बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा उम्मेदवारले भने– हामीमाथि आक्रमण भयो

बुधबार, २० फागुन २०८२, २२ : ०२
बुधबार, २० फागुन २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले निर्वाचनको अघिल्लो दिन आफूमाथि अज्ञात समूहद्वारा आक्रमण भएको बताएका छन् ।

यद्यपि, प्रहरीले भने खरेल स्वयम्माथि आक्रमण नभई उनको सचिवालयका तीन जना सदस्य घाइते भएको जनाएको छ । 

रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका खरेलले बुधबार राति सामाजिक सञ्जालमा लेख्दै आफू बसेको बुटवलस्थित होटलमा आएका व्यक्तिहरूले सचिवालयका केही साथीहरूलाई निर्घात कुटपिट गरेको जानकारी दिएका छन् । उनले आक्रमणमा संलग्नहरूको पहिचान भइसकेको र प्रहरीले आफ्नो काम सुरु गरिसकेको पनि उल्लेख गरेका छन् । 

अन्तमा उनले लेखेका छन्, ‘भोलिको मतपरिणामले सबैको उत्तर दिनेछ ।’ 

यता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) जनक शाहीले भने उम्मेदवार खरेलमाथि कुनै आक्रमण नभएको स्पष्ट पारेका छन् । उनका अनुसार बुटवलस्थित होटलमा झैँझगडा भएको र खरेल पक्षका तीन जना घाइते भएका छन् । एसपी शाहीले आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई छिट्टै कानुनी दायरामा ल्याइने बताए । 

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल, नेपाल कम्युनिस्ट पार्टीका सुवास पाण्डे ‘विश्वदीप’, प्रगतिशील लोकतान्त्रिक पार्टीका नारायण नागिला र नेकपा माओवादीका वीरेन्द्र विकलगायत अन्य उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप