बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

एसपीए कैलाली प्राइड लिग: पुनर्वास ‘बी’, बुढीगंगा र घोडाघोडी सेमिफाइनलमा

मङ्गलबार, ०३ चैत २०८२, ०८ : ४५
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • फाप्ला क्रिकेट मैदानमा जारी एसपीए कैलाली प्राइड लिगको सेमिफाइनलमा तीन टोली पुगेका छन्।
  • पुनर्वास 'बी' ले टीकापुरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो, जसमा नरेन भट्टले ३८ रन बनाए।
  • आलितालले बरदगोरियालाई ७ विकेटले हराएर सेमिफाइनलको सम्भावना कायमै राख्यो, जसमा दिल बोहराले ४४ रन बनाए।

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको सेमिफाइनलमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। बाजुराको बुढीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका ‘बी’ अन्तिम चारमा प्रवेश गरेका हुन्।

सोमबार सम्पन्न खेलमा टीकापुर नगरपालिकालाई फराकिलो अन्तरले पराजित गर्दै पुनर्वास ‘बी’ ले सेमिफाइनलको टिकट पक्का गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पुनर्वास ‘बी’ ले १९.५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १६६ रनको योगफल तयार पारेको थियो। पुनर्वासका लागि नरेन भट्टले सर्वाधिक ३८, अभिषेक पालले २५, आशिष लुहारले २४, यु–१९ टोलीका कप्तान अशोक धामीले २३ र नारायण जोशीले १८ रनको योगदान दिए। बलिङतर्फ टीकापुरका तुलबहादुर थापामगरले ३ तथा कप्तान ट्रभिस जोशी, सोलुप चौधरी र तुलबहादुर थापाले समान २–२ विकेट लिए। पारस तिमिल्सिनाको नाममा १ विकेट रह्यो।

१६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको टीकापुरको ब्याटिङ भने निकै निराशाजनक रह्यो। टीकापुर १२.५ ओभरमै मात्र ५४ रनमा समेटियो। उसका लागि कप्तान ट्रभिस जोशीले १९ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। टीकापुरको इनिङ्स धराशायी बनाउन पुनर्वासका अशोक धामी एक्लैले ४ विकेट चड्काए भने अन्य बलरले समान १–१ विकेट लिए।

सोमबार नै सम्पन्न दिनको पहिलो खेलमा बरदगोरिया गाउँपालिकालाई ७ विकेटले हराउँदै आलिताल गाउँपालिकाले पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बरदगोरिया १८.१ ओभरमा ९० रनमै अलआउट भएको थियो। उसका लागि दीपक कुडमाल (२२ रन) बाहेक अन्य ब्याटरले बिर्सनलायक प्रदर्शन गरे। आलितालका लागि प्लेयर अफ द म्याच समेत चुनिएका निराजन गौतमले उत्कृष्ट बलिङ गर्दै २.१ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए। नीरज ऐर, दीपक टमाटा र कप्तान दिल बोहराले समान १–१ विकेट झारे।

९१ रनको सामान्य लक्ष्य आलितालले १०.५ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्यो। आलितालको जितमा कप्तान दिल बोहराले मात्र २८ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४४ रनको आक्रामक पारी खेले। त्यस्तै, निराजन गौतम १९ रनमा अविजित रहँदा राजु रिजालले १६ रन जोडे। बरदगोरियाका रोशन रावलले २ विकेट लिए पनि टोलीलाई जिताउन पर्याप्त भएन।

आज मंगलबार हुने धनगढी उपमहानगरपालिका र आलिताल गाउँपालिकाबीचको खेलले सेमिफाइनल पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लगाउनेछ।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको यस प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोलीहरुको सहभागिता रहेको छ। चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ३ लाख र आकर्षक ट्रफी तथा उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रम विष्टका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही १५÷१५ हजार तथा उदयमान खेलाडीलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले नगद २ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप