मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड

मङ्गलबार, ०९ असार २०८३, ०० : ०१
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट सडकमार्ग हुँदै काठमाडौँ ल्याइँदै छ ।
  • राहदानी खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
  • जारी विश्वकपमा अर्जेन्टिनाका खेलाडी मेसीले १७ गोलको ऐतिहासिक रेकर्ड बनाएका छन् ।

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौँ ल्याइँदै छ । पौडेल सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए ।
उनलाई नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौँ पठाउन खोजिए पनि उडान बन्द भइसकेकाले सडक मार्गबाट काठमाडौँ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।

२. राहदानी खरिद प्रक्रियामा अनियमितताबारे मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना र दुई विदेशी कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

३. कक्षा १२ को नतिजामाथि उठ्यो प्रश्न

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४० दिनमै प्रकाशन गरे पनि विश्वसनीयतामा प्रश्न उठेको छ । बोर्डले प्रकाशन गरेको नतिजा त्रुटिपूर्ण रहेको दाबीसहित परीक्षार्थी आन्दोलित भएका छन् ।

४. औपचारिक कार्यक्रमविना नै बित्यो रास्वपा महाधिवेशनको दोस्रो दिन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनको दोस्रो दिन सोमबार कुनै औपचारिक कार्यक्रम हुन सकेन । बन्दसत्र सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिको नाममा देखिएको विवादका कारण सोमबार कुनै औपचारिक कार्यक्रम अघि नबढेको हो । 

५. गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी परेको छ । हिरासतभित्रै मानसिक दबाब, ज्यानमार्ने धम्की तथा गम्भीर मानव अधिकार उल्लङ्घन गरिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो । 

६. क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम करिब–करिब टुङ्गिएको छ । अद्यावधिक विवरण अनुसार कांग्रेसको क्रियाशील सदस्यता सङ्ख्या उल्लेख्य घटेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

७. इन्धन बोकेको ट्याङ्कर नै चोरी

विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै इन्धन बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । यद्यपि केही घण्टापछि उक्त ट्याङ्कर सुनसरीको बर्जुस्थित हुलाकी सडकखण्डमा फेला परेको छ ।

८. को बन्ला ३०औँ मुख्यसचिव ?

नेपाल सरकारका २९औँ मुख्यसचिव सुमनराज अर्याल उमेरहदका कारण यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसैले ३०औँ मुख्यसचिव बन्नका लागि १० सचिव दाबेदारका रूपमा देखिएका छन् ।

९.जलवायु संकटको चक्रव्यूहमा नेपाल

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले ‘स्टेट अफ द क्लाइमेट इन एसिया २०२५’ को प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालसहित समग्र दक्षिण एसियाली क्षेत्र तीव्र जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको तथ्य देखाएको छ ।

१०. सिजन अनुसार विद्युत् महसुल लागु गर्ने तयारी

सरकारले हाल प्रचलनमा रहेको विद्युत महसुस संरचनालाई परिमार्जन गर्ने तयारी गरेको छ । जसअनुसार मौसमी महसुल प्रणाली लागु गर्ने तयारी भएको हो ।

११. त्रिवेणीवासीले किन गरे गण्डकीबाट छुट्टिने निर्णय ?

गण्डकी प्रदेश अन्तर्गतको विनयी त्रिवेणी गाउँपालिकाका वडा नम्बर ६ र ७ का बासिन्दाले गण्डकी प्रदेशबाट छुट्टिएर लुम्बिनी प्रदेशमा गाभिने निर्णय गरेका छन् । पालिका तथा जिल्ला सदरमुकाम जान वर्षौंदेखि समस्या भोग्दै आउनुपरेको भन्दै उनीहरूले लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा समायोजनका लागि भेलामार्फत निर्णय गरेका छन् ।

१२. विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप