शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन चर्चा

पहिलो संसदीय निर्वाचनमा इतिहास रचेका नेकपाका चार उम्मेदवार (मतसहित)

शनिबार, १६ फागुन २०८२, २० : ००
शनिबार, १६ फागुन २०८२

सारांश

  • २०१५ सालको पहिलो आम निर्वाचनमा नेकपाले जम्मा चार सिट जितेको थियो र कांग्रेसले बहुमत ल्याएको थियो।
  • २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्दा नेकपा एमाले दोस्रो दल बनेको थियो।
  • २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले बहुमत ल्याए पनि, हाल तिनीहरू एक्लै प्रतिस्पर्धा गर्दैछन्।

काठमाडौँ । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले जम्मा चार सिट जितेको थियो । १०९ सदस्यीय प्रतिनिधि सभाका लागि नेकपा सहित ९ वटा दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए ।

त्यतिबेला ४७ स्थानमा मात्र उम्मेदवारी दिएको नेकपाले कुल एक लाख २९ हजार १४२ मत प्राप्त गरी चौथो दल बन्यो ।

०१५ फागुन ७ गतेदेखि सुरु भएको निर्वाचनको मत परिणाम ०१६ वैशाख २८ गते सार्वजनिक भएको थियो ।

नेकपाबाट निर्वाचन जित्नेमा तत्कालीन पोलिटब्यूरो सदस्य तुलसीलाल अमात्य (ललितपुर उपत्यका), शेख फर्मान (रौतहट मध्यपूर्व), हरदयाल महतो (रौतहट उत्तर दोस्तियाँ) र केन्द्रीय सदस्य कमलराज रेग्मी (पाल्पा पूर्व) छन् । अमात्य ७ हजार ९५९, फर्मान ४ हजार ९८४, महतो ५ हजार २५० र रेग्मी ६ हजार ५६३ मतसहित निर्वाचित भएका थिए ।

t2

त्यस निर्वाचनमा ७४ सिट अर्थात् दुई तिहाइ बहुमत पाएको नेपाली कांग्रेसले १०८ स्थानमा मात्र उम्मेदवारी दिएको थियो । नेपाल राष्ट्रवादी गोरखा परिषद्ले ८६, संयुक्त प्रजातन्त्र पार्टी नेपालले ८६, नेपाल प्रजापरिषद् (घन–कोदालो)ले ४६, नेपाल प्रजापरिषद् (हलो)ले ३६, नेपाल प्रजातान्त्रिक महासभाले ६८, तराईं कांग्रेसले २१, नेपाली राष्ट्रिय कांग्रेसले २० र स्वतन्त्रबाट २६८ जना उम्मेदवार थिए ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसले ६ लाख ६६ हजार ८९८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको गोर्खा परिषद्ले ३ लाख पाँच हजार ११८ मत प्राप्त गरेको थियो । गोर्खा परिषद्ले १९ सिट जितेको थियो । तेस्रोमा संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले एक लाख ७७ हजार ४०८ मत प्राप्त गर्दा पाँच सिट जितेको थियो । नेकपाले एक लाख २९ हजार १४२ मत प्राप्त गरी चौथो भएको थियो । सो पार्टीले चार सिट जितेको थियो । त्यतिबेला नेकपाले कुल सदर मतको ७.२०९ प्रतिशत मत प्राप्त गरेको थियो ।

पाँचाँैमा नेप्र(घन–कोदालो)ले ५३ हजार ३८ मत प्राप्त गर्‍यो । उसले जम्मा २ सिट जित्यो । छैटौँमा नेप्रा(हलो)ले ५९ हजार ८२० मत पायो भने एक सिट जित्यो । नेपाल प्रजातान्त्रिक महासभाले ५९ हजार ८९६, तराईं कांग्रेसले ३६ हजार १०७, नेपाली राष्ट्रिय कांग्रेसले १२ हजार ७०७ मत प्राप्त गरे । यी तीन वटै दलले प्रत्यक्षमा एक सिट पनि जितेनन् । कुल चार सिट जितेको स्वतन्त्रले दुई लाख ९१ हजार २४७ मत प्राप्त गरेको थियो । कुल ४२ लाख ४६ हजार ४६८ मतदाता रहेको त्यस निर्वाचनमा १७ लाख ९१ हजार ३८१ मत सदर भएको थियो । निर्वाचनमा कुल ७८६ उम्मेदवार सहभागी थिए ।

t1

प्रतिनिधि सभाको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो । पहिलो बैठक बसेको दिनलाई आधार मानेर अहिलेसम्म संसदले हरेक वर्ष संसद् दिवस मनाउँदै आएको छ । यद्यपि लामो समयको सङ्क्रमणकालीन अवस्था झेलेर बनेको जननिर्वाचित संसद १८ महिनामै तत्कालीन राजा महेन्द्रले विघटन गरी निरंकुश पञ्चायत व्यवस्था लागु गरे ।

२०३७ सालमा जनमत संग्रह भएपछि तत्कालीन राजा वीरेन्द्रले २०३८ र २०४३ सालमा सुधारिएको पञ्चायती व्यवस्थाको नाम दिएर राष्ट्रिय पञ्चायतको निर्वाचन गराएका थिए । तर २०४६ सालमा राजनीतिक परिवर्तनसँगै २०४८ सालमा आम निर्वाचन भयो ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसले पूर्ण बहुमत प्राप्त गर्दा नेकपा एमाले दोस्रो दल भएको थियो भने संयुक्त जनमोर्चा (प्रचण्ड नेतृत्वको नेकपा एकता केन्द्रको खुला मोर्चा) तेस्रो राजनीतिक शक्तिका रूपमा स्थापित भएको थियो ।

तर, नेपाली कांग्रेसभित्र आन्तरिक कलहका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा गरे । उक्त निर्वाचनपछि नेकपा एमाले पहिलो दल बन्यो भने कांग्रेस दोस्रो स्थानमा खुम्चियो । संयुक्त जनमोर्चा भने उक्त निर्वाचनमा सहभागी भएन । दीर्घकालीन जनयुद्धको तयारीका कारण उक्त पार्टी संसदीय राजनीतिबाट बाहिरिएको थियो ।

२०५६ सालमा भएको निर्वाचनमा कांग्रेसले नै बहुमत ल्यायो । यद्यपि २०५२ सालमा नेकपा माओवादीले थालेको सशस्त्र विद्रोहका कारण संसदीय प्रणाली कमजोर बन्यो । २०६२ सालमा विद्रोही माओवादी र सात संसदवादी दलबिच भएको १२ बुँदे सम्झौताका कारण २०६२/०६३ सालमा परम्परागत राजतन्त्र ढलेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादी पहिलो दल बन्यो । तर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्न सकेन । २०६९ साल जेठ १४ गते संविधान सभा विघटन भयो ।

२०७० सालमा भएको दोस्रो संविधान सभामा कांग्रेस ठुलो दल बन्यो भने एमाले दोस्रो र माओवादी तेस्रो दलमा खुम्चियो । २०७२ साल असोज ३ गते नयाँ संविधान बन्यो । संविधान बनेपछि २०७४ सालमा भएको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन बनाएर गएकाले तत्कालीन बाम गठबन्धनले अत्याधिक बहुमत ल्यायो । त्यस निर्वाचनमा एमाले पहिलो दल बने पनि दोस्रो दल कांग्रेस भयो । माओवादीले तेस्रो दलमै चित्त बुझायो ।

पूर्वसहमति अनुसार २०७५ साल जेठ ३ गते एमाले र माओवादीबिच पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । तर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच देखिएको शक्ति र सत्ता संघर्षका कारण २०७७ साल फागुन २३ गते नेकपा विघटन भयो । सर्वोच्च अदालतको आदेश अनुसार एमाले र माओवादी केन्द्र साविक पार्टीमा फर्किएपछि २०७९ सालमा भएको निर्वाचनमा कांग्रेस पहिलो दल बन्यो । दोस्रोमा एमाले र तेस्रोमा माओवादी बन्यो ।

तर, तीन वर्ष नपुग्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण जननिर्वाचित संसद् विघटन भयो । इतिहासकै कठिन मोडमा फागुन २१ गते निर्वाचन हुँदैछ । प्रजातन्त्र स्थापनाको ७५ वर्षमा हालसम्म सम्पन्न १० वटा निर्वाचनमा कम्युनिस्ट पार्टीले विभिन्न आरोह अवरोह व्यहोरेको छ । १२ वर्षसम्म गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको एमाले र माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) अहिले एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आसन्न निर्वाचनबाट यी दुवै कम्युनिस्ट घटकको वास्तविक शक्ति परीक्षण हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप