सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सर्लाही र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, ३० फागुन २०८२, १६ : ५५
शनिबार, ३० फागुन २०८२

सारांश

  • सर्लाहीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन्।
  • धनुषाको जनकपुरधाममा दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।
  • प्रहरीले दुवै दुर्घटनाका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । सर्लाही र धनुषामा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा शुक्रबार राति स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो। 

बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डिएल ९ सिजेडओ ७७७ नम्बरको भारतीय स्कारपियोले ठक्कर दिँदा बरहथवा नगरपालिका–९ का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका मगरको नगर अस्पताल बरहथवामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। 

सोही दुर्घटनामा अन्य चार जना पैदलयात्री समेत घाइते भएका छन्, जसको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले स्कारपियो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ मा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। बीआर ३० एजि १२२६ नम्बरको भारतीय मोटरसाइकल र बागमती प्रदेश ०६–००५ प ३२७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बागमती प्रदेशको मोटरसाइकलमा सवार महोत्तरी एकडारा गाउँपालिका–३ की ५५ वर्षीया पवन देवीको ज्यान गएको हो। 

शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। प्रहरीले दुर्घटनामा संलग्न भारतीय मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप