मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
जनप्रतिनिधि

विद्रोही विराज

शुक्रबार, २२ फागुन २०८२, २० : ४०
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ काठमाडौँ-८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्, प्रतिस्पर्धीको जमानत जफत गराउँदै उनले जित हासिल गरे।
  • विराजभक्त श्रेष्ठले बागमती प्रदेशसभादेखि संघीय संसद्सम्म आफ्नो विद्रोही र रचनात्मक शैली कायम राखे, जवाफदेहिता र पारदर्शितालाई जोड दिए।
  • उनले युवा तथा खेलकुद मन्त्रीको रूपमा ५ महिनाको कार्यकालमा खेलकुद क्षेत्रमा व्यवस्थित प्रणालीको सुरुवात गरे, र स्थानीय मुद्दाहरूमा सक्रिय रहे।

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–८ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी भएका छन्। प्रतिस्पर्धी सबै उम्मेदवारको जमानत जफत गराउँदै विजयी भएका उनी काठमाडौँ–८ बाटै दोस्रो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्।

पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका श्रेष्ठले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए। सम्पदा तथा वातावरण संरक्षण अभियन्तासमेत रहेका उनले हालै सम्पन्न मतदानमा २४ हजार ५१२ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी सुमन सायमीलाई ३ हजार २१७ र कांग्रेसकी सपना राजभण्डारीलाई २ हजार ८३५ मतमा सीमित गर्दै उनले जित दर्ता गराएका हुन्।

  • विद्रोही र रचनात्मक स्वभावका श्रेष्ठ

नेपाली राजनीतिमा विद्रोही स्वभाव र रचनात्मक कार्यशैलीको संयोजन विरलै देख्न पाइन्छ। तर, बागमती प्रदेशसभादेखि सङ्घीय संसद्‌सम्मको यात्रा तय गर्दा सांसद विराजभक्त श्रेष्ठले आफूलाई विद्रोह र वैकल्पिक राजनीतिको एक सशक्त पात्रका रूपमा स्थापित गरेका छन्।

उनी सधैँ ‘तथ्याङ्क र तर्क’ लाई आधार बनाएर शक्तिको अगाडि सत्य बोल्ने साहस राख्छन्। श्रेष्ठले रास्वपाभित्र मात्र नभई समग्र संसदीय राजनीतिमा जबाफदेहिताको एउटा बलियो 'थिति' बसाल्ने प्रयत्न गरेका छन्। सरकारमा हुँदा होस् वा सरकारबाहिर, उनको रवैया सधैँ उस्तै रहन्छ। 

साधारण जीवनशैली रुचाउने श्रेष्ठ सम्पदाको केन्द्र काठमाडौँको वसन्तपुर क्षेत्रको प्रतिनिधित्व गर्छन्। चोकमा बसेर चिया पिउँदै युवा, वृद्ध र बालबालिकासँग रमाउनु उनको दैनिकी हो। माहौलअनुसार प्रस्तुत हुन सक्नु उनको विशेषता हो। फुर्सदको समयमा उनी चोकमा गितार बजाउँदै गीत गाइरहेको वा सामान्य पोसाकमा टोलभरि डुलिरहेको भेटिन्छन्।

पदीय जिम्मेवारीमा रहँदा पनि उनको विद्रोही शैली स्पष्ट रूपमा झल्किन्छ। आम नागरिकका मागलाई सशक्त रूपमा प्रस्तुत गर्न र राज्यसत्ताले पेलेर अघि बढ्न खोज्दा नागरिकको ढाल बनेर विद्रोह गर्न उनी पछि पर्दैनन्। उनी जवाफदेहिता र उत्तरदायित्वका पर्यायसमेत बनेका छन्। सामूहिक कार्यमा अग्रसर रहने उनले अर्थ, राजनीति, पर्यावरण र खेलकुद क्षेत्रमा आफूलाई सशक्त रूपमा उभ्याएका छन्।

biraj bhakta (1)

  • बागमती प्रदेशसभाका ती एक्ला विद्रोही

विराजभक्त श्रेष्ठको राजनीतिक जग बागमती प्रदेशसभाबाट निर्माण भएको हो। तत्कालीन विवेकशील नेपाली दलबाट उनी राजनीतिमा प्रवेश गरेका थिए। उज्ज्वल थापाको अभियानमा जोडिँदा उनमा राजनीति गर्छु भन्ने मनसाय पटक्कै थिएन। तर, अभियानकै क्रममा उनी राजनीतिमा होमिन पुगे। 

थापाको अभियानबाट जन्मिएको विवेकशीलले विराजभक्त जस्ता पात्रलाई अघि बढायो। २०७४ सालको निर्वाचनमा विवेकशील चुनावी मैदानमा उत्रियो र बागमती प्रदेशसभातर्फ ३ वटा सिट जित्न सफल भयो। जसमा रमेश पौड्याल, शोभा शाक्य र श्रेष्ठ सांसद चुनिएका थिए।

हक्की स्वभावका उनी सधैँ प्रश्न गर्न तत्पर रहन्थे। उनका प्रश्नहरू तिखा हुन्थे, जसले उत्तर मात्र होइन, निर्णय नै माग्थे। बागमती प्रदेशसभामा रहँदा तत्कालीन शिक्षा निर्देशनालय परिसरमा नयाँ भवन बनाउन रुख काट्ने निर्णय हुँदा संसद्‌मा खरो विरोध गर्ने उनी एक्ला विद्रोही सांसद थिए। वातावरण संरक्षण, विपद् व्यवस्थापन र दिगो विकासका एजेन्डालाई उनले आफ्नो प्रमुख कार्यसूची नै बनाएका थिए। जम्मा ३ जना सांसद भएको दलको प्रतिनिधित्व गरे पनि प्रदेशसभा नियमावलीको पूर्ण कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा उनको सक्रिय उपस्थिति हुन्थ्यो।

वन ऐन, उच्च शिक्षा ऐन र मदन भण्डारी स्वास्थ्य विज्ञान ऐन जस्ता कानुन निर्माणका क्रममा उनले सत्तापक्षसँग विद्रोही स्वभावमै प्रस्तुत भएर नागरिकको हित रक्षा गरेका थिए। तार्किक क्षमता र तथ्यांकप्रतिको पकडका कारण उनी सदन र समिति दुवैमा सधैँ चर्चाको केन्द्रमा रहे। उनले प्रदेशसभा भवनअघिल्तिरको ढल व्यवस्थापन गर्न राखेको मागलाई तत्कालीन सरकारले तत्काल पूरा गरेको थियो।

सम्पदा संरक्षण र व्यवस्थापनमा पनि उनी उत्तिकै सक्रिय रहे। संसद्‌मा आफ्नो दलको सङ्ख्या कमजोर हुँदा सत्तापक्षको दबाब झेलेका उनले आफ्नै कार्यकालमा काठमाडौँ–८ का विभिन्न सम्पदाहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेले। प्रदेश सरकारको बजेटबाट काठमाडौँको इन्द्रचोकस्थित डबली पुनःस्थापनाका लागि उनले पहल गरेका थिए। सडकको बीच भागमा पर्ने उक्त डबली अतिक्रमणमा परेपछि उनकै पहलमा प्रदेश सरकारबाट बजेट उपलब्ध गराएर त्यसको पुनःस्थापना गरिएको थियो।

ghanti

  • थापाको स्कुलिङ र पारदर्शिताको जग

२०७२ सालको भूकम्पपछि राहत र उद्धारमा सक्रिय श्रेष्ठले मुस्ताङ र बर्दिबासका विपन्न बस्तीहरूमा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए। आफूलाई आम नागरिकको सेवामा समर्पित गरेका उनी स्व. उज्ज्वल थापासँगै विवेकशील अभियानमा जोडिएका थिए। उनी वान ट्री–मेरो जिम्मेवारी अभियानमार्फत वातावरण संरक्षणमा समेत अग्रसर भएका थिए।

पार्टीभित्र पारदर्शिता र लोकतान्त्रिक अभ्यास नभएको भन्दै विवेकशील साझा पार्टीबाट राजीनामा दिनु उनको राजनीतिक नैतिकताको अर्को उदाहरण थियो। विवेकशील र साझा पार्टीको एकीकरणपछि २०७८ सालमा उनको विद्रोही स्वभावकै कारण तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले उनीमाथि कारबाहीको डण्डा चलाउन खोजेका थिए। पार्टी संगठन परिचालन, नेतृत्वको सिद्धान्त र विचारमा मतभेद हुँदा उनलाई कारबाहीको चेतावनी दिइएको थियो।

त्यस समयमा उनले सधैँ भनिरहे– ‘पार्टीभित्र सहमति र खुला संवाद हुनुपर्छ। आन्तरिक कलहमा अल्झिनु सार्वजनिक दायित्वविपरीत हो।’

त्यसपश्चात् पार्टीबाट राजीनामा दिएर उनी केही समय आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भए। आगामी निर्वाचनका लागि उनी काठमाडौँ–८ का गल्लीगल्लीमा पुगे। सानो समूह बनाएर जनस्तरमा सर्वेक्षणसमेत गराए। २०७९ को निर्वाचन नजिकिँदै गर्दा उनी प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा थिए। सोही समयमा भृकुटीमण्डपमा आयोजित रास्वपाको एक सभामा उनी वक्ताका रूपमा सहभागी भए, जसले उनको अभियानलाई थप बलियो बनायो।

स्थानीय तहको निर्वाचनपछि काठमाडौंमा स्वतन्त्र उम्मेदवारको लहर देखिन्थ्यो। त्यस अवस्थामा उनी पनि स्वतन्त्र उम्मेदवार बन्ने लगभग निश्चित भइसकेको थियो। तर, थप सुरक्षित हुने रणनीतिका साथ उनी रास्वपासँगको सहकार्यमा अघि बढे। सुरुमा उनी दलको सदस्य नबनी रास्वपाको चुनाव चिह्नबाट मात्र लड्ने समझदारी भएको थियो।

काठमाडौँ–८ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि पनि उनले सङ्घीय संसद्‌मा आफ्नो रचनात्मक शैलीलाई निरन्तरता दिए। उनी रास्वपा संसदीय दलको उपनेतासमेत चुनिए। प्रदेशसभाबाटै संसदीय भूमिकाबारे सिकेर सङ्घीय संसद्‌मा पुगेका उनले आफ्ना सहकर्मीहरूलाई समेत यस विषयमा अभ्यस्त बनाउन मद्दत गरे।

संसद्‌मा रचनात्मक विरोध गर्ने, नियमापत्ति जनाउने तथा मुद्दामा आधारित समर्थन वा विमति राख्ने थिति बसाउन रास्वपा र समग्र संसद्‌मा उनको महत्त्वपूर्ण भूमिका रह्यो। उनले आर्थिक कार्यविधि, शिक्षा विधेयक र सम्पत्ति शुद्धीकरण निवारण जस्ता गम्भीर विषयमा संशोधन प्रस्ताव राखेर विधेयकहरूलाई जनमुखी बनाउन सशक्त दबाब दिए।

युवा तथा खेलकुदमन्त्रीका रूपमा उनको ५ महिनाको कार्यकाल निकै प्रभावकारी रह्यो। पहिलो पटक वार्षिक खेलकुद क्यालेन्डर सार्वजनिक गर्ने, नेपाल स्काउटको विवादित जग्गा संरक्षण गर्ने र 'एन्टी डोपिङ एजेन्सी' गठन गर्ने जस्ता कार्यमार्फत उनले खेलकुद क्षेत्रमा एउटा व्यवस्थित प्रणाली (सिस्टम) को सुरुवात गराए।

biraj bhakta (2)

  • जबाफदेहिताको निरन्तरता

बागमती प्रदेशसभादेखि सुरु भएको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने आफ्नो परम्परालाई सङ्घीय संसद्‌मा आइपुग्दा उनले अझ परिष्कृत गरेका छन्। जबाफदेही संसद्‌को परिकल्पना गर्दै उनले सरकारलाई समेत जिम्मेवार बनाउने प्रयास गरेका छन्।

ललितपुरको चापागाउँबाट चोरी भएको मूर्ति फिर्ता गराउन सदनबाट दबाब दिनेदेखि स्वयम्भू क्षेत्रको सुरक्षाका लागि ६ जना प्रहरीको आवासीय पोस्ट स्थापना गराउनेसम्मका स्थानीय पहलकदमीले उनलाई मतदाताबिच थप लोकप्रिय बनाएको छ।

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले प्रशंसा गरेझैँ विराजभक्त श्रेष्ठले जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने एउटा मानक खडा गरेका छन्। राजनीतिलाई नैतिक दुविधाहरूको शृङ्खला मान्ने श्रेष्ठले बसालेको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने र पारदर्शिता अपनाउने थिति रास्वपाका अन्य सांसद र आगामी पुस्ताका लागि समेत मार्गदर्शक सिद्ध हुने देखिन्छ। संसद्‌मा सङ्ख्याभन्दा पनि ‘एजेन्डा र नैतिकता’ को वजन बढी हुन्छ भन्ने भाष्य उनले स्थापित गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप