जो बैंकको जागिर त्यागेर संसद् छिरे, ६ विषयमा मास्टर्स र अर्थशास्त्रमा पीएचडी
सारांश
- डा. कृष्णहरि बुढाथोकीले बैंकको जागिर छाडेर राजनीतिमा प्रवेश गरी रामेछापबाट सांसद जितेका छन्।
- उनी रास्वपाबाट निर्वाचित भएका हुन्, जसले एमाले र कांग्रेसका उम्मेदवारलाई पराजित गरे।
- बुढाथोकीले समाज सेवा र समृद्ध रामेछाप निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । सुरक्षित र आकर्षक मानिने बैंकिङ क्षेत्रकै उच्च तहको जागिर त्यागेर डा.कृष्णहरि बुढाथोकी सांसद बनेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी निर्वाचित भए । बुढाथोकी २४ हजार ८०८ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेल १७ हजार ६०९ मतमै खुम्चिनुप¥यो । डा. बुढाथोकीले ढुङ्गेललाई ७ हजार १९९ मत अन्तरले पराजित गरे ।
त्यस्तै, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७, नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ र उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २१० मत प्राप्त गरेका थिए ।
रामेछापबाट प्रतिनिधि सभामा अहिलेसम्म कांग्रेस र कम्युनिस्टले आलोपालो प्रतिनिधित्व गर्दै आएका थिए । फागुन २१ को निर्वाचनमा एमाले, कांग्रेसका उम्मेदवारलाई पन्छाएर रामेछापका मतदाताले रास्वपाका बुढाथोकीलाई मत दिएर सांसद बनाए ।
रामेछापबाट निर्वाचित बुढाथोकी रास्वपामा जानुअघि नेपाल बैंकमा जागिरे थिए । उनी गत भदौमा भएको जेनजी आन्दोलनपछि बैंकको जागिर माया मारेर समाज सेवाको अठोटसहित राजनीतिमा होमिएका हुन् । संसदीय राजनीतिमा होमिएको पहिलो प्रयासमै उनी सांसद बने ।
रामेछापको मन्थली नगरपालिका–१२, गेलुमा जन्मिएका बुढाथोकी उच्च शैक्षिक योग्यता र बौद्धिक क्षमताका धनी हुन् । नेपालको संसदमा यति धेरै विषयमा उच्च शिक्षा हासिल गरेका प्रतिनिधि विरलै भेटिन्छन् ।
उनले अर्थशास्त्रमा विद्यावारिधि र अंग्रेजी विषयमा एमफिल गरेका छन् । उनले अर्थशास्त्र, अंग्रेजी, व्यवस्थापन, समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासन गरी ६ वटा विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
- राजनीतिमा प्रवेशको ‘टर्निङ प्वाइन्ट’
डा. बुढाथोकीले बैंक तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका छन् । उनले नेपाल बैंक लिमिटेडमा मात्रै लगातार १० वर्षसम्म काम गरे । बैंकमा उनी म्यानेजर तहमा पुगिसकेका थिए । नेपालमा बैंकमा जागिर सुरक्षित भविष्य भएको क्षेत्र मानिन्छ, तर उनले बैंकको जागिर छाडेर राजनीतिमा लाग्ने अठोट गरे ।
देशको तत्कालीन परिस्थिति, सामाजिक आक्रोश र युवाहरूको आन्दोलनले उनको जीवनमा ठुलो टर्निङ प्वाइन्ट ल्याइदियो । विशेषगरी भदौ २३–२४ ताकाको युवा आन्दोलन र सामाजिक उतारचढावलाई नजिकबाट महसुस गरेका उनले समाजका लागि आफूले केही गर्नुपर्ने आवश्यकता बोध गरे ।
बुढाथोकीले भने, बैंकमा काम गर्दागर्दै समाजको अवस्था देखेर मुटु भक्कानिन्थ्यो । समाजका लागि केही ठोस योगदान गर्नुपर्छ भन्ने भावनाले मलाई ऊर्जा दियो ।’
समाजप्रतिको यही दायित्वबोधलाई आत्मसात् गर्दै बैंकको जागिरबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएको उनले बताए ।
- सामाजिक अभियान र लेखनमा सक्रियता
गाउँ र सहर, देश र विदेशलाई जोड्दै राष्ट्रका लागि योगदान जुनसुकै क्षेत्रमा बसेर पनि दिन सकिन्छ भन्ने सोच डा. बुढाथोकीमा थियो । उनी सामाजिक जागरणमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए ।
‘यो जीवन मूल्यवान छ, मृत्यु निश्चित छ, तर मानवतामूलक सेवा अमर हुन्छ,’ भन्ने दर्शनलाई जीवनको मूल मन्त्र बनाएको उनी बताउँछन् । उनी सद्भाव फाउन्डेशन नेपाल मार्फत सद्भाव, सहकार्य र मानवताको सन्देश फैलाउने अभियानमा समेत संलग्न थिए ।
विगत एक दशकदेखि उनले रामेछाप विकास बहस नामक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छन् । उनले समृद्ध रामेछाप निर्माणका लागि उद्यमशीलता विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, बजारीकरण र शिक्षालाई सिपसँग जोड्ने अभियान समेत चलाउँदै आएका छन् ।
बुढाथोकी एक लेखक पनि हुन् । उनका समृद्ध नेपालको घोषणापत्र र समृद्ध रामेछापको मार्गचित्र जस्ता कृति प्रकाशित छन् ।
उच्च शैक्षिक योग्यता, दुई दशक लामो व्यावसायिक अनुभव र निरन्तरको सामाजिक अभियानको बलियो पृष्ठभूमिसहित संसद् भवन प्रवेश गरेका डा. बुढाथोकीसँग रामेछापका मतदाताले ठुलो अपेक्षा राखेका छन् ।
सामाजिक तथा शैक्षिक अभियन्ताका रूपमा परिचित बुढाथोकी यसअघि रामेछाप–काठमाडौँ सृजनशील समाज नेपालका संस्थापक अध्यक्ष तथा संयोजक पनि थिए । सो संस्थामार्फत उनले सामाजिक तथा मानवीय सेवामा योगदान दिएका छन् ।
बुढाथोकी २०८२ माघ ३ गते मात्रै रास्वपाको सदस्य बनेका थिए । जनताको अमूल्य मत पाएर विजयी बनेका उनले रामेछापको समग्र विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका छन् । उद्यमशीलताको प्रवर्द्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण र युवामुखी अवसर सिर्जना गर्ने दिशामा काम गर्ने उनको अठोट छ ।
बैंकको हाकिमबाट जनताको सेवक बनेका डा. कृष्णहरि बुढाथोकीले अब आफ्नो लामो व्यवस्थापकीय सिप र बहुआयामिक ज्ञानलाई रामेछापको विकास र देशको नीति निर्माणको तहमा प्रतिविम्बित गर्न आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण