निर्वाचनमा सञ्चारकर्मीमाथिको भौतिक आक्रमणप्रति सरोकारवालाको गम्भीर चिन्ता
सारांश
- निर्वाचनको रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र आक्रमणको विषयमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
- पत्रकारिताको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको भन्दै झापा घटनाको स्मरण गरिएको थियो।
- पत्रकारहरूले सामूहिक सुरक्षा र परिचयपत्रलाई दुरुस्त राख्न जोड दिएका छन्।
इटहरी । आसन्न निर्वाचनको सन्दर्भमा रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूमाथि हुन सक्ने भौतिक आक्रमणको विषयलाई लिएर सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सुनसरीको इटहरीबाट सञ्चालित प्रदेश खबर डटकमले शनिबार आयोजना गरेको निर्वाचन विशेष अन्तरक्रियामा सहभागी पत्रकार तथा अधिकारकर्मीहरूले पछिल्लो समय सञ्चारकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणले प्रेस स्वतन्त्रता र पत्रकारको जीवन रक्षामा ठुलो चुनौती थपेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै विराटनगरका पत्रकार किशोर बुढाथोकीले निर्वाचनको समयमा पत्रकारहरू सबैभन्दा बढी जोखिममा रहने बताए । केही दिनअघि झापामा रिपोर्टिङका क्रममा एमाले निकट युथ भोलेन्टियर्सका युवाहरुले पत्रकार अर्जुनकुमार आचार्यमाथि भएको कुटपिटको घटनालाई स्मरण गर्दै उनले भने, ‘पत्रकार सुरक्षाको अवस्था अहिले निकै चिन्ताजनक छ । झापाको घटना प्रतिनिधि मात्र हो, यस्ता घटनाप्रति सम्बन्धित निकाय गम्भीर नहुनु दुःखद छ ।’
त्यसैगरी, उदयपुरका पत्रकार अञ्जनि कुमार घिमिरेले फिल्डमा खटिने पत्रकारहरू कुनै पनि बेला भौतिक आक्रमणको निशानामा पर्न सक्ने भन्दै विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए । चुनावी माहोलमा हुने भिडभाड र आवेशका कारण पत्रकारहरू असुरक्षित बन्दै गएको उनको भनाइ थियो ।
प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्लेले यस पटक निर्वाचन सुरक्षाको नेतृत्व नेपाली सेनाले गरेकाले पत्रकार र सुरक्षाकर्मीबीच समन्वयको अभाव हुन सक्ने र त्यसले रिपोर्टिङमा थप कठिनाइ ल्याउन सक्ने धारणा राखे । उनले पत्रकारहरूलाई आफ्ना परिचयपत्र र सवारी पास दुरुस्त राख्न र कुनै पनि अप्रिय घटना हुन नदिन सचेत रहन आग्रह गरे ।
तेह्रथुमका पत्रकार प्रकाश पाक्सावाले सुरक्षाकर्मी नै असुरक्षित महसुस गरिरहेको अवस्थामा फिल्डमा खटिने पत्रकारहरू झनै जोखिममा रहेको उल्लेख गरे । उनले रिपोर्टिङको क्रममा हुनसक्ने सम्भावित मुठभेड र आक्रमणबाट जोगिन सामूहिक सुरक्षाको अवधारणा अपनाउनुपर्ने बताए ।
प्रदेश खबरका प्रधान सम्पादक पवन अधिकारीले निर्वाचनको समयमा सत्यतथ्य सूचना सम्प्रेषण गर्ने पत्रकारमाथि आक्रमण हुनु लोकतन्त्रकै लागि घातक भएको टिप्पणी गरे । उनले पत्रकार र पत्रकारिताको रक्षाका लागि सङ्घ–संस्थाले राज्यका निकायहरूसँग प्रभावकारी समन्वय गर्नुपर्ने र पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता हुनुपर्ने माग गरे ।
कार्यक्रममा पत्रकारहरूको भौतिक सुरक्षालाई ध्यानमा राख्दै प्रदेश खबरमा कार्यरत संवाददाताहरूलाई सुरक्षा ज्याकेट र परिचयपत्र वितरण गरिएको थियो । उक्त अन्तरक्रियामा कोशी प्रदेशका १४ वटै जिल्लाका संवाददाताहरूले आ–आफ्नो क्षेत्रमा पत्रकारहरूले भोगिरहेका सुरक्षा चुनौतीका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा इटहरी इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि शङ्कर गुरागाईं लगायतले पनि पत्रकारको सुरक्षा र निष्पक्ष सूचना प्रवाहको महत्त्वमाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण