अन्तरिम सरकार बनेपछि दुर्गा प्रसाईं ५औँ पटक पक्राउ
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा भक्तपुरबाट पक्राउ गरिएको छ।
- प्रसाईंले चुनाव बिथोल्ने प्रयास गरेको आरोप लागेको छ र उनलाई पटक-पटक पक्राउ गरिएको छ।
- प्रसाईंले अन्तरिम सरकारसँग विभिन्न माग राखेका थिए, तर सहमति नजुटेपछि उनले आन्दोलनको घोषणा गरेका थिए।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परे । भक्तपुरस्थित घरमा प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्का आफ्ना दुई जना डीएसपी सहित पुगेका थिए ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा अहिले उनलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ । भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले गरिन् । सुशीला कार्कीले सरकारको नेतृत्व गरेपछि प्रसाईं ५औं पटक पक्राउ परिसकेका छन् ।
जेनजी आन्दोलनपछि मुलुक निर्वाचनमा होमिँदा पनि प्रसाईं निर्वाचनमा जान तयार भएनन् । व्यवस्था परिवर्तन र २० लाखसम्मको ऋण मिनाहा लगायतका २६ बुँदे माग राखेर उनी निरन्तर सरकारविरुद्ध सडकमा जान खोजे । तर, सरकारले उनलाई रोकिरहेको छ । प्रसाईंले २०८२ मङ्सिरमा आन्दोलन गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा मङ्सिर २ मा पक्राउ परेका उनी सर्वोच्च अदालतको आदेशमा छुटे । त्यसयता उनलाई आन्दोलन गर्नबाट रोक्न र चुनावको बातावरण बिगार्न नदिने गरी प्रहरीले पक्राउ गर्दै आएको छ । सरकारले उनलाई कुनै कडा मुद्दा लगाउन सकेको छैन । पक्राउ गर्ने र प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्रमा पर्ने सार्वजनिक शान्ति विरुद्धको कसुरमा अल्झाएर उनलाई हिरासतमा राख्ने सुरक्षा रणनीति अख्तियार गरेको पाइन्छ ।
फागुन २१ मा हुने निर्वाचनमा देखिएका चुनौतीमध्ये एउटा चुनौती प्रसाईं समूह रहेको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना तयार गर्दा नै दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले निर्वाचन बिथोल्न सक्ने सुरक्षा विश्लेषण गरिएको थियो ।
मङ्सिरमा पक्राउ परेपछि प्रसाईंले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग ३ पटक भेटे । सरकार उनको माग पुरा गर्न तयार नभएपछि प्रसाईंले फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरे । त्यसयता प्रसाईं लगातार प्रहरीको निशानामा पर्दै आएका छन् । आन्दोलन घोषणा गर्दै प्रसाईंले भनेका थिए, ‘अन्तरिम संविधान लागू भएपछि मात्र चुनाव, नत्र चुनाव हुन दिँदैनौँ ।’
निमुखा जनताको समस्या समाधान गर्ने उद्देश्य लिएर हिँडेको बताउने गरे पनि प्रसाईं ‘हल्का अभिव्यक्ति’ का कारण विवादमा पर्ने गरेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्ति दिएपछि उनी माघ ५ मा पोखराबाट पक्राउ परेका थिए । सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनी भोलिपल्ट नै रिहा भएका थिए ।
चुनाव बिथोल्ने योजनासहित वीरगञ्जबाट आन्दोलन सुरु गर्न भनेर हिँडेका प्रसाईं माघ २३ मा चाल्नाखेलबाट पक्राउ परे । त्यसबेला उनलाई प्रहरीले विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मुद्दा चलाएको थियो । त्यसअघि उनले माघ २२ मा केपी शर्मा ओलीसँग भेट गरेको समाचार बाहिरिएको थियो ।
सो सूचना थापा पाएर सुरक्षा अधिकारीले उनलाई पक्राउ गर्नुपर्नेबारे प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए । ओलीसँग भेटेपछि वीरगन्जमा कार्यक्रम गर्न भनेर प्रसाईं पर्सा जाँदै थिए । वीरगन्जमा कार्यक्रम गरेर प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सुराकको आधारमा सुरक्षा निकायले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका थिए । नेपाल प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘त्यसपछि प्रसाईंलाई पक्राउ गर्ने निर्णय भएको हो ।’
विद्युत्तीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाईं फागुन ४ मा फेरि पक्राउ परे । त्यसबेला प्रहरीले उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्ववय मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशले उनी फागुन १३ मा रिहा भए ।
सर्वोच्चको आदेशले रिहा भएको ४ दिनमा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘मुलुकमा चुनाव हुँदैछ, जनमतको परीक्षण गर्ने हिम्मत नगर्नेले चुनाव बिथोल्न मात्रै खोज्दैछन्, त्यसैले पक्राउ गरेर थुनामा राखेका हौं ।’
प्रधानमन्त्री सुशीला कार्की र प्रसाईंको बिचमा मङ्सिर २२ मा पहिलो पटक बालुवाटारमा भेटवार्ता भएको थियो । त्यस दिन प्रसाईंले प्रधानमन्त्रीलाई बुद्धको मूर्ति उपहार दिएका थिए । पुस १५ मा भेट्दा प्रधानमन्त्री कार्कीले उनलाई बुद्धको फ्रेम उपहार दिइन् ।
पुस १७ मा सिंहदरबारमा भएको दुई पक्षीय छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए । त्यस दिन प्रसाईं तर्फका प्रतिनिधिहरू पनि सहभागी थिए ।
दुई पक्षीय छलफलमा प्रसाईंले राखेको व्यवस्था परिवर्तन र २० लाखसम्मको ऋण मिनाहा लगायतका मागमा सहमति नजुटेको सरकारी पदाधिकारीहरू बताउँछन् ।
आफ्ना माग पुरा गर्न सरकार राजी नभएपछि प्रसाईंले आन्दोलनको बाटो रोजेका हुन् । प्रसाईंले संविधान संशोधन र अन्तरिम संविधान बनाएर मात्र चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।
प्रसाईं कहिले पक्राउ परे ?
–२०८२ मङ्सिर २ मा, सार्वजनिक शान्ति विरुद्धको कसुर ।
–२०८२ माघ ५ मा, सार्वजनिक शान्ति विरुद्धको कसुर
–२०८२ माघ २३ मा, निर्वाचन आचार संहिता उल्लङ्घन
–२०८२ फागुन ४ मा, निर्वाचन भाँड्ने गतिविधि गरेको
–२०८२ फागुन १७ मा, सार्वजनिक शान्ति विरुद्धको कसुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण