मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपराध

होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या

मङ्गलबार, ०९ असार २०८३, १२ : २२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • भक्तपुरको एक होटलमा मदिरा पिउने क्रममा ट्याटु खोप्ने विषयमा विवाद हुँदा एक युवकको हत्या भएको छ।
  • ट्याटु आर्टिष्ट आकाश रासाइलीले अर्को टेबलमा बसेकालाई ट्याटु खोप्ने विषयमा सोध्दा विवाद सुरु भएको थियो।
  • विवादपछि होटल बाहिर झगडा हुँदा दोर्जे शेर्पाले चक्कु प्रहार गर्दा रासाइलीको मृत्यु भएको छ र संलग्न तीन जना पक्राउ परेका छन्।

काठमाडौँ । भक्तपुरमा मदिरा पिउने क्रममा ‘विवाद’ हुँदा एकजना युवकको हत्या भएको छ । असार ८ गते राति भक्तपुर नगरपालिका वडा नम्बर–१ मा महोत्तरी घर भएका आकाश रासाइली स्थानीय होटलमा थिए । अर्को टेवलमा ३ जना युवाहरू मदिरा पिउँदै थिए ।

महोत्तरीको मिथिला नगरपालिका–९ घर भएर नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय रसाइली ट्याटु आर्टिष्ट हुन् । कुराकानीको क्रममा रसाइलीले अर्को टेवलकालाई सोधे, ‘ट्याटु हान्ने हो ?’

रसाइलीको त्यही प्रश्नमा झापाको दमक नगरपालिका घर भएका २७ वर्षीय दोर्जे शेर्पाले निहुँ खोजे । दोर्जे सल्लाघारीमा बस्छन् । दुईजनाको बिचमा भनाभन भएपछि रसाइलीले फोन गरेर आफ्ना साथिहरु बोलाएको दोर्जे पक्षको आरोप छ । त्यसपछि होटल बाहिर निस्केर उनीहरूको बिचमा झगडा हुन थाल्यो । झगडा हुँदा दोर्जेले रसाइलीमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले रातोपाटीलाई बताए ।

दोर्जेसँग उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की र गुल्मीको तम्घास घर भएर सल्लााघारी बस्ने ३५ वर्षीय रमेश कुँवर सँगै थिए । दोर्जेले चक्कु प्रहार गर्दा अरु दुईजनाले उनलाई मद्दत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको उपचारको क्रममा आज बिहान ६ बजेर १५ मिनेटमा मृत्यु भएको छ । मृतकको शव सिनामंगल स्थित केएमसी अस्पतालमा रहेको भक्तपुरका एसपी सूर्य खड्काले बताए । उनले भने, ‘मृतकको परिवारसँग समन्वय गरेर पोष्टमार्टम गर्न पठाउँछौँ ।’

हत्यामा संलग्न आरोपीहरू मजदुर हुन् । उनीहरुले भक्तपुरमा मजदुरी गर्ने गरेको प्रहरीलाई बताएका छन् । चक्कु प्रहारपछि भागेका उनीहरूलाई ‘सर्च अपरेशन’ सञ्चालन गरेर पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।

मृतक रसाइलीले बोलाएका युवाहरुबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पछि आएकाहरूको विषयमा पनि भइरहेको एसपी खड्काले बताए । उनले भने, ‘त्यसबारे अनुसन्धान हुँदै छ ।’  पक्राउ परेकाहरूलाई प्रहरीले ज्यान सम्बन्धी कसुरमा म्याद लिन अदालतमा उपस्थित गराउँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप