सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरानको नामनिसान मेटिएपछि मात्र युद्ध रोकिने ट्रम्पको चेतावनी

आइतबार, २४ फागुन २०८२, ११ : ४३
आइतबार, २४ फागुन २०८२

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न आफूलाई कुनै चासो नभएको बताएका छन्। इरानको सैन्य क्षमता पूर्ण रूपमा ध्वस्त नभएसम्म र सत्तामा कुनै पनि नेतृत्व बाँकी नरहेसम्म यो युद्ध नरोकिने उनले स्पष्ट पारेका हुन्। 

शनिबार एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका सम्भावित सबै नेता मारिए र सेना ध्वस्त भए वार्ताको औचित्य नै समाप्त हुने दाबी गरे। ‘कुनै यस्तो बिन्दु आउनेछ जहाँ 'हामी आत्मसमर्पण गर्छौँ' भन्नका लागि पनि कोही बाँकी रहने छैन,’ उनले भने। 

मध्यपूर्वमा उथलपुथल ल्याएको र विश्वव्यापी तेल बजारलाई हल्लाएको यो युद्ध दोस्रो सातामा प्रवेश गर्दा आइतबार इजरायलले इरानभरि नयाँ आक्रमण सुरु गरेको छ भने कुवेतको एउटा सरकारी कार्यालयमा ड्रोन आक्रमणबाट ठुलो आगलागी भएको छ। कुनै प्रमाण पेस नगरी ट्रम्पले इरानले अमेरिकालाई तत्काल खतरामा पारेको र आणविक हतियार बनाउने नजिक पुगेको दाबी गर्दै यो आक्रमणको बचाउ गरेका छन्। 

युद्धको पछिल्लो चरणमा इरानको उच्च संवर्धित युरेनियमको भण्डार कब्जा गर्न अमेरिका र इजरायलले इरानभित्र विशेष फौज पठाउने विषयमा छलफल गरिरहेको एक्जियोसले जनाएको छ। यद्यपि, यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यसैबिच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले छिमेकी देशहरूमा रहेका अमेरिकी अखडाहरूमा इरानले गरेको आक्रमणका कारण ती देशहरूलाई पर्न गएको असरप्रति माफी मागेका छन्। खाडी क्षेत्रमा बढ्दो आक्रोशलाई शान्त पार्ने प्रयासस्वरूप उसले यस्तो कदम चाले पनि यसले इरानभित्रै कट्टरपन्थीहरूको चर्को आलोचना निम्त्याएको छ। 

पेजेस्कियानले इरानमाथिको अमेरिकी-इजरायली आक्रमणमा सामेल नहुन छिमेकीहरूलाई आग्रह गर्दै व्यक्तिगत रूपमा माफी मागेका हुन्। उनले इरानको बिनासर्त आत्मसमर्पण गर्ने ट्रम्पको मागलाई दिवास्वप्न भन्दै खारेज गर्‍यो। छिमेकी देशहरूको भूमि प्रयोग गरेर इरानमाथि आक्रमण नभएसम्म ती देशहरूमाथिको आक्रमण रोक्न इरानको अस्थायी नेतृत्व परिषद् सहमत भएको पनि उनले बताए। 

तेहरानका विभिन्न भागमा ठुला विस्फोटका आवाज सुनिएको सरकारी मिडियाले जनाएको छ भने इजरायलले इरानी क्षेप्यास्त्र साइट र कमान्ड सेन्टरहरूमा प्रहार गरेको दाबी गरेको छ। इरानका राष्ट्रसंघीय राजदूत अमिर सइद इरावानीका अनुसार अमेरिकी-इजरायली आक्रमणमा कम्तीमा १,३३२ इरानी नागरिक मारिएका छन् र हजारौँ घाइते भएका छन्। 

इरानको एउटा कन्या विद्यालयमा भएको आक्रमणमा परी दर्जनौँ बालबालिकाको मृत्यु भएको घटनामा सम्भवतः अमेरिकी सेना जिम्मेवार रहेको अमेरिकी अधिकारीहरूले नै बताएका छन्। तर, ट्रम्पले कुनै प्रमाण नदिई शनिबार पत्रकारहरूसँग कुरा गर्दै यसको दोष इरानमाथि नै थोपरेका छन्। 

इरानी आक्रमणबाट इजरायलमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा ६ जना अमेरिकी सैनिक मारिएका छन्। मारिएका अमेरिकी सैनिकको शव शनिबार डेलावेयरको एयर फोर्स बेसमा आइपुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप