मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा

सोमबार, ०८ असार २०८३, २३ : ४३
सोमबार, ०८ असार २०८३

सारांश

  • जारी फिफा विश्वकप २०२६ मा लियोनेल मेसीले अर्जेन्टिनाका लागि 'वान म्यान आर्मी' को भूमिका निभाउँदै टोलीका सबै ४ गोल गरेका छन् ।
  • विश्वकपको पहिलो खेलमा अल्जेरियाविरुद्ध मेसीले ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्धको दोस्रो खेलमा पनि उनले एकमात्र गोल गरे ।
  • यो गोलसँगै विश्वकप इतिहासमा मेसीको कुल गोल संख्या १७ पुगेको छ ।

काठमाडौँ । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीले जारी फिफा विश्वकप २०२६ मा आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिँदै अर्जेन्टिनाका लागि ‘वान म्यान आर्मी’ को भूमिका निभाएका छन् । समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध जारी खेलमा गोल गरेसँगै मेसीले यस विश्वकपमा अर्जेन्टिनाले गरेका सबै ४ गोल आफ्नो नाममा लेखाउन सफल भएका छन् ।

विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दा मेसीले एक्लै तीनै गोल (ह्याट्रिक) गरेका थिए । सोही लयलाई कायम राख्दै सोमबार राति अस्ट्रियाविरुद्ध भइरहेको दोस्रो खेलमा पनि अर्जेन्टिनाका तर्फबाट पहिलाे हाफसम्म भएको एकमात्र गोल मेसीकै नाममा रह्यो ।

खेलको ३८ औँ मिनेटमा एफ. मेदिनाको पासमा उनले गरेको यो गोलसँगै जारी विश्वकपमा अर्जेन्टिनाको कुल गोल संख्या ४ पुगेको छ र यी चारै गोल कप्तान मेसीले नै गरेका हुन् । ३८ वर्षको उमेरमा पनि मेसीले देखाएको यो प्रभावले अर्जेन्टिनाको आक्रमण पंक्ति पूर्णतः उनीमाथि नै निर्भर देखिएको छ ।

अस्ट्रियाविरुद्धको यो गोल मेसीका लागि व्यक्तिगत रूपमा पनि ऐतिहासिक सावित भएको छ । यो गोलसँगै विश्वकप इतिहासमा उनको कुल गोल संख्या १७ पुगेको छ । अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध पहिलो हाफसम्म १–० को अग्रता लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप