राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै हार्दिक पाण्ड्याविरुद्ध उजुरी दर्ता
सारांश
- भारतीय क्रिकेटर हार्दिक पाण्ड्या राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा कानुनी झमेलामा परेका छन्।
- अहमदाबादमा टी-२० विश्वकपको विजय उत्सवमा झण्डाको मर्यादा कायम नराखेको भन्दै उजुरी दर्ता भएको हो।
- प्रहरीले सुरुमा उजुरी लिन अस्वीकार गरेपनि पछि स्वीकार गरेको छ।
बेंगलुरु । भारतीय क्रिकेट टोलीका सदस्य हार्दिक पाण्ड्या राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा कानुनी झमेलामा परेका छन्। हालै सम्पन्न टी–२० विश्वकपको उपाधि जितेपछि अहमदाबादमा आयोजित विजय उत्सवका क्रममा उनले झण्डाको मर्यादा कायम नराखेको भन्दै बेंगलुरुको शिवाजी नगर प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको हो।
पुणेका वकिल वाजिद खान बिडकरले पाण्ड्या विरुद्ध सो उजुरी दिएका हुन् । सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूका आधारमा पाण्ड्याले राष्ट्रिय झण्डाको अपमान गरेको दाबी गरिएको छ ।
उजुरीकर्ताका अनुसार एउटा भिडियोमा पाण्ड्या काँधमा झण्डा ओढेर मैदानमा नाचिरहेको र दौडिरहेको देखिएका छन् भने अर्को दृश्यमा उनी मञ्चमा आफ्नी प्रेमिकाका साथ सुतिरहेको अवस्थामा पनि काँधमा झण्डा नै रहेको पाइएको छ ।
द प्रिभेन्सन अफ इन्सल्ट्स टु नेशनल अनर एक्ट, १९७१ अनुसार राष्ट्रिय झण्डालाई भुईँमा खसाल्नु, अनुचित तरिकाले पहिरिनु वा यसको गरिमामा ठेस पुर्याउनु दण्डनीय अपराध मानिन्छ। वकिल खानले सोही ऐनको धारा २ बमोजिम कारबाहीको माग गरेका छन्।
सुरुमा प्रहरीले यो घटना अहमदाबादमा भएको भन्दै उजुरी लिन अस्वीकार गरेको भए पनि झण्डा पूरै देशको साझा प्रतीक भएको र यसको अपमानको उजुरी जहाँ पनि गर्न सकिने तर्क गरेपछि प्रहरीले उजुरी स्वीकार गरेको छ।
भारतले हालै न्युजिल्याण्डलाई फाइनलमा ९६ रनले पराजित गर्दै तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण