सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समाचार

चुनावको नतिजा र बालेनका बारेमा के भन्छन् भारतीय मिडिया ?

सोमबार, २५ फागुन २०८२, १८ : ३३
सोमबार, २५ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनको अन्तिम चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेको छ।
  • भारतीय मिडियाले नेपालको निर्वाचनलाई चासो दिँदै बालेन शाहको जितलाई प्राथमिकता दिएका छन्।
  • नयाँ सरकारले भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउनुपर्ने चुनौती रहेको बताइएको छ।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । हालसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्ट बहुमत प्राप्त गरेको छ ।

नेपालको निर्वाचनलाई लिएर छिमेकी मुलुक भारतले पनि निकै चासो दिएको भारतीय मिडियामा प्रकाशित समाचारबाट बुझ्न सकिन्छ।

नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको अवस्थामा नेपालमा बन्ने नयाँ सरकारलाई लिएर भारतीय मिडियाले निकै उत्सुकताका साथ समाचार प्रकाशन गरेका छन् । खासगरी बालेन शाहको जितलाई उनीहरूले निकै प्राथमिकता दिएका छन् ।

नेपालमा पहिलो पटक मधेसी मूलको युवालाई प्रधानमन्त्री बन्ने बाटो सहज भएको भन्दै विभिन्न भारतीय मिडियाले समाचार प्रकाशन गरेका छन् ।

नवभारत टाइम्सले आफ्नो समाचारमा नेपालका परम्परागत दलको ठाउँमा रास्वपा र बालेन शाहजस्ता युवा नेतालाई जनताले रोजेको उल्लेख गरेको छ । ‘के रास्वपाले ठुलो परिवर्तन ल्याउन सक्छ या प्रचण्डले जस्तै जनताको भरोसा गुमाउँछ ?’ समाचारमा प्रश्न पनि गरिएको छ ।

नयाँ सरकार सामु कैयौँ चुनौती रहने उल्लेख गर्दै नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘बालेनसहित अधिकांश नयाँ सांसदसँग राजनीति र सरकार सञ्चालनको धेरै अनुभव छैन । उनीहरूले कर्मचारी प्रशासनसँग तालमेल गरेर जनताको अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।’

चुनावमा गरिएका प्रतिबद्धता, खासगरी रोजगारी प्रदान गर्नु नयाँ सरकारका लागि सहज नहुने नवभारत टाइम्सले उल्लेख गरेको छ । नयाँ सरकारले छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउनुपर्ने चुनौती पनि उत्तिकै सशक्त रहेको समाचारमा उल्लेख छ । ‘यदि नयाँ सरकारले सन्तुलित नीति अपनाएर विकास र ऊर्जा क्षेत्रमा भारतसँग सहयोग बढाएको खण्डमा यसले नेपालकोा स्थिरता र क्षेत्रीय सन्तुलन दुवैलाई लाभ हुन सक्छ,’ समाचारमा भनिएको छ ।

यसैगरी दैनिक जागरण पत्रिकाको अनलाइन संस्करणमा पनि नेपालको चुनाव परिणामबारे समाचार लेखिएको छ । नेपालको राजतन्त्रकै छायामा र त्यसपछिको राजनीतिक परिदृश्यमा स्थापित दल र तिनका कैयौँ नेता चुनावमा किनारा लागेको भन्दै समाचारमा सिङ्गो देश बालेन्द्र शाहको र्‍याप म्युजिकको धुनमा नाँचिरहेको उल्लेख छ ।

यस्तै अमर उजाला दैनिकको अनलाइन संस्करणमा पनि बालेन शाह नेपालको नयाँ प्रधानमन्त्री बन्ने गरी जनताले अभिमत जाहेर गरेको भन्दै भिडियो रिपोर्ट नै प्रसारण गरिएको छ ।

दैनिक जागरणकै अनलाइन संस्करणमा अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. ऋषि गुप्ताको आलेख प्रकाशित गर्दै नेपालको चुनाव परिणामको समीक्षा गरिएको छ । जनादेश अनुसार नेपालमा बालेन शाह प्रधानमन्त्री बन्ने लगभग तय भएको जिकिर गर्दै गुप्ताले बालेनका केही कार्यशैलीबारे टिप्पणीसमेत गरेका छन् ।

उनले लेखेका छन्, ‘बालेन शाह लोकप्रिय नेता हुन् । काठमाडौँको मेयरका रूपमा उनको कार्यकालका क्रममा उनीमाथि कैयौँ पटक नियमलाई बेवास्ता गरेको आरोप पनि लाग्दै आएको थियो । यस्तोमा यदि प्रधानमन्त्रीको पदमा पनि उनको कार्यशैली त्यस्तै रहेमा यो देशको नीतिगत स्थिरता प्रभावित हुन सक्छ र जनतामा गुनासोको कारण पनि हुन सक्छ ।’

यद्यपि, जनताले आफ्नो मताधिकार प्रयोग गरेर जनताले लोकतन्त्रलाई नयाँ आयाम दिएको जिकिर गर्दै उनले लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरता र गठबन्धनको खिँचातान समाप्त हुने संकेत दिएको चर्चा गरेका छन् । देशमा बेलाबखत उठ्दै आएको राजतन्त्र फर्काउने मुद्दालाई पनि अहिलेको जनादेशले धेरै हदसम्म थन्क्याएको उनले लेखमा उल्लेख गरेका छन् ।

यसैगरी हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा बालेन शाहलाई लोकप्रिय नेताको संज्ञा दिँदै भारतमा समेत उनी लोकप्रिय रहेको उल्लेख गरिएको छ ।

बालेनको कार्यकालमा नेपाल–भारत सीमा विवादलाई सुल्झाएर दुवै देशको सम्बन्ध अझ सुमधुर बनाउन जरुरी रहेको भारतीय पत्रकार तथा नेपाल–भारत गतिविधिका विज्ञ देवेन्द्र चन्द देवाको भनाइलाई पनि समाचारमा उद्धृत गरिएको छ ।

एबीपी न्यूज च्यानलको अनलाइन संस्करणमा पनि नेपालमा अब स्थिर सरकार बन्ने बाटो फराकिलो भएको उल्लेख गरिएको छ । नेपालमा सम्पन्न निर्वाचनले पुराना पार्टीलाई निकै कमजोर अवस्थामा पुर्‍याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेता बालेन शाह स्थापित भएको समाचारमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप