दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन संयोजक प्रचण्डको आह्वान
सारांश
- प्रचण्डले फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा देश दुई अतिवादको खतरामा रहेको बताए।
- उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गर्दै नेकपा विभाजनबाट एकता र नतिजामुखी राजनीतिमा फर्किएको बताए।
- प्रचण्डले मतदातालाई सुशासन, समृद्धि र परिवर्तनका लागि आफ्नो चुनाव चिन्ह 'तारा' मा मतदान गर्न आग्रह गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्व सन्ध्यामा जारी सम्बोधनमा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताएका छन् ।
उनले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरूप देश अराजकता उन्मुख बनेको बताएका छन् । एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता र अनिश्चय तर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–बिचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उनको भनाइ छ।
यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गरेका छन् । अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए ।
संयोजक प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताए । नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उनले बताए । उनले नेपाली कम्युनिस्ट पार्टी बाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताए ।
आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उनले उल्लेख गरे । आफु र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैँ उभिएको उल्लेख गर्दै उनले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न अपिल गरे । भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए ।
‘हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,’ भन्दै प्रचण्डले परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गरेका छन् ।
संयोजक दाहालले फागुन २१ गते हुने आम निर्वाचनको पूर्व सन्ध्यामा मतदातासँग स्थायित्व, सुशासन र समृद्धिका लागि आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न समेत आग्रह गरे । आइतबार भिडियो सन्देश जारी गर्दै उनले जनताको मत शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायित्व र सुशासनतर्फ अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।
सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबिच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका लागि मत आवश्यक रहेको उनले बताए । युवालाई विदेशिन नपर्ने वातावरण, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखिने उनले उल्लेख गरे ।
संयोजक प्रचण्डले ‘तारा’ चिन्हमा मत सामाजिक न्याय, समान अवसर र धनी–गरिबबिचको खाडल घटाउने सङ्कल्पका लागि भएको बताए । स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने, डिजिटल सुशासन र पारदर्शिता कायम गर्ने तथा सरकारी सेवा लाइनमा होइन, मोबाइलमार्फत नागरिकसम्म पुर्याउने प्रतिबद्धता भिडियो सन्देशमा उनले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण