निरन्तर ओरालोमा वामपन्थी जनमत : फागुन २१ पछि के होला ?
सारांश
- आगामी निर्वाचनमा कम्युनिस्ट जनमत घट्ने आँकलन गरिएको छ, सुशासन र समृद्धिको पक्षमा काम गर्न नसकेको आरोप छ।
- जेनजी आन्दोलनको दमन र कम्युनिस्ट पार्टीको विभाजनले वामपन्थी मत घटाउने विश्लेषण गरिएको छ।
- विश्लेषकहरूले ओलीलाई कम्युनिस्टको पतनको कारक मानेका छन्, तर कांग्रेसले भने केही सुधार गरेको छ।
काठमाडौँ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्युनिस्ट जनमत घट्न सक्ने आँकलन गरिएको छ । २०६५ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि लामो समय कम्युनिस्टहरूकै सत्ता हुँदा समेत सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्न नसकेको आरोप लागेको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते जेनजीले गरेको शान्तिपूर्ण प्रदर्शनलाई निर्मम दमन गरेको आरोप पनि कम्युनिस्ट नेतृत्वको सरकारलाई लागेको छ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए ।
संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २३ जना जेनजीको मृत्यु भएपछि भदौ २४ गते आक्रोशित प्रदर्शनकारीले विध्वंस मच्चाएका थिए । सरकारको केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन प्रदर्शनकारीले ध्वस्त पारेपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएर नेपाली सेनाको सहयोगमा सुरक्षित स्थानमा भागेका थिए । विद्रोहकै बलमा सरकार अपदस्थ भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले संसद् विघटन गरी निर्वाचन घोषणा गरेको थियो ।
गणतन्त्र स्थापनाको २० वर्षसम्म परम्परागत दलहरूले सरकारमा बसेर जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप खेपी रहेको बेला यो निर्वाचनमा सबैभन्दा बढी घाटा कम्युनिस्टहरूलाई हुन सक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ । विश्वबाट कम्युनिस्ट शासन पतन भइरहेको बेला नेपाललाई भने यसको उर्वर भूमि मानिन्छ । तर जेनजी आन्दोलनका कारण सबैभन्दा अलोकप्रिय कम्युनिस्ट पार्टी देखिएका छन् ।
राजनीतिक विश्लेषक मुमाराम खनाल जेनजी आन्दोलन रचयिता नै ओली भएको आरोप लगाउँछन् । ओलीकै कारण राजनीतिमा गहिरो असर परेको उनले विश्लेषण गरे ।

‘ओलीजी यो प्रक्रियाको एक प्रकारले रचयिता जस्तो हुनुभयो । उहाँकै प्रधानमन्त्री कालमा यी सब घटना भए । यसको असर राजनीतिमा गहिरोसँग परेको छ । नयाँ नयाँ राजनीतिक दलहरूले पुराना दलहरू बोल्न पनि नसक्ने अवस्थामा पुगेका छन्’, रातोपाटीसँग उनले भने, ‘इतिहासको ब्याज खानुबाहेक अन्य कुरामा ग्लोरीफाइ गर्दा झन् उल्टो नतिजा आउने अवस्था छ । कम्युनिस्ट खलनायकले आफूले आफैलाई अनुमोदन गराउन मान्छे भेला पारेर स्वघोषित नेता बनाएका छन् ।’
नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन पक्षधर र २०२८ सालको झापा आन्दोलन पक्षधरबिच २०७५ सालमा एकता हुँदा वामपन्थी कार्यकर्ताहरूले पूर्णता सम्झेका थिए, त्यो पार्टी विघटन हुँदा वर्षौँ जकडिएर बसेको मत नै अहिले विकर्षणतर्फ गएको खनालको भनाइ छ ।
‘चौथो महाधिवेशन र झापा आन्दोलन एक ठाउँमा हुँदा पूर्ण एकताको रूपमा वामपन्थी कार्यकर्ताहरूले बुझेका थिए । त्यो विघटन हुनुको फाइदा वामपन्थीभित्र एउटा जकडिएर कहिले पनि परिवर्तन नहुने मत अहिले यति खुकुलो भएको छ कि वामपन्थीको गढमै बढी मानिस विकर्सित छन् । उनीहरूले यति लामो समयसम्म वामपन्थीको सेवा गरे कि वामपन्थी नेताहरू सबैभन्दा बढी भ्रष्ट, परिवारवादी, व्यक्तिवादी भए । त्यो आक्रोशलाई हराएर सत्ता हातमा लिने सबैभन्दा बढी वामपन्थी मतदाता छन्,’ उनले भने ।
अर्का विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल जेनजी आन्दोलनलाई ओली सरकारले सही ढंगले ट्याकल गर्न नसक्दा बदनाम भएको बताउँछन् । ‘समस्या मुलुकभित्रै थियो। यसलाई सही ढंगले ट्याकल गर्न नसकेर जुन किसिमको युवाहरूको जनसंहार भयो, त्यसको दोष जुनसुकै ब्रान्डको भए पनि एउटा कम्युनिस्ट प्रधानमन्त्रीकै थाप्लोमा आयो’, उनी भन्छन् ।
जेनजी आन्दोलन दमनका कारण एमालेप्रति हिजोको लगाव एकदमै घटेर गएको र त्यो पार्टी चुनावमा अत्यन्त प्रतिरक्षात्मक अवस्थामा पुगेको उनले विश्लेषण गरे ।

अर्को ठुलो वामपन्थी दल नेपाली कम्युनिस्ट पार्टी साना–ठुला घटकलाई जम्मा गरेर रि–ब्राण्डिङ गरेपनि त्यसको जनधार कति छ भन्ने कुराको परीक्षण हुन बाँकी नै रहेको पोखरेल बताउँछन् । ‘साँच्चै त्यो जनधार भएकै संगठनहरू एक ठाउँ आएका हुन् या यो एक प्रकारले कवाडीहरू जम्मा भएको हो । त्यो निर्वाचन परिणामले नै भन्छ । तर अहिले हेर्दा नेकपा वा हिजोको हिजोको माओवादी निर्वाचनै पिच्छे त्यसको अवस्था खस्किँदै गएको छ’, उनले भने ।
नेकपाको सानो हिस्सा चोइटिएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनेकाले निर्वाचनमा केही असर पर्न सक्ने उनको विश्लेषण छ । त्यसकारण समग्रमा यो निर्वाचनमा वामपन्थी जनमत घट्न सक्ने उनी बताउँछन् ।
‘समग्रमा हेर्दाखेरि वामपन्थी मत यो निर्वाचनमा घट्ने देखिन्छ । समग्रमा मूलधारका राजनीतिक दलहरूको मत घट्छ,’ उनले भने ।
यसपटक वामपन्थी जनमत मात्र होइन परम्परागत राजनीतिक अन्य दल नेपाली कांग्रेस, मधेस केन्द्रित दलहरूको पनि जनमत घट्ने उनको भनाइ छ । यद्यपि कांग्रेसले नेतृत्व परिवर्तन गरेर गगन थापाले रि–ब्राण्डिङ गरेकाले केही हदसम्म क्षति रोक्न सफल भएको उनको बुझाइ छ ।
‘वामपन्थी मत घटेको या लोकतान्त्रिक मत बढेको भन्ने अर्थमा भन्दा पनि हिजोका जुन आफूलाई मूलधारको राजनीतिक पार्टीहरू भन्ने हुन्, तिनीहरू समग्रकै मत घट्ने छ । त्यसमा सबैभन्दा आफूलाई बचाउन सकेको नेपाली कांग्रेसले हो । गगन थापा, विश्वप्रकाशहरूले जुन जोखिम मोलेर विशेष महाधिवेशन गरे त्यसले गर्दाखेरि कहीँ न कहीँ त्यो पार्टी रिफ्रेस भयो’, पोखरेलले भने ।
निर्वाचन पछिको अवस्थामा कम्युनिस्ट पार्टी फेरि एकजुट हुने, रूपान्तरित हुने सम्भावनाको विषयमा ओलीको कारण असम्भव भएको उनी बताउँछन् । यदि ओलीले निर्वाचनमा पराजित भएको खण्डमा सम्पूर्ण वामपन्थी घटकहरूबिच एकीकरण हुन सक्ने उनको भनाइ छ ।
_9XhwTihge8.jpg)
‘नेपालका अहिलेको वामपन्थीहरूको सबैभन्दा ठुलो समस्या भनेको आफूलाई सबैभन्दा ठुलो नेता भन्ने केपी ओली हुन्। उनी रहुन्जेल एमालेमा त्यो सबै वामपन्थीहरू एक ठाउँ आउने सम्भावना रहँदैन’, उनले भने, ‘अहिलेको राजनीतिक जुन वामपन्थीहरूको डिब्याकल हो, त्यो डिब्याकलको मुख्य कारक ओली हुन्। यदि उनी यो निर्वाचनमा हारे भनेदेखि एमाले सहित बाँकी वामपन्थीहरू एक ठाउँमा आउन सक्ने सम्भावना छ । त्यो भयो भनेदेखि आफूलाई धुलो टक्टक्याएर त्यो पार्टी फेरि उठ्न सक्छ ।’
नेपालमा कम्युनिस्ट आन्दोलनको लामो इतिहास छ । २००७, २०१७, २०३७, २०४६, २०५२, २०६२/६३ सालको राजनीतिक क्रान्तिमा कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका खेलका छन् । २००६ साल संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेपछि २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा चार जनाले निर्वाचन जितेका थिए ।
_rQTqJ72kZf.jpg)
२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी दलहरूमाथि प्रतिबन्ध लगाएका कारण कम्युनिस्ट आन्दोलनले विभिन्न आरोह–अवरोह भोग्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि हरेक संसदीय निर्वाचनमा वामपन्थीको बलियो उपस्थिति रहेको छ । २०६२/६३ सालमा परम्परागत राजतन्त्र ढाल्न कम्युनिस्ट पार्टीको निर्णय भूमिका रह्यो । २०६४ सालको पहिलो संविधान सभामा वामपन्थीको ६२ प्रतिशत सहभागी थियो । २०७० सालको दोस्रो संविधानसभामा जनमत घटेर ४८ प्रतिशतमा खस्कियो । २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर वामपन्थी गठबन्धन बनाएका हुनाले संसद्मा ६४ प्रतिशत सहभागी भयो ।
२०७७ सालमा नेकपा विघटन भएपछि २०७९ सालको निर्वाचनमा जनमत खस्किएर ४५ प्रतिशतमा खुम्चियो । २०६४ देखि हरेक निर्वाचनमा एमालेको लोकप्रिय मत बढेको देखिए पनि नेपाली कम्युनिस्ट पार्टीको खस्किँदै गएको देखिन्छ । समग्रमा हरेक निर्वाचनमा वामपन्थी जनमत खस्किएको तथ्यले देखाएको छ । अहिले विशेष परिस्थितिमा निर्वाचन हुन लागिरहेको हुनाले समग्रमा वामपन्थी जनमत कति होला भन्नेमा राजनीतिक वृत्तमा निकै कौतुहलता बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण