सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

चुनावी लहर आफ्नो पक्षमा रहेको कांग्रेसको दाबी

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न माग
बिहीबार, १४ फागुन २०८२, १७ : ४७
बिहीबार, १४ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसले चुनावी लहर आफ्नो पक्षमा रहेको दाबी गरेको छ, र मुलुकको थिति सम्हाल्ने प्रतिबद्धता जनाएको छ।
  • कांग्रेसका उम्मेदवारहरूले देशभर सघन प्रचारप्रसार गरिरहेका छन्, र अन्य दलका नेताहरू कांग्रेसमा प्रवेश गरिरहेका छन्।
  • कांग्रेसले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको माग गरेको छ, र लोकतन्त्रलाई सुदृढ बनाउन जोड दिएको छ।

काठमाडौं । नेपाली कांग्रेसले चुनावी लहर आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको थिति सम्हाल्ने र समुन्नत राष्ट्रको लक्ष्य पूरा गर्ने दल आफू नै भएको जिकिर गरेको हो ।

पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका तर्फबाट जारी विज्ञप्तिअनुसार हाल कांग्रेसका उम्मेदवारहरूले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा सघन प्रचारप्रसार र मतदातासँग अन्तरक्रिया गरिरहेका छन् । चुनाव प्रचार अभियान अन्तिम सातामा प्रवेश गरेको उल्लेख गर्दै कांग्रेसले पार्टी सभापति, उपसभापति लगायतका शीर्ष नेताहरू विभिन्न सहरमा आयोजित क्षेत्रीय सभाहरूमा सम्बोधन गरिरहेको जनाएको छ । 

कांग्रेस प्रवक्ता देवराज चालिसेले सुर्खेत र बाँकेमा क्षेत्रीय चुनावी सभाहरू सम्पन्न भएको जानकारी दिए । उनले कांग्रेसले अन्य दल परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको आकर्षण बढेको समेत दाबी गरे ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी पश्चिमका सभापति महेन्द्र सिंह ठकुरी बर्दघाटमा कांग्रेस प्रवेश गरेका छन् भने सुर्खेतमा आयोजित सभामा कम्युनिस्ट पार्टीका नेताहरू धनलाल गुरुङ, बलराम रावल, भोजराज मल्ल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा समाहित भएका छन् ।

शुक्रबार पोखरामा हुने आमसभामा विभिन्न दलका नेता–कार्यकर्ताका साथै स्वतन्त्र व्यक्तिहरू र ‘जेन-जी’  आन्दोलनका अगुवाहरूसमेत पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको  चालिसेले जानकारी दिए ।

निर्वाचन आचारसंहिताको पूर्ण पालनालाई आफूहरूले प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पार्दै कांग्रेसले आचारसंहिता उल्लंघन गर्नेमाथि कुनै विलम्ब नगरी कडा कारबाही गर्न निर्वाचन आयोगसमक्ष माग गरेको छ । 
चुनाव प्रचारका क्रममा नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति, सामाजिक सद्भाव बिथोल्ने कार्य र व्यक्तिगत घृणा फैलाउने प्रवृत्तिको कांग्रेसले कडा आलोचना गरेको छ । 

लोकतन्त्रलाई आफ्नै आचरण र व्यवहारले सुसंस्कृत बनाउन सबै दल र नागरिक समाज जिम्मेवार हुनुपर्नेमा पार्टीले जोड दिएको छ ।

लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत नै भएको उल्लेख गर्दै कांग्रेसले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिकको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्न सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप