जनमतको कदर गरौँ, कसैलाई खिसीट्युरी नगरौँ: हर्क साम्पाङ
सारांश
- हर्क राज राई (साम्पाङ) ले निर्वाचन परिणामलाई लिएर कसैलाई पनि अपमान नगर्न आग्रह गरे।
- उनले लोकतान्त्रिक अभ्यासमा हार र जित स्वाभाविक प्रक्रिया भएको बताए।
- निर्वाचनमा सहभागी सबै उम्मेदवार र मतदातालाई धन्यवाद दिँदै सुशासन, विकास र समृद्धिका लागि काम गर्नुपर्ने बताए।
काठमाडौँ । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हर्क राज राई (साम्पाङ) ले निर्वाचनको परिणामलाई लिएर कसैलाई पनि अपमान वा खिसीट्युरी नगर्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले लोकतान्त्रिक अभ्यासमा हार र जित स्वाभाविक प्रक्रिया भएको बताएका हुन् ।
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने, ‘जनताले दिएको एक भोट पनि विश्वास र आशाको प्रतीक हो । थोरै मत ल्याउने उम्मेदवारले पनि जनमत प्राप्त गरेको हुनाले उहाँहरूको हार भयो भन्दै जिस्काउने वा अपमान गर्ने काम नगरौँ ।’
उनले निर्वाचनमा सहभागी हुनु नै लोकतन्त्रलाई बलियो बनाउनु रहेको उल्लेख गर्दै आफ्नो क्षेत्रका सबै २६ जना उम्मेदवार र मतदातालाई धन्यवाद दिए । ‘निर्वाचन सकिएको छ, अब हामी सबै मिलेर सुशासन, विकास र समृद्धिको पक्षमा काम गर्नुपर्छ,’ उनले भने ।
साम्पाङले अहिले समानुपातिकतर्फको मतगणना जारी रहेकाले सबैलाई संयम रहन आग्रह समेत गरेका छन् ।
राज्यका संयन्त्र, सुरक्षाकर्मी र विशेष गरी कुनै पनि दलमा आबद्ध नभएका स्वतन्त्र मतदाताप्रति कृतज्ञता प्रकट गर्दै साम्पाङले अबको यात्रा देशको सुनौलो भविष्यतर्फ केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण