मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : तनहुँ–१

‘मलाई कुनै पदको लोभ देखाएर भोट माग्नु छैन, मेरो काम नै परिचय’

बिहीबार, १४ फागुन २०८२, १९ : ३०
बिहीबार, १४ फागुन २०८२

सारांश

  • गोविन्द भट्टराई तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्, र उनी विकासप्रेमी नेताको रूपमा परिचित छन्।
  • भट्टराईले मतदाताको सकारात्मक प्रतिक्रिया पाएको बताउँदै, विगतका गल्तीहरूलाई सुधार गर्दै युवा पुस्ता र आर्थिक समृद्धिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
  • भट्टराईले आफ्नो चुनावी एजेन्डामा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धिलाई जोड दिँदै, तनहुँको विकासका लागि विविध योजनाहरू प्रस्तुत गरे।

काठमाडौं । गोविन्द भट्टराई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । लामो समयदेखि सक्रिय र निष्ठावान् नेताको छवि बनाएका भट्टराई स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । ‘पानी मान्छे’ उपनामले समेत चिनिने भट्टराईले खानेपानी, सडक र शिक्षा जस्ता आधारभूत विकासमा पुर्‍याएको योगदानका कारण जिल्लामा छुट्टै पहिचान बनाएका छन् ।

निर्वाचनको संघारमा विकासका एजेन्डा, बदलिँदो राजनीतिक परिस्थिति, नयाँ दलहरूको उदय र तनहुँको भविष्यका विषयमा केन्द्रित रहेर उम्मेदवार गोविन्द भट्टराईसँग गरिएको कुराकानीको प्रस्तुत गरिएको छ ।

तपाईं नेपाली काँग्रेसको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ को लागि उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रमा तनहुँ जिल्लाको ४२ वटा वडा पर्छन् । अहिलेको यो चुनावी अभियान कसरी अघि बढिरहेको छ र घरदैलोमा जाँदा मतदाताको प्रतिक्रिया अहिलेसम्म कस्तो पाउनुभएको छ ?

अहिले चुनावी अभियान एकदमै तीव्र गतिमा अगाडि बढिरहेको छ । हामी गाउँ–गाउँ, टोल–टोलमा पुगिरहेका छौँ । वास्तवमा भन्नुपर्दा, मतदाताको प्रतिक्रियाचाहिँ अहिले एकदमै सकारात्मक र उत्साहजनक पाएको छु । यो मेरो लागि खुसीको कुरा हो ।

bhatrai-govind

हामीले चुनावी अभियानको क्रममा विगतका केही कुराहरूलाई पनि समीक्षा गर्‍यौं । पहिला हामीले अलिकति गल्ती गरेका रहेछौँ, जसलाई अहिले सच्याउनुपर्छ भन्ने महसुस भएको छ । हिजोका दिनमा हामी सामाजिक सञ्जाल वा बाहिरी हल्लाका भरमा धारणा बनाउँथ्यौँ । तर जब जनताको घरदैलोमा पुगियो, वास्तविकता अर्कै पाइयो । जुन प्रभावमा परेर हामीले धारणा बनाएका थियौँ, अब प्रत्यक्ष भेटघाट र संवादपछि हामी त्यो भ्रम र प्रभावबाट मुक्त हुँदैछौँ भन्ने विश्वास मलाई लागेको छ । जनताले आफ्ना गुनासाहरू राखेका छन्, तर उनीहरूको माया र भरोसा अझै पनि हामीप्रति नै छ भन्ने कुरा अभियानले प्रस्ट पारेको छ ।

तपाईंले पहिले गल्ती गरिएछ भन्नुभयो । कस्तो खालको गल्ती गर्नुभएको थियो र अहिले त्यसलाई कसरी सुधार गर्दै हुनुहुन्छ ?

राजनीतिमा धेरै कुरा सामाजिक सञ्जालको प्रभाव र अरूको कुरा सुनेर धारणा बनाइन्छ । आफूले प्रत्यक्ष रूपमा ग्राउन्डमा गएर अनुभूत नगरेका विषयमा वा जनतासँगको सामीप्यता नभएको अवस्थामा हामीले जे सोच्थ्यौँ, त्यो यथार्थभन्दा फरक पर्न जान्थ्यो ।

हिजो हामीले जसरी मतदान गरियो वा जे आशामा मतदान गरियो, त्यसको मुख्य उद्देश्य भनेको विकास नै थियो । गाउँको मुख्य विषय नै विकास हो । तर जनताको अपेक्षा अनुसारको डेलिभरी अर्थात् सेवा प्रवाह र विकासको गति जुन रूपमा हुनुपर्थ्यो, त्यो हुन सकेन भन्ने गुनासो छ । कतिपय अवस्थामा नउठाउनुपर्ने विषयहरू पनि उठाइए, जसले गर्दा जनतामा केही भ्रम सिर्जना भयो । तर अहिले म के देख्दैछु भने अधिकांश मतदाताहरूको मनस्थिति परिवर्तन भएको छ ।

govind-3

उहाँहरूले बुझ्नुभएको छ, क्षणिक आवेग वा हल्लाको भरमा होइन, निरन्तर काम गर्ने र सुखदुःखमा साथ दिने मान्छेलाई नै रोज्नुपर्छ । त्यसैले अहिले मतदाताहरूको मनोविज्ञानमा आएको यो सकारात्मक परिवर्तनले हामीलाई उत्साहित बनाएको छ । हामीले जनतासँगको प्रत्यक्ष संवादलाई बाक्लो बनाएका छौँ, जसले हिजोको दूरीलाई मेट्दै लगेको छ ।

तपाईंले अब नयाँ चुनावमा जाँदै गर्दा वर्तमान परिस्थिति अघिल्लो पटकभन्दा निकै फरक छ । विशेषगरी जेनजी आन्दोलन र नयाँ पुस्ताको चाहनाको माहोलमा तपाईं के–के एजेन्डा लिएर जनतामाझ जानुभएको छ ?

पक्कै पनि, समय बदलिएको छ र मतदाताको प्राथमिकता पनि फेरिएको छ । जहाँसम्म जेनजी वा नयाँ पुस्ताको कुरा छ, यो आन्दोलन र भावनालाई सबैभन्दा नजिकबाट अनुभूत गरेर आफ्नो पार्टी संरचनाभित्र एकदमै चाँडै परिवर्तन ल्याउने दल भनेकै नेपाली कांग्रेस हो । हामीले युवाका मुद्दालाई सम्बोधन गर्न पार्टीलाई रूपान्तरण गर्दै लगेका छौँ, यो एउटा महत्त्वपूर्ण पक्ष हो ।

अर्कोतर्फ, निर्वाचनमा उठ्नुपर्ने मूल एजेन्डाहरू भनेको शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि नै हुन् । यी विषय सुन्दा परम्परागत लागे पनि यिनै जनताका आधारभूत आवश्यकता हुन् । अबको हाम्रो बहस भनेको आर्थिक समृद्धि कसरी ल्याउने भन्नेमा केन्द्रित हुनुपर्छ । हामीले कुन क्षेत्रमा फोकस गर्ने ? रोजगारी कसरी सिर्जना गर्ने रु केवल नारामा मात्र सीमित नभई त्यसको व्यावहारिक खाका के हो ? मैले मेरो प्रतिबद्धता पत्रमा यसलाई विस्तृत रूपमा व्याख्या गरेको छु । रोजगारी सिर्जनाको स्पष्ट मोडेल र आर्थिक उपार्जनका बाटाहरूलाई मैले मुख्य एजेन्डा बनाएको छु ।

तनहुँ क्षेत्र नम्बर १ भित्र आगामी पाँच वर्षमा रोजगारीका अवसर, शिक्षा र स्वास्थ्य क्षेत्रमा रूपान्तरण गर्न तपाईंसँग के–के योजना छन् ?

तनहुँ– १ सामान्य क्षेत्र होइन, यो व्यापक सम्भावना बोकेको ठाउँ हो । यहाँ भएका सम्भावना र आधारहरूलाई सही ढङ्गले परिचालन गर्न सकियो भने यसले तनहुँको मात्र होइन, समग्र देशकै आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सक्छ ।

मैले यहाँका चार वटा कुरालाई समृद्धिको आधार मानेको छु । पहिलो, वेदव्यासको जन्मस्थल दमौली (तनहुँ), जसको धार्मिक र ऐतिहासिक महत्त्व छ । दोस्रो, आदिप्रयाग र देवताहरूको बासस्थान मानिएको पवित्र तीर्थस्थल देवघाट । तेस्रो, मनकामनाकी दिदी मानिने छिम्केश्वरी मन्दिर । छिम्केश्वरीको जति प्रचार हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्यहाँ पूर्वाधार निर्माण गर्न सकियो भने मनकामना आउने पर्यटकलाई त्यहाँसम्म तान्न सकिन्छ । चौथो, नेपाली भाषा र साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल । यी ठाउँहरू धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटनका लागि विश्वकै गन्तव्य बन्न सक्छन् ।

govind-bhattrai

यसबाहेक विकासका अन्य आधारहरूमा कृषि र जलविद्युत (हाइड्रोपावर) प्रमुख छन् । अहिले १४० मेगावाटको सेती प्रोजेक्ट निर्माणको अन्तिम चरणमा छ । तल्लो सेतीको पीपीए हुने अवस्थामा छ र सर्वेक्षण सकिएको छ । हाम्रो आफ्नै क्षेत्रमा पुरानो मर्स्याङ्दी प्रोजेक्ट पनि छ । यहाँका नदीनालाहरूलाई सदुपयोग गरेर ड्याम बनाई फेवाताल जत्रै वा त्योभन्दा ठुलो ताल निर्माण गर्न सकिने सम्भावना छ, जसले पर्यटनमा कायापलट गर्न सक्छ ।

यी परियोजनाहरूका लागि व्यापक लगानी चाहिन्छ । यदि हामीले यहाँ लगानी भित्र्याउन सक्यौँ भने यसले तनहुँका युवालाई मात्र होइन, देशभरका युवालाई रोजगारी दिन सक्छ । सूचना प्रविधिमा युवाहरूलाई जोड्ने, जलवायु परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने र यहाँका सहरलाई आधुनिक सुविधासम्पन्न सहरका रूपमा विकास गर्ने योजना बनाएको छु ।

भारत र चीनको बिचमा रहेको हाम्रो भू–राजनीतिक अवस्थिति र यहाँको धार्मिक महत्त्व (करिब १ अर्ब हिन्दुहरूको आस्थाको केन्द्र) लाई क्यास गर्न सकियो भने हाम्रो अर्थतन्त्रमा कायापलट हुन्छ । लुम्बिनी, मुक्तिनाथ, पशुपति र देवघाटलाई जोडेर एउटा धार्मिक सर्किट बनाउन सकिन्छ । यी सबै कुरालाई एकीकृत गरेर मैले विकासको खाका कोरेको छु ।

कांग्रेसले यो क्षेत्रबाट धेरै पटक जितेको छ । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल पनि यहीँबाट जितेर जानुभएको हो । उहाँहरूले लामो समय नेतृत्व गर्दा पनि गर्न नसकेका वा बाँकी रहेका काम, जुन अब तपाईंले गर्न सक्नुहुन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?

यो एकदमै महत्त्वपूर्ण प्रश्न हो । हामीले के बुझ्नुपर्छ भने हिजोको प्राथमिकता र आजको प्राथमिकतामा आकाश पातालको फरक छ । म आफैँ २०४८ सालको चुनावमा रामचन्द्र दाइको प्रचारमा हिँडेको मान्छे हुँ । त्यो बेला तनहुँमा एउटा पृथ्वी राजमार्ग बाहेक केही थिएन । हामी सबै ठाउँमा हिँडेरै पुग्थ्यौँ ।

एउटा रमाइलो प्रसङ्ग सम्झन्छु, ४८ सालको चुनावमा हामी पाँच जनाको टिम (रविकला न्यौपाने, उदय गौली, म, एक जना सहयोगी र रामचन्द्र दाइ) थियौँ । रामचन्द्र दाइले काठमाडौँबाट छोरीले बनाइदिएको चनाको सातु झोलामा बोकेर ल्याउनुहुन्थ्यो । गाउँमा धारा थिएनन्, कुवाको पानी खानुपर्थ्यो । हतारमा मान्छेहरूले गाग्री डुबाउँदा पानी धमिलो हुन्थ्यो । हिँड्दा भोक लाग्यो भने त्यही धमिलो पानीसँग सातु डल्लो पारेर खानुहुन्थ्यो । हामी चिया बिस्कुट खाएर हिँड्थ्यौँ । दक्षिणी भेग त झन् विकट थियो ।

त्यो बेलाका जनताको माग के थियो ?

‘हाम्रो गाउँमा बत्ती चाहियो, बाटो चाहियो, स्कुल चाहियो ।’ मोबाइल र इन्टरनेट त कल्पना बाहिरको कुरा थियो । हामी काठमाडौँमा बस्दा त ल्यान्डलाइन फोन लिन ६–७ वर्ष कुर्नुपर्थ्यो । गाउँमा टेलिफोनको टावर माग्थे । स्कुलहरू यति टाढा थिए कि आधा बालबालिका स्कुलै जाँदैनथे । स्वास्थ्य चौकी थिएनन् । ४८ सालको सरकारले एकैचोटि २७ सय स्वास्थ्य चौकी बनाउने निर्णय गर्दा बजेट जम्मा २६ अर्ब थियो ।

तर आज हेर्नुस्, परिस्थिति कति बदलियो ? आज गाउँ–गाउँमा बाटो पुगेको छ, बिजुली पुगेको छ, हात–हातमा मोबाइल र इन्टरनेट छ । स्वास्थ्य चौकीहरू बनेका छन्, पालिकाहरूमा अस्पताल बन्दैछन् । विद्यालयहरू गाउँ–गाउँमा छन् । हिजो एक बोरा सिमेन्ट पनि पञ्चायतले दिँदैनथ्यो, आज गाउँमा करोडौँका योजना गइरहेका छन् । यो परिवर्तन कसले ल्यायो ? यो कांग्रेसको नीति र नेतृत्वले ल्याएको हो ।

अहिले गाउँमा जाँदा मानिसहरूको मागको सूची छोटो भएको छ । हिजो बाटो खन्न माग हुन्थ्यो, आज पिच गर्न माग हुन्छ । हिजो स्कुल चाहियो भन्थे, आज गुणस्तरीय शिक्षा र कम्प्युटर ल्याब चाहियो भन्छन् । यसले के देखाउँछ भने विकास भएको छ । तर मान्छेको स्वभाव नै हो, जति सुविधा थपियो, अपेक्षा उति बढ्छ । अहिलेको मुख्य समस्या भनेको पूर्वाधार होइन, रोजगारी र आर्थिक उपार्जन हो । हिजो हामीले पूर्वाधारमा काम गर्‍यौं, अब हामी रोजगारी र आर्थिक क्रान्तिमा काम गर्छौँ । त्यसैले हिजोको नेतृत्वले जग हाल्यो, अब त्यो जगमा भव्य महल बनाउने जिम्मा मेरो हो । यो विश्वास जनताले गर्नुपर्छ ।

तपाईंले कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा गर्नुभयो । केन्द्रमा नेतृत्व परिवर्तन भयो, तर ग्राउन्डमा त्यसको प्रभाव कत्तिको देख्नुहुन्छ ?

राजनीतिमा कहिलेकाहीँ जनअपेक्षाले नेतृत्वलाई गाइड गर्छ । जनतामा एउटा धारणा बन्यो कि पुराना नेताहरू सधैँ सत्तामा बसे, केही गरेनन् । तर सत्तामा बस्नेहरूको पनि आफ्नै बाध्यता हुन्छन् । कुनै पनि सरकार पाँच वर्ष टिक्न सकेन । गठबन्धन सरकार चलाउँदा धेरै सम्झौता गर्नुपर्छ, जसले गर्दा सोचेजस्तो नतिजा आउँदैन । यसले गर्दा बेथितिहरू बढे र मान्छेको ध्यान त्यही बेथितितिर बढी गयो । थिति बसेका कुराहरूको चर्चा कम भयो ।

यही नकारात्मक भाष्यको बिचमा नयाँ शक्तिहरूको उदय भयो । उनीहरूले ‘हामी सुध्रेर आएका छौँ, हामी केही गर्छौँ’ भन्दा जनतालाई तत्कालका लागि एउटा विकल्पजस्तो लाग्यो । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर दीर्घकालीन रूपमा यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी छ । अहिलेको क्रेज भनेको पपुलिस्ट एजेन्डामा आधारित छ । तर देश चलाउन पपुलिजमले मात्र पुग्दैन, स्पष्ट भिजन र पोलिसी चाहिन्छ ।

कांग्रेसभित्रको कुरा गरौँ । तनहुँ–१ विगतमा अन्तरघातले ग्रस्त क्षेत्र मानिन्थ्यो । यसपटक यो सम्भावना कत्तिको देख्नुहुन्छ ?

तपाईंले विगतको कुरा गर्नुभयो । हो, विगतमा केही समस्या थिए । जस्तो कि राप्रपा वा एमालेले चुनाव लड्दा पनि उनीहरूको भोट ट्रान्सफरमा समस्या देखिन्थ्यो । गोविन्दराज जोशीजीको फ्याक्टरले पनि विगतमा केही असर पारेकै हो । तर अहिले परिस्थिति बदलिएको छ । त्यो बेला एउटा हौवा थियो, जसले मतदाताको मानसिकतामा असर पारेको थियो । 

अहिलेको चुनावमा सबै दलका सशक्त उम्मेदवार हुनुहुन्छ । एमालेबाट भगवती न्यौपानेजी हुनुहुन्छ, राप्रपा लगायत अन्य दलका साथीहरू पनि हुनुहुन्छ । कांग्रेसभित्र अहिले अभूतपूर्व एकता छ । पार्टीको नेतृत्वले मलाई विश्वास गरेर टिकट दिएको छ र ग्राउन्डमा सबै साथीहरू एकढिक्का भएर लाग्नुभएको छ । पुराना तिक्तताहरू मेटिएका छन् । अहिले हामी स्पष्ट रुपमा जित्ने अवस्थामा छौँ । त्यसैले अन्तरघातको सम्भावना म देख्दिनँ । बरु अन्य दलका मतदाताहरूले पनि मेरो विगतको काम र निष्ठा देखेर मलाई भोट दिने अवस्था बनेको छ ।

तपाईंको प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले हुनुहुन्छ । उहाँलाई पार्टीले अर्थमन्त्रीको रूपमा प्रोजेक्सन गरेर भोट मागिरहेको छ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

उहाँहरू लोकतन्त्रको कुन मोडेल अभ्यास गर्न खोज्दै हुनुहुन्छ, त्यो मलाई थाहा भएन । संसारमा कहीँ पनि चुनाव लड्नुअघि नै यो मन्त्री भनेर घोषणा गरेर भोट माग्ने चलन संसदीय व्यवस्थामा विरलै हुन्छ । सांसद जितेर गइसकेपछि स्याडो गभर्मेन्ट बनाउने अभ्यास त हुन्छ, तर पहिले नै मन्त्रीको पद बाँडेर चुनाव लड्नु भनेको अलिकति अपरिपक्वता हो कि जस्तो लाग्छ ।

govind-bhattrai-1

यो त जितिँदैन कि भनेर एउटा फन्डा फालिहालौँ भनेजस्तो देखियो । क्याबिनेट नै पहिले फर्मेसन गरेर जाने हो भने त संसद्को के अर्थ रह्यो ? उहाँहरू जान्ने–सुन्ने मान्छे हो, धेरै बुझेरै गर्नुभएको होला । तर मलाई लाग्छ, यसले उहाँहरूको आत्मविश्वासको कमीलाई झल्काउँछ ।

जनताले व्यक्तिलाई होइन, उसको नीति, निष्ठा र धरातललाई हेरेर भोट दिने हो । म त यहीँको माटोमा भिजेको, यहीँको सुख–दुःखमा हुर्केको मान्छे हुँ । मलाई कुनै पदको लोभ देखाएर भोट माग्नु छैन, मेरो काम नै मेरो परिचय हो ।

त्यसो भए तपाईंको मुख्य प्रतिस्पर्धी को हो जस्तो लाग्छ ?

अहिलेको अवस्थामा हेर्दा म कसैलाई पनि कमजोर आँक्दिनँ, तर मुख्य प्रतिस्पर्धा हामीबिच नै (कांग्रेस र रास्वपा) हुनेछ । तर मलाई पूर्ण विश्वास छ, जित हाम्रो सुनिश्चित छ ।

चुनाव आउन अब केही दिन मात्रै बाँकी छ । तपाईंको आफ्नै आकलन अनुसार कति मत ल्याएर जित्छु जस्तो लाग्छ ?

ठ्याक्कै अंकगणित भन्न त गाह्रो हुन्छ । कतिपय मतदाता अझै पनि अनिर्णित हुन सक्छन् । तर मेरो आकलनमा, तनहुँ–१ मा कांग्रेसको आफ्नो कोर भोट करिब ३० हजारको हाराहारीमा छ । स्थानीय तहको मत परिणाम हेर्दा पनि हामी बलियो अवस्थामा छौँ ।

मेरो लक्ष्य भनेको त्यो ३० हजार मतलाई सुरक्षित गर्दै त्यसमा थप मत बढाउने हो । अहिलेको माहोल हेर्दा हामी त्यो ३० हजारको आधारमा टेकेर फराकिलो अन्तरले जित्ने दिशामा छौँ । मलाई जित्नका लागि त्यही आधारभूत भोटलाई सुरक्षित गर्न सके पनि काफी हुन्छ । र, मलाई विश्वास छ, कांग्रेसका परम्परागत मतदाता मात्र होइन, विकासप्रेमी र स्वतन्त्र मतदाताले पनि मलाई रोज्नुहुनेछ ।

अन्त्यमा, आफ्ना मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?

लोकतन्त्रलाई बलियो बनाउन तपाईंहरूको एक भोटको ठुलो महत्त्व छ । हामीले धेरै ठुलो त्याग, तपस्या र बलिदानले यो व्यवस्था ल्याएका हौँ । यसको रक्षा र विकासका लागि नैतिकवान्, इमानदार र देशप्रति समर्पित नेतृत्वको खाँचो छ ।

म आफैँ उम्मेदवार छु र एउटा वाचा गर्न चाहन्छु– म पानी मान्छे भनेर चिनिएँ, खानेपानीको क्षेत्रमा काम गरेँ । मैले महिला दिदीबहिनीहरूलाई डोको–नाम्लो मुक्त गर्ने अभियान चलाएको छु । म विकाससँग जोडिएको मान्छे हुँ । म धाराको टुटी बनाउनेदेखि संसद्मा बसेर नीति नियम बनाउनेसम्मको दुवै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु । म यहीँको धुलोमा खेलेको, यहीँको समस्यासँग जुधेको मान्छे हुँ ।

नेपाल अहिले टर्निङ प्वाइन्टमा छ । २०४८ सालमा ५४ वर्ष रहेको औसत आयु अहिले ७३ वर्ष पुगेको छ । गरिबी घटेको छ । साक्षरता बढेको छ । यो सबै उपलब्धिको रक्षा गर्दै अबको चरण भनेको आर्थिक समृद्धि र रोजगारीको हो । यदि राजनीतिक स्थायित्व भयो भने आगामी १० वर्षमा हामी देशको आयलाई दोब्बर बनाउन सक्छौँ ।

त्यसैले मलाई एक पटक विश्वास गरेर मतदान गर्नुस् । म तपाईंहरूको पाँच वर्ष इमानदारीपूर्वक सेवा गर्नेछु । मेरा ५५ बुँदे प्रतिबद्धताहरू छन्, ती केवल कागजका खोस्दा होइनन्, मेरा संकल्प हुन् । म तपाईंहरूको शिर निहुरिने कुनै काम गर्ने छैन । रुख चिह्नमा मतदान गरेर मलाई अत्यधिक बहुमतले विजयी गराउनुहुन हार्दिक अनुरोध गर्छु । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप