सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सुशीला सरकारका दुई दूरगामी निर्णय, दलहरूले आयोगमा बुझाए समानुपातिक सांसदको सूची

आइतबार, ०१ चैत २०८२, २२ : ००
आइतबार, ०१ चैत २०८२

सारांश

  • सुशीला सरकारले दुई दूरगामी निर्णयहरू गर्यो, जसमा गृहमन्त्री र राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष नियुक्त भए।
  • विभिन्न दलहरूले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाए, र रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने भयो।
  • सर्वोच्च अदालतले धनुषा-१ को विवादमा अन्तरिम आदेश दिन अस्वीकार गर्यो, र रवि लामिछानेको मुद्दा 'हेर्दाहेर्दै' मा राखियो।

आज २०८२ चैत १ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सुशीला सरकारका दुई दूरगामी निर्णय, दलहरूले आयोगमा बुझाए समानुपातिक सांसदको सूची, धनुषा–१ को विवादमा सर्वोच्चले दिएर अन्तरिम आदेश, बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा लगायत छन् ।

१. सुशीला सरकारका दुई दूरगामी निर्णय
प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा सुशीला कार्की नेतृत्वको सरकारले दुई दूरगामी निर्णय गरेको छ । नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने समय निकट आइसकेको अवस्थामा आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गर्ने निर्णयसमेत गरेको छ ।

२. दलहरूले आयोगमा बुझाए समानुपातिक सांसदको सूची
प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ थ्रेस होल्ड कटाएका ६ वटा राजनीतिक दलले आ–आफ्नो सिट संख्या अनुसार समानुपातिकतर्फ सांसद बन्नेको सूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले दलहरूको उक्त सूची रुजु गरेर क्लस्टर अनुसार मिले–नमिलेको हेरेर निर्वाचित भएको घोषणा गर्नेछ ।

३. धनुषा–१ को विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषा–१ मा रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज सम्बन्धी विवादमा सर्वोच्च अदालतले अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको छ । आइतबार सो सम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

४. बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाहलाई संसदीय दलको नेता बनाउनका लागि विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति बैठक राखेर विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता बनाउने सो पार्टीले जनाएको छ ।

५. आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले राजधानीमा प्रदर्शन गरेका छन् ।

६. रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट निवेदन ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतमा आइतबार उक्त रिटमाथि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

७. रुकुम पूर्वका डीएसपी यादव छानबिनमा
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन थालिएको छ । छानबिनका लागि उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।

८. मधेस केन्द्रित दल इतिहासकै कमजोर अवस्थामा
मधेस केन्द्रित दलहरू इतिहासकै कमजोर अवस्थामा पुगेका छन् । प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचन परिणाम अनुसार मधेस केन्द्रित दलले एक सिट पनि जित्न सकेनन् भने समानुपातिकतर्फ थ्रेस होल्डसमेत कटाउन सकेनन् । निर्वाचन परिणामलाई लिएर ती दलभित्र विभिन्न टिप्पणी भइरहेको छ ।

९. राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१०. महँगियो भान्छा
बजारमा अहिले ग्यासको कृत्रिम अभावदेखि लिएर खाने तेल, चामलको अस्वाभाविक मूल्यवृद्धि देखिएको छ । जसले गर्दा नेपालीहरूको भान्छा महँगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप