानी रोकेर राखेका छन् । किसानहरूले आफ्नो रगत र पसिना बगाएर उब्जाएको उखुको पैसा नपाउँदा उनीहरूको घरमा चुल्हो बल्न गाह्रो भएको छ ।
.jpg_nRdpjLJWhQ.jpg)
उनीहरू भन्छन्, ‘नेताहरू भोट माग्न मात्र आउँछन्, तर हाम्रा समस्या समाधान गर्न कोही पनि फर्केर आउँदैनन् ।’ मिलले हप्ता–हप्तामा पैसा दिने आश्वासन दिए पनि महिनौँसम्म भुक्तानी नपाउनु यहाँको नियति बनेको छ । सरकारले दिने भनिएको अनुदान र मिलले दिने मूल्य दुवै नपाउँदा किसानहरू ऋणको दलदलमा फसेका छन् ।
विकासका अन्य पूर्वाधारहरूको अवस्था पनि उस्तै निराशाजनक छ । धुलाम्य सडक, बिजुलीको अनियमितता र शुद्ध खानेपानीको अभावले स्थानीय जनता आक्रान्त छन् । स्थानीय युवा सरोजकुमार सिंहका अनुसार युवाहरू अब परिवर्तनको खोजीमा छन् । उनी भन्छन्, ‘अमरेश सिंहले तीन पटक जितेर पनि यहाँको बाटोघाटो र अस्पताल बनाउन कुनै चासो दिएनन् । त्यसैले अहिलेका युवाहरू गगन थापा जस्तो भिजन भएको नेताको पक्षमा देखिएका छन् ।’

तर यहाँ मतदाताहरू अलि निराश पनि सुनिन्छन् । उनीहरूका अनुसार नेताहरू सबै उस्तै हुन्, चुनावका बेला आश्वासन दिन्छन्, तर जितेपछि कसैको अनुहार देखिँदैन । शिक्षा र स्वास्थ्यको अवस्था त झन् भयावह छ । सर्लाही-४ मा अस्पताल र डाक्टरको अभाव छ, जसले गर्दा सामान्य उपचारका लागि पनि भारत वा वीरगन्ज धाउनुपर्ने बाध्यता छ ।
‘हाइप्रोफाइल’ भिडन्तको छायामा उखु किसानको आँसु
सर्लाही-४ को राजनीति यतिबेला देशकै केन्द्रविन्दुमा छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, निवर्तमान सांसद अम्रेश कुमार सिंह र प्रभावशाली नेता शिवपुजन यादवका छोरा अमनिश यादव लगायतको भिडन्तले राष्ट्रिय ध्यान खिचेको छ । तर चिल्ला गाडीको ताँतीभन्दा निकै टाढा यहाँका मतदाताको एउटै साझा प्रश्न छ— ‘हाम्रो उखुको पैसा कहिले आउँछ ?’
यो क्षेत्र उखु खेतीको ‘हब’ मानिन्छ, तर यहाँका किसानका लागि उखु ‘दुःखको बाली’ बनेको छ । राजनीतिक दलहरूले यसलाई चुनावी एजेन्डा त बनाएका छन्, तर किसानको रित्तो खल्ती र चुल्होको पीडा कसैको प्राथमिकतामा परेको छैन । बगदह र धनकौलमा रहेका दुई ठुला चिनी मिलहरू यहाँका किसानका लागि वरदानभन्दा बढी अभिशाप बनेका छन् । धनकौलका स्थानीय किसान गौरीशंकर साहको आँखामा आक्रोश र आँसु सँगै देखिन्छन् । उनी भन्छन्, ‘मिल मालिकहरू शैलेन्द्र साह र वीरेन्द्र कानोडियाले हाम्रो करोडौँ रुपैयाँ रोकेर राखेका छन् । हाम्रै रगत–पसिनाबाट उनीहरू महल बनाउँछन्, तर हामीले छोरीको बिहे गर्न र नातिनातिनाको स्कुल फी तिर्न पनि साहुसँग ऋण लिनुपर्छ ।’

अर्का किसान रामवृक्ष महतो थप्छन्, ‘सरकारले दिने अनुदान टाठाबाठाले खान्छन् । मिलले हप्ता दिनमा पैसा दिन्छु भन्छ, तर वर्ष बित्दा पनि पैसा आउँदैन । हामीलाई गगन थापा वा अमरेश सिंह को आउँछन् मतलब छैन, जसले हाम्रो उखुको पैसा र समयमा मल दिलाउँछ, उही हाम्रा लागि नेता हो ।’ चुनावका बेला नेताहरू खेतमै आएर आश्वासन बाँड्छन्, तर जितेपछि किसानको अनुहारसमेत नहेर्ने गुनासो यहाँका गाउँ–गाउँमा सुनिन्छ ।
स्वास्थ्य र पूर्वाधार : उपचार नपाएर बाटोमै मृत्यु हुने डर
राजनीतिको ठुलो कुरा भइरहँदा सर्लाही–४ को स्वास्थ्य सेवा भने अत्यन्तै दयनीय छ । सिसौट र बरहथवा जस्ता मुख्य ठाउँमा नाम मात्रका स्वास्थ्य केन्द्र छन् । स्थानीय युवा मन्टुसकुमार सिंहका अनुसार सामान्य बिरामी पर्दा पनि एम्बुलेन्स खोजेर वीरगन्ज वा भारतको सीतामढी पुग्नुपर्ने बाध्यता छ ।

‘धुलाम्य सडकको अवस्था यस्तो छ कि बिरामी अस्पताल पुग्नुअघि नै बाटोमै मर्ने अवस्था हुन्छ,’ सिंह भन्छन्, ‘अमरेश सिंहले तीन कार्यकाल जिते, तर एउटा सुविधासम्पन्न अस्पताल बनाउन सकेनन् । अब हामीलाई भाषण होइन, अस्पताल र डाक्टर चाहिन्छ ।’
फोटो/भिडियो : मनोज खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण